तयार भयो मौद्रिक नीति, यसैसाता ल्याउने राष्ट्र बैंकको तयारी



काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०७५/०७६ का लागि मौद्रिक नीति तयार पारेको छ । राष्ट्र बैंकका सबै विभागहरुले मस्यौदा तयार पारि अनुसन्धान विभागमा पठाइसेका छन् ।

अनुसन्धान विभागले विभागहरुले पठाएको मस्यौदाको गभर्नर तथा डेपुटी गभर्नरलाई रिपोर्टिङ गरिसकेको छ । अनुसनधान विभागले भरे/भोलि नै सबै विभागले पठाएको मस्यौदालाई एकिकृत गरी गभर्नर कार्यालयमा पठाउने तयारी भइरहेको स्रोतले जानकारी दियो ।

गभर्नर कार्यालयमा पठाइएको उक्त मस्यौदामाथि सोमबार वा मंगलबार व्यवस्थापन समितिले छलफल गर्ने स्रोतको दाबी छ । व्यवस्थापन समितिमा गभर्नर संयोजक र डेपुटी गभर्नरद्धय सदस्य हुन्छन् ।

‘सबै काम चाँडो–चाँडो सकेर यसैसाताको अन्तिमसम्ममा मौद्रिक नीति सार्वजानिक गर्ने हाम्रो तयारी हो,’ डेपुटी गभर्नर शिवराज श्रेष्ठले क्लिकमाण्डूसँग भने, ‘कथमकदाचित यो हप्ता भ्याइएन भने अर्को हप्ताको शुरुमै आउँछ ।’

व्यवस्थापन समितिले छलफल गरिसकेपछि मंगलबार वा बुधबार सञ्चालक समितिको बैठक राखेर त्यहाँ छलफल गर्ने तयारी छ । सञ्चालकहरुले मस्यौदामाथि छलफल गरी आफ्नो राय प्रस्तुत गर्नेछन् । त्यसपछि फेरि व्यवस्थापन समितिले छलफल गरेर अन्तिममा सञ्चालक समितिबाट पास हुन्छ ।

‘सबै काम चाँडो–चाँडो सकेर यसैसाताको अन्तिमसम्ममा मौद्रिक नीति सार्वजानिक गर्ने हाम्रो तयारी हो,’ डेपुटी गभर्नर शिवराज श्रेष्ठले क्लिकमाण्डूसँग भने, ‘कथमकदाचित यो हप्ता भ्याइएन भने अर्को हप्ताको शुरुमै आउँछ ।’

डेपुटी गभर्नर श्रेष्ठले पनि सबै विभागहरुले अनुन्धान विभागमा मस्यौदा पठाइसकेको स्वीकार गरे ।

‘विभागहरुले आफूले बनाएको कन्टेन्ट अनुसन्धान विभागमा पठाइसकेका छन्, संभवत भोलितिर छलफलका लागि व्यवस्थापन समितिमा प्रस्तुत हुन्छ,’ उनले भने, ‘व्यवस्थापन समितिले लगातार केहीदिन छलफल गर्छ, सञ्चालक समितिमा पनि छलफल हुन्छ, सञ्चालक समितिले पारित गरेपछि मात्रै सार्वजानिक गरिन्छ ।’

बजेटले गरेको लक्ष्यलाई मुद्रको व्यवस्थापन गरी सक्दो सहयोग गर्नेगरी मौद्रिक नीति तयार भइरहेको श्रेष्ठले बताए ।

‘सरकारले आगामी आर्थिक वर्ष ८ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखेको छ,’ उनले भने, ‘राष्ट्र बैंकले ८ प्रतिशतको आर्थिक वृद्धि प्राप्त गर्नका लागि आवश्यक पर्ने मुद्राको परिचालन तथा व्यवस्थापन गर्छ ।’

त्यसबाहेक वित्तीय प्रणालीमा विद्यमान रहेका समस्याहरुलाई समाधान गर्नका लागि मौद्रिक नीतिले सम्बोधन गर्ने उनको भनाइ थियो ।

राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले पनि सबै विभागहरुले आआफ्नो सुझाबसहितको मौद्रिक नीतिको ड्राफ्ट अनुसन्धान विभागमा बुझाइसकेको जानकारी दिए ।

पौडेलले पनि सरकारले ल्याएको बजेटलाई सहयोग पुग्नेगरी मौद्रिक नीति तयार भइरहेको बताए ।

सरोकारवालाहरुसँग सुझाब संकलन गरी उनीहरुको उपयुक्त सुझाबलाई समेटेर राष्ट्र बैंककका सम्बन्धीत विभागहरुले रिपोर्ट तयार पारेको पौडेलले जानकारी दिए ।


पुष्प दुलाल