सरकारले कहाँ-कहाँ बनाउँदै छ सुरुङमार्ग (सूचिसहित)



काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७५/०७६ का लागि मंगलबार संसदमा पेस गरेको बजेटमा सात वटा राजमार्गमा सुरुङसहितको सडक बनाउन रकम विनियोजन गरेको छ ।

सरकारले ल्याएको बजेटमा पृथ्वी राजमार्गको नौविसे-नागढुंगा खण्डमाको सुरुङ मार्ग निर्माण यसै आर्थिक वर्षबाट सुरु गर्ने भनिएको छ ।

यसैगरी बजेटमा गणेशमान सिंह मार्गको थानकोट-चितलाङ खण्ड, टोखा-खहरे-गुर्जुभञ्ज्याङ, सिद्धार्थ राजमार्गको बुटवल-पाल्पा सडकको सिद्धबाबा खण्ड, अरनिको राजमार्गको कोटेश्वर-जडीबुटी खण्ड, बीपी लोकमार्गको खुर्को-चियाबारी र बीपीनगर-खुटिया-दिपायल खण्डमा सुरुङ मार्ग निर्माण गर्ने भन्दै बजेट विनियोजन गरेको छ ।

सरकारले बजेट मार्फत सुरुङ निर्माणमा आवश्यक मेसिन तथा उपकरण समेत उपलब्ध गराउने भएको छ । ठूला आयोजनाको सम्भाव्यता अध्ययन, विस्तृत डिजाइन एवं निर्माणको समेत काम गर्न निजी क्षेत्रको संलग्नतामा पूर्वाधार निर्माण तथा परामर्श कम्पनी स्थापना गरिने बजेटमा उल्लेख ।

भौगोलिक बनावट तथा अन्य जटिलताका कारण यातायात सञ्चलनमा भइरहेको कठिनाइलाई सहज तुल्याउन आगामी आवमा पृथ्वी राजमार्गको नौबिसे-नागढुंगा खण्डमा सुरुङमार्ग निर्माण आरम्भ गरिने बजेटमा उल्लेख गरिएको छ । यो सुरुङमार्ग निर्माणका लागि जापानीसहयोग नियोग(जाइका)ले विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) तयार गरिसकेको छ ।

पर्यटकीय सम्भाव्यस्थल आसपास निर्माण हुने राजमार्गका पुलहरु कलात्मक बनाउन तथा रणनीतिक पूल निर्माण सम्पन्न गरी यातायात सञ्चालन गर्न पाँच अर्ब २४ करोड ७६ लाख बजेट विनियोजन गरिएको छ ।


पुष्प दुलाल