उपभोक्ता ठग्नेलाई समाउन ‘कन्जुमर कम्प्लेन एप’ ल्याउदै सरकार




काठमाडौं । आउँदो आर्थिक वर्ष सुरु हुना साथ उपभोक्ताले घरमै बसेर कुनै पनि ठाउँबाट उपभोग्य बस्तुमा हुने ठगी विरुद्ध गुनासो र उजुरी गर्न पाउने भएका छन् ।

वाणिज्य, आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले उपभेक्ताले सजिलै जुनसुकै ठाउँबाट आफ्नो गुनासो राख्न सक्ने गरी ‘कन्जुमर कम्प्लेन’ नामक एप ल्याउन लागेको हो ।

एप बनाउने सबै काम सम्पन्न भइसकेको र त्यसलाई सार्वजनिक गर्न मात्र बाँकी रहेको उद्योग वाणिन्य आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचनले जानकारी दिए ।

‘एपको सबै तयारी पूरा भइसकेको छ, अब सार्वजनिक गर्न मात्र बाँकी हो, आगामी साउनबाट एप सार्वजनिक गरी कार्यान्वयनमा ल्याउदैछौँ,’ महानिर्देशक गौचनले क्लिकमाण्डूसँग भने ।

उपभोक्ताले आफू ठगिएको अबस्थामा गुनासो तथा उजुरी गर्न विभागसम्म पुग्नु पर्ने झन्झटको अन्त्य गर्दै कन्जुमर कम्प्लेन एप ल्याउने व्यवस्था गरिएको हो ।

यसरी एप बनेपछि उपभोक्ताले जुनसुकै स्थानमा ठगिए पनि एप मार्फत सजिलै उजुरी गर्न पाउने विभागको भनाइ छ । यसरी आएका उजुरी अनुसार नै विभागले अनुगमनलाई निरन्तरता दिने विभागले जानकारी दिएको छ ।

यो एप एन्ड्रोएड मोबाइलको प्ले स्टोरबाट सजिलै डाउनलोड गर्न सकिने छ ।

विभागले तयार पारेको सो एप वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत सरकारले स्वीकृति प्रदान गरेपछि संचालनमा आउनेछ ।

सर्वसाधारणको गुनासो अनुसार सो स्थानको प्रदेशले त्यसलाई हेर्ने र कारवाही गर्ने विभागले जानकारी दिएको छ ।

कम्प्लेन एप आए पछि अनुगमन र त्यसको कारबाहीलाई अघि बढाउनका लागि छुट्टै टोलीको पनि आवश्यक पर्ने विभागले जानकारी दिएको छ । त्यसका लागि आवश्यक ब्यवस्थापन विभागले गरिरहेको छ ।


क्लिकमान्डु