व्यवसायीलाई अर्थमन्त्रीको प्रश्न- भ्याट र जीएसटी कुन बैज्ञानिक ? बहस गरौं



काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले भ्याट र जीएसटी कुन बैज्ञानिक भनेर बहस गर्नुपर्ने बताएका छन् ।

व्यवसायीहरुको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको बजेटपछिको अन्तक्र्रिया कार्यक्रममा अर्थमन्त्री खतिवडाले भ्याट र जीएसटीको विषयमा विवाद गरेर बस्नुभन्दा कुन उपयुक्त हो भनेर बहस शुरु गर्नुपर्ने बताए ।

‘भ्याटको बहुदरका विषयमा कुरा उठेको ३० वर्षभन्दा बढी भयो, अहिलेसम्म विवाद र बहस भइरहेको छ,’ खतिवडाले भने, ‘बरु अब एउटा बहस शुरु गरौं न, भ्याट र जीएसटी कुन प्रणाली बैज्ञानिक हुन्छ भनेर ।’

जनताले तिरेको १ रुपैयाँ करको पनि दुरुपयोग हुन नदिने खतिवडाले दाबी गरे । कर प्रणालीमा ल्याएका केही समस्यालाई खर्च प्रणाली अर्थात अनुदान प्रणालीमार्फत सम्बोधन गर्ने उनको भनाइ थियो ।

विगतका सरकारले हचुवाका भरमा भ्यालूएसन गरेको भन्दै उनले यो सरकारले हचुवाका भरमा हुने भ्यालुएसनलाई वैज्ञानिक बनाउने बताए ।

सरकाले कोर्स करेक्सन गर्न लागेकाले कतिपयलाई केही अफ्ठेरो महसुस भएको पनि खतिवडाले बताए ।

सरकारले सार्वजानिक–निजी–साझेदारीमा काम गर्न धेरै क्षेत्रहरुको पहिचान गरेको उनले जानकारी दिए । देश विकासमा निजी क्षेत्रको भूमिका निकै महत्वपूर्ण उनको भनाइ छ ।

‘मुलुकमा हुने दुइ/तिहाइ लगानी निजी क्षेत्रको चाहिन्छ, अहिलेको अवस्थामा सरकारको आर्थिक वृद्धि हासिल गर्न निजी क्षेत्रले १० खर्बभन्दा बढी लगानी गर्नुपर्छ, नेपालको बैंकिङ प्रणालीमा जम्मा ३/४ खर्बको वार्षिक निक्षेप छ, त्यसैले तपाई व्यवसायीहरुले विदेशी लगानीकर्तालाई नेपालमा ७/८ खर्ब लगानी गर्न भित्र्याउनै पर्छ,’ खतिवडाले भने ।

ब्याजदर स्थिर राख्न व्यवसायी र बैंकरबीच छलफल हुनुपर्ने उनले बताए । सरकारी नियमहरु अग्रगामी भएकाले लगानीका लागि वातावरण बनेको उनको दाबी थियो ।

सरकारले पर्यटन क्षेत्रमा ठूलो काम गर्न लागको बताए । ‘पर्यटन क्षेत्रमा तपाईंहरुले देख्नेगरी हामी काम गर्दैछौं,’ उनले भने ।

महासंघकी अध्यक्ष भवानी राणाले सरकारले बजेटमार्फत निजी क्षेत्रका केही मागहरु सम्बोधन गरेपनि अझै धेरै मागहरु सम्बोधन नगरेको बताइन् ।

महासंघका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले इतिहासकै बलियो सरकारले पनि निजी क्षेत्रलाई प्रोत्साहन नगरेको गुनासो गरे ।

‘यो सरकार हाम्रो पुस्ताले देखेको सबैभन्दा बलियो सरकार हो, यसले पन निजी क्षेत्रलाई प्रोत्साहन गर्न सकेको छैन, निजी क्षेत्रलाई प्रोत्साहन नगरी कसरी दु्रत गतिमा सम्मृद्धि हासिल गर्न सकिएला ?’ उनले प्रश्न गरे ।

सरकारले काम गर्ने शैली सुधार नगरेको उनको गुनासो थियो ।

‘अनुगमनका नाममा व्यवसायीलाई त्रसित बनाइन्छ, यो काम तत्काल बन्द गरिनुपर्छ, होइन भने व्यवसायीहरुले कसरी थप लगानी गर्छन् ?’ गोल्छाले भने, ‘लगानी नथपिइ कसरी देशको विकास हुन्छ ?’

अर्थमन्त्रीले भ्याट छुट हटाएर अत्यावश्यक वस्तुमा अन्तशुल्क बढाएका कारण महंगी बढ्ने उनको भनाइ थियो ।

‘बजेटले निजी क्षेत्रको विश्वास जित्न सकेन,’ गोल्छाले भने, ‘लगानीकर्ताले लगानी गर्नुभन्दा पहिला न्याय प्रणाली हेर्छ, राजस्व न्यायधीकरणको अहिलेको न्याय प्रणाली हेरेर लगानी गर्न को आउँछ ?’

कार्यक्रममा राजस्व सचिब शिशिर ढुंगानाले व्यवसायीहरुका आवश्यक सुझाब ममन गरेर सरकार अघि बढ्न तयार रहेको बताए । कार्यक्रममा झन्डै दुई दर्जन ब्यवसायीले बोलेका थिए ।


पुष्प दुलाल