चैतन्य मिश्र र सुजिव शाक्य भन्छन्ः लोकतन्त्र जोखिममा राखेर समृद्धिको कल्पना गर्न सकिदैन




२२ औँ अन्तर्राष्ट्रिय पुस्तक मेलाको दोस्रो दिन समृद्धिको क्रसरोड विषयमा छलफल गर्दै थिए समाजशास्त्री चैतन्य मिश्र र अर्थविद्ध सुजिव शाक्य । पत्रकार किरण नेपालले सहजिकरण गरेको उक्त छलफलको सम्पादित अंशः

आर्थिक समृद्धिको कुरा गर्दा नेपाल इतिहासमा समृद्ध थियो कि थिएन ?

सुजिव शाक्यः निश्चय नै हिस्ट्रीमा हामी समृद्ध थियौँ । तिब्बतको पैसा नेपालमा मुद्रण हुन्थ्यो । मल्लकालिन काठमाडौं नेपालको समृद्ध काल हो । अरनिकोले गएर चीनमा सहर बसाए । यो हाम्रो समृद्धिको उत्कर्ष थियो ।

तर जब पृथ्वीनारायण शाहले देश एकिकरणको अभियानको क्रममा इनवार्ड लुकिंग धारणा ल्याए । अर्थात संकुचित धारणा बनाए । नेपाललाई तरुलको रुपमा ब्याख्या गरियो, जसले हाम्रो मानसिकतालाई संकुचित बनायो । र, हामीलाई हामी गरिब छौं भन्ने तर्फ धेरै केन्द्रीत गर्यो ।

एकिकरणले नेपाली समाजको समृद्धि रोकिएको हो ?

सुजिव शाक्यः हो । पैसा नभएपनि नेपाल त्यतिखेर युद्ध लड्न थाल्यो । आनन्तरिक युद्ध मात्रै होइन, बाह्य युद्ध पनि लड्यो । युद्ध लड्नको लागि सैनिक भर्ती गर्ने र उनीहरुलाई रकम दिनुपर्यो । जसले हामीलाई गरिबीतर्फ धकेल्यो । तर यही अर्कोतर्फ गरिबीको बहाल खाएर एक तह भने समृद्ध भएर बस्यो ।

एकिकरण अभियानले नेपालको आर्थिक विकासको श्रृखंला विगारेर समाजलाई समृद्धिको मार्गतर्फ उन्मूख हुन रोकेको हो भन्ने कुरा मान्न सकिन्छ ?

चैतन्य मिश्रः आर्थिक समृद्धिलाई अन्तर्राष्ट्रिय, क्षेत्रीय र राष्ट्रियस्तरबाट हेर्नुपर्छ । अर्को कुरा हामी मल्लकालमा हाम्रै कारणले मात्रै सम्पन्न भएका होइनौं । त्यस्तै बुद्धकाल पनि हाम्रो लागि सम्पन्न काल थियो । सम्पन्नता र गरिबी मुलुक मुलुकमा मात्र होइन क्षेत्र क्षेत्रमा आउँछ । २५ सय वर्षदेखि यही चक्र घुमिरहेको छ । नेपालको बुद्धकाल, भारतको चाण्क्यकाल, चीनको कन्फुसियसकाल एउटै सयमका हुन् । यसलाई हामीले कसरी बुझनुपर्छ भने हामी हाम्रै कारणले मात्र समृद्ध भएका होइनौं र हाम्रै कारणले मात्रै पनि गरिब भएका होइनौं । यो आर्थिक चक्र हो ।

यो चक्र धेरैपछि फेरि यही क्षेत्रमा आउँदै छ । तपाई अन्तर्राष्ट्रिय समाचार हेरेर थाह पाउनुहुन्छ । यो समय अहिले हामी बसिरहेको भारत, चीन वरिपरिका क्षेत्रको लागि आर्थिक समृद्धिको समय हो । यहाँ हुने आर्थिक समृद्धिले हामीलाई केही न केही मात्रामा त उचाल्छ नै । तर कति उचाल्छ भन्ने महत्वपूर्ण कुरा हो । हामी कति माथि उठ्छौ भन्ने कुरा चैँ हामीमा निर्भर रहन्छ । यसलाइ एसियन युग भन्दा हुन्छ ।

समृद्धिले आर्थिक विकास मात्रै दिदैन, यसले घाटा पनि गर्न सक्छ । उदाहरणका लागि भारतको मौर्यकालमा कति राज्य विलयन भए । मल्लकाल पछि उदाएको शाहकालमा कति राज्य विलयन भए । त्यसकारण समृद्धिको क्षेत्रगत चुनौति पनि उस्तै छ । त्यो समृद्धिको मार्गमा हामी कसरी जोगिने भन्ने हो ।

समृद्धिको लहर चलिरहँदा कुनै पनि देश या समुदाय अस्तित्वमा रहन्छ या रहँदैन भन्ने कुरा चैँ के कुराले निर्धारण गर्छ होला ?

चैतन्य मिश्रः हो मुलुक वा समुदाय जोगाईराख्न हामीले अरु विकसित मुलुकको तहमा विकास गर्ने हो । यस्तो गर्न सकियो भने जनता राज्यव्यवस्था प्रति उत्तरदायी हुन्छन् । राज्यव्यवस्थालाई आत्मसाथ गर्छन् ।

धनीहरुको गरिब छिमेकी भएर बस्न गाह्रो हुन्छ । बरु गरीबको गरीब छिमेकी हुन सजिलो छ । अहिलेकै उदाहरण हेर्ने हो भने पनि हामीले कति जनालाई काम दिन सकेका छौ ? नागरिकलाई समान हैसियतमा राज्यले ल्याउनुपर्छ ।

उदाहरणका लागि अहिले धेरै समुदाय नै क्रिश्चियन बन्दै छन् । किन बन्दै छन त ? हामीले नागरिकलाई बराबरी हैसियत दिन नसकेकै कारण यस्तो भएको हो । नागरिकलाई बराबरी हैसियतमा उकास्ने प्रयास गर्नुपर्छ ।

समृद्धिका केही सुचकांक हाम्रो अगाडी छन्, जस्तो चीन, युरोप या अमेरिका, यसको केही मापदण्ड छ कि छैन ? समृद्धितर्फ लम्कने अवस्थामा हामी पुगेका छौ ?

सुजिव शाक्य: पुगेका छौं । किनभने हामीले भन्ने गरेका तथ्याकंले हामीलाई निर्देशित गर्छ । हाम्रो एसेटको तुलनामा हाम्रो आम्दानी कम देखिन्छ । यसबाट हामी माथि नै बढ्नुपर्छ ।

नेपालले समृद्धिको मार्गमा आफुलाई डोर्याउने हो भने हाम्रा विचार खुल्ला गर्नुपर्छ । संकुचित मानसिकता र विचार बोकेर हामी समृद्धिको मार्गमा जान सक्दैनौं । तथ्याकंले प्रतिव्यक्ति आय बढेको देखाए पनि हाम्रो मानसिकता जबसम्म उदार र खुल्ला हुँदैन तबसम्म ग्रो भएको मान्न सकिदैन् ।

आर्थिक सूचकांकले हाम्रो मानिसकता देखाउँदैन । एकातिर हाम्रो आर्थिक सूचकांक छन् भने अर्कोतिर हाम्रो मानसिकता छ । त्यसकारण हामीले समग्र विश्वलाई नेपातर्फ आर्कषित गर्नुपर्छ ।

राष्ट्रियताको नाममा हामीले केही संकुचित विचार पो बनाएका छौ कि ? अब यसो गरेर हामी विकास गर्न सक्दैनौ ।

चैतन्य मिश्र : नेपालमा समृद्धि कसरी ल्याउने भन्ने विषयमा स्थायित्वको महत्वपूर्ण भूमिका छ । शासकीय व्यवस्थाको कुरा भन्दा पनि शासकीय स्वरुपको कुरा अर्को महत्वपूर्ण कुरा हो । राजनीतिक स्थायित्व भयो भने मानिसहरु अनुमानित जीवन व्यतित गर्न थाल्छन् । त्यही कुरा लगानीकर्तामा पनि लागू हुन्छ । आज यति लगानी गर्छु, यति बर्ष पछि नाफा हुन्छ भन्ने योजना बनाउन थाल्छन् । त्यसकारण स्थायित्वले एकनासको गति प्रदान गर्छ ।

तर स्थायित्व हुँदैमा समृद्ध भईन्छ भन्ने कुनै आधार चैँ छैन । एउटा अनुमान हो । स्थायित्वले मानिसलाई एकनासको गति प्रदान गर्छ ।

शासकीय व्यवस्था उत्तरदायी हुनुपर्छ । उदाहरणका लागि भारतले चिया आयात गर्न छाड्यो भने नेपालले तुरुन्तै त्यो कुरामा रेस्पोन्ड गर्न सक्नुपर्यो । सक्रिय शासकीय व्यवस्था चाहिन्छ । समस्या पहिचान गर्न सक्ने र समाधान गर्न सक्ने सरकार चाहिन्छ । जसले समृद्धिको मार्गतर्फ डोर्याउन सक्छ ।

समृद्धिलाई लिएर हामीकहाँ सिगांपुरको, मलेशियाको उदाहरण दिने गरिन्छ, गएको ४० वर्षयता हामी अधिकारकै लागि भनेर आन्दोलनमा लाग्यौं, अझै पनि यो केही हदसम्म जारी छ, यस्तो अवस्थामा हामीले पाउने समृद्धि कति दिगो हुन्छ ?

चैतन्य मिश्र: सम्पन्नताको लागि प्रजातन्त्र रिस्कमा राख्ने कि नराख्ने भन्ने आजको चुनौति हो । र, कतिपय गैरप्रजातान्त्रिक मुलुक पनि सम्पन्न भएका छन् । ठूलो छिमेकी चीनले पनि गैरप्रजातान्त्रिक बाटोबाट सम्पन्नता प्राप्त गरेको छ । तर प्रजातान्त्रिक मार्गबाट पनि धेरै मुलुक समृद्ध भएका छन् । हामीले ती मुलुकको दृष्टान्तबाट सिक्न सक्छौ । सिगांपुर हुनुपर्छ भन्ने छैन ।

अहिले हामी ननडेमोक्र्याटिक बाटोमा जाने कल्पनै गर्न सक्दैनौं । जब डमेक्र्याटिक मार्गबाटै समृद्धि प्राप्त गर्न सकिन्छ भने किन ननडेमोक्र्याटीक मार्गमा जाने ?

सुजिव शाक्य: हामीले समृद्धिको कुरा गर्दा राजनीतिक स्थिरतातर्फ जोडछौं । यो गलत हो । किनभने राजनीति समाजको प्रतिबिम्ब हो । जस्तो समाज छ त्यस्तो राजनीति छ । हामीले एब्सुलुट मोनार्की हेर्यौ, पञ्चायतकाल पनि हेर्यौं । तर खोई त समृद्धी ? सबै प्रकारका राज्य व्यवस्था हामीले हेर्यौ । जसको आधारमा हामी भन्न सक्छौं कि राजनीतिक नेतृत्व र व्यवस्थाले मात्रै समृद्धितर्फ लग्दैन ।

समाजिक संरचनामा आमुल परिवर्तन नआएसम्म राजनीति पनि परिवर्त हुदैँन र समृद्धी पनि हाँसिल गर्न सकिदैन । साना साना परिवर्तनलाई एकै स्थानमा राखेर सामुहिकिकरण गर्न सकियो भने चैँ परिवर्तन र समृद्धि हाँसिल गर्न सकिन्छ ।

समृद्धिको बाटोमा सामेली, समावेशिता वा आरक्षणको भूमिका कस्तो रहन्छ ?

चैतन्य मिश्र: समृद्धिको लागि यस्ता विषय चाहिन्छन् । यी विषयमा कमप्रमाईज नगर्दा नै समृद्धीको मार्गमा जान सकिन्छ । समावेशिताले समृद्धिको जग बनाउँछ । अहिले हेर्दा यो सिस्टममा केही युवा आक्रोशित भएका छन्, जुन स्वभाविक हो । कोटा प्रणालीले हामी वञ्चित भयौँ भन्ने भाव आएको छ । तर कालान्तरमा यो फलदायी हुन्छ । समावेशिताको मार्गबाट नै ठूलो लोकतन्त्रको विकास हुन्छ । समावेशिता हटाएर प्राप्त गरेको समृद्धि दिगो हुन सक्दैन । समावेशिता विहिन समृद्धिले आन्तरिक द्धन्द्ध सिर्जना गर्छ ।

सुजीवजी तपाईले कल्पना गर्ने समृद्धि के हो ?

सुजिव शाक्य: मैले कल्पना गर्ने पहिलो कुरा भनेको गरीब मनस्थितिबाट बाहिरिने हो । एउटा सम्पन्न मनस्थिति बनाउने नै हो । समृद्धि पैसाको मात्रै होइन । समृद्धिको लागि दायित्व बोक्न सक्ने समाज र ग्लोबल्ली कम्पिट गर्न सक्ने समाज निर्माण गर्ने हो । पैसा कमाउने भन्दा पनि अधिकार, दायित्व र कम्पिटीसन सहितको समाज नै समृद्ध समाज हो । जस्तो कतार जस्ता देश आर्थिक रुपमा धनी छन् । तर त्यहाँ महिलालाई कस्तो व्यवहार गरिन्छ ? मेरो दृष्टिमा त्यो समाज समृद्ध समाज होईन ।

ठूला आयोजनाले समृद्धिमा कस्तो भूमिका देखाउँछन्, यस्ता आयोजनाको आवश्यकता कति हुन्छ ?

सुजीव शाक्य: हो, ठूला आयोजनामा लगानी हुन्छ । जागिर पाईन्छ र उत्पादन खपत हुन्छ । जसले अवश्य पनि समृद्धिमा सहयोग गर्छ । तर ठूला आयोजना ठूलो सोच सहित निर्माण हुनुपर्छ । जस्तो हामीसँग विमानस्थल छ । तर के यसलाई हामीले अन्तर्राष्ट्रियस्तरको बनायौँ त ? हामीले मात्रै टालटुल गर्नतर्फ ध्यान दियौँ । अब आयोजना बनाउने आयोजनालाई अन्तर्राष्ट्रियस्तरको बनाउने हो । यही नै ठूलो सोच हो । पैसा खर्च गरेपछि राम्रै किन नबनाउने ? अब हामी रेलको कुरा गरिरहेका छौ, रेल बनाउने नै भएपछि अन्तर्राष्टियस्तरको बनाउँ । केही पृथक बनाउँ ।

चैतन्य मिश्र: ठूला आयोजना हुन या साना आयोजना, ती आयोजनामा धेरै मान्छेको स्वामित्व हुनुपर्छ । ठूला पूर्वाधार र विकास आयोजनमा सिमित मान्छेको स्वामित्व हुने हो भने त्यो समृद्धि मान्न सकिदैन । आयोजना चाहिन्छ र ती आयोजनामा धेरै मान्छेको स्वामित्व भयो भने समाज नै उत्तरदायी बन्छ । उत्तरदायी समाज नै समृद्धिको पहिलो खुड्कीलो हो ।

कानूनी शासन समृद्धिको लागि कति आवश्यक हो ?

चैतन्य मिश्र: यो निकै महत्वपूर्ण कुरा हो । समृद्धिको मार्ग कानूनी शासन अपरिहार्य हो । तर नेपालमा त्यसको पालना भएको देखिदैन । कानूनी शासनमा बाधा अड्चन आयो भने समृद्धिमा पनि अवश्य बाधा आउँछ । समृद्धिमा ब्रेक लगाउने एउटा कारण बन्न सक्छ । समृद्धिको टाईमलाईन बिगार्न सक्छ ।

समृद्धिको अहिलेको नारामा तपाई कति विश्वस्त हुनुहुन्छ ?

चैतन्य मिश्र: समृद्धिको नाराले मान्छेलाई गोलबद्ध गरेको छ । यो राम्रो कुरा हो । तर जति ठूलो समृद्धिको नारा छ, त्यो त्यही तहमा हाँसिल हुने संभावना भने कम छ । यदि यसो भयो भने केही असर पर्न सक्छ ।

सुजिव शाक्य: हामी यो भन्दा तल त झर्दैनौ । उकालो चढछौ मात्र कति स्पिडमा उकालो चढछौ भन्ने चैँ महत्वपूर्ण कुरा हो ।


क्लिकमान्डु