कहाँ कति पर्छ सन ग्लासको मूल्य ?



काठमाडौं । गर्मी महिना हामीहरु धेरै जनाले आफ्नो आँखालाई गर्मीबाट शीतलता दिन र धुलोबाट बचाउन सन ग्लासको प्रयोग गर्ने गर्छौ । काठमाण्डौ उपत्यकामा अहिले ५ सय देखि २० हजार सम्मका सन ग्लास बिक्री बितरण भइरहेका छन् ।

असार महिना लागि सकेको छ र गर्मी पनि बढी रहेको छ । यो समय चर्को घामसँगै हावाहुरी चल्ने गर्छ । पैदल यात्रुदेखि मोटरसाइकल चालकले समेत पछिल्लो समय सन ग्लास प्रयोग गर्न थालेका छन् । गर्मी र घुलोबाट आँखालाई बचाउनका लागि सन ग्लासको प्रयोग गरिन्छ । साथै फेसनको रुपमापनि सन ग्लास लगाउने मानिसहरुको पनि उपत्यकामा कुनै कमी छैन ।

दरवारमार्गदेखि जमलमा रहेका पसलहरुमा ५ सय रुपैयाँदेखि २० हजार रुपैयाँसम्मका सन ग्लासहरु विक्री भइरहेका छन् ।

दरवारमार्गमा रहेको वाच एण्ड सी पसलकी कर्मचारी कुसुम श्रेष्ठले ७ हजार रुपैयाँदेखि २० हजार रुपैयाँसम्मका ब्राण्डेड सन ग्लासहरु विक्री गर्दै आएको बताइन् । उनले पोलारोइड ब्राण्डका सन ग्लासहरु ७ हजार रुपैयाँमा र पोलिस ब्राण्डका सन ग्लासहरु २० हजार रुपैयाँसम्ममा विक्री गर्ने गरेको बताइन् ।

एक दिनमा धेरैमा ८–१० पिससम्म सन ग्लास व्यापार गर्ने गरेकी श्रेष्ठले सामान्यतया ४ देखि ५ वटा सन ग्लास विक्री गर्ने गरेको बताइन् ।

उनले ग्यूस, स्प्रीट, ट्रयू लगायतका विभिन्न ब्राण्डका सन ग्लासहरु विक्री गर्दै आएकी छन् ।

दरवारमार्गमा रहेको रेमन्ड होममा भने १ हजार ५ सय रुपैयाँदेखि १० हजार रुपैयाँसम्मको सन ग्लासहरु विक्रीका लागि राखिएको छन् ।

पसलका विक्रेता केशव फुयाँलका अनुसार सामान्यतया प्रतिदिन ५-६ वटा सन ग्लासहरु विक्री हुने गरेपनि गर्मीमा भने १० वटा बढी सन ग्लासहरु विक्री हुने गरेका छन् ।

रेमन्ड होममा रेवनका चाइनिज हाई कपि सन ग्लासहरु विक्री गर्दै आएको उनले बताए ।

जमलमा रहेको अप्टो लेन्स चस्मा पसलमा ५ सय रुपैयाँदेखि १ हजार ५ सय रुपैयाँसम्मको सन ग्लासहरु विक्री भइरहेको छ । अप्टो लेन्समा चाइनामा बनेका सन ग्लासहरु मात्र विक्रीका लागि राखिएको पसलका व्यवसायी जीवनकाजी शाक्यले जानकारी दिए ।

उनका अनुसार बजारमा पाइने ९० प्रतिशत सन ग्लासहरु चाइनामा बनेका हुन्छन् । उनले अनलाइन सपिङका कारणपनि पसलमा आएर सपिङ गर्ने मानिसहरुको चाप कम हुने गरेको बताए ।

यस्तै जमल मै रहेको विश्वज्योति मल भित्रको दोस्रो तल्लामा रहेको स्टार्स इम्प्रीममा ५ सय रुपैयाँदेखि ५ हजार रुपैयाँसम्मको सन ग्लासहरु विक्री भइरहेको छ ।

रेवन ब्राण्डका हाइकपी सन ग्लासहरु ५ सय रुपैयाँदेखि माथिको मूल्यमा विक्री हुने गरेको व्यवसायी राजेन्द्र चौधरीले बताए । सिंगापुर र कोरियामा बनेका सन ग्लासहरु भने ५ हजार रुपैयाँसम्ममा विक्री हुने गरेको उनले बताए ।


क्लिकमान्डु