सरकारका प्रवक्ताको प्रश्नः धनीका वाबुआमालाई बृद्धभत्ता किन दिनु ?




काठमाडौं । नेपाल सरकारका प्रवक्ता गोकूल बास्कोटाले अहिले दिइदै आएको बृद्धभत्ता प्रकृयामा पुनराबलोकन हुने बताएका छन् । नेपाल टेलिभिजनबाट प्रसारण हुने ‘सिधा प्रश्न’ कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

सरकारले आगामी आर्थिक बर्षको बजेट मार्फत एकिकृत सामाजिक सुरक्षा भत्ताको अबधारणा कार्यान्वयन गर्ने भन्दै उनले धनीका वाबुआमालाई बृद्ध भत्ता नदिइने बताए ।

‘आफू टन्न पैसा कमाउने, फ्ल्याटमा बस्ने र वाबुआमालाई पशुपतिमा लगेर छाडिदिने गरेको भन्ने सुनिएको छ, त्यस्तालाई राज्यले पैसा दिने होइन, त्यस्तो गर्ने छोराछोरीलाई समातेर कारबाही गर्ने हो,’ उनले भने ।

उनले आगामी आर्थिक बर्षको बजेट मार्फत बृद्धभत्ता ५ हजार रुपैयाँ नपुग्ने पनि स्पष्ट पारे ।

‘हाम्रो घोषणापत्र ५ बर्षको लागि हो, अहिले नै ५ हजार रुपैयाँ पुग्दैन, र ७० बर्षमा दिइदै आएको बृद्धभत्ता ६५ बर्षमा पनि दिन सकिदैन, जनमत गुमाइसकेपछि विगतको सरकारले हाम्रो रिस फेर्न ६५ बर्षमा बृद्ध भत्ता दिने भनेको हो, यो कार्यक्रम कायान्वयन हुदैन,’ सुचना तथा संचार मन्त्री समेत रहेका सरकारका प्रवक्ता बास्कोटाको भनाइ छ ।

उनले आफैसँग धन सम्पत्ति भएका र तुलनात्मक रुपमा सक्षम नागरिकलाई ७० बर्ष पुगेपनि बृद्ध भत्ता पाउने ब्यवस्थामा पनि पुरर्बिचार हुने संकेत गरे ।

‘हिजोसम्म २ हजार पाउँदै आएको ब्यक्तिले अहिले ५ हजार पाउनु राम्रो कुरा हो, तर आफ्नो निजी कार, निजी घर, निजी सम्पत्ति प्रशस्त भएको र आफ्नो कमाइ धमाई पनि राम्रो भएको मान्छेलाई नागरिक सम्मानको हिसाबले अरु नै कुरा गरौंला, तर त्यस्ता ब्यक्तिलाई पनि राज्यले पैसा दिइराख्नु पर्छ भन्ने जरुरी छ र ?’ उनले प्रश्न गर्दै भनेका छन् ।

‘आफू टन्न पैसा कमाउने, फ्ल्याटमा बस्ने र वाबुआमालाई पशुपतिमा लगेर छाडिदिने गरेको भन्ने सुनिएको छ, त्यस्तालाई राज्यले पैसा दिने होइन, त्यस्तो गर्ने छोराछोरीलाई समातेर कारबाही गर्ने हो,’ उनले भने ।

जेष्ठ नागरिकले भत्ता पाउने ब्यवस्था तत्कालिन एमालेको सरकारले २०५१ सालमा सुरु गरेको थियो । अहिले त्यही एमाले र माओबादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टीको सुविधाजनक बहुमत सहितको सरकार छ ।

कम्युनिष्टले बृद्ध नागरिकलाई मार्छ भन्ने अफवाह फैलाइएपछि त्यसको जवाफ दिन विगतमा बृद्ध भत्ताको सुरुआत गरिएको उनको भनाइ छ ।

‘हिजो ६० बर्ष पुगेपछि कम्युनिष्टले डङ्का डङ मार्छ भन्दै जात्रा गरेर हिडियो, कम्युनिष्टले मार्छ होइन, पाल्छ भन्ने सन्देश दिन बृद्धभत्ताको सुरुआत गरियो, अब हामी हिजोको यो ब्यवस्थामा सकारात्मक पुनराबलोकन गर्दैछौं,’ उनले भने ।

आफूलाई जन्म दिने वाबुआमाप्रति सन्ततीको पनि जिम्मेवारी र दायित्व हुने उनको भनाइ छ । सरकारले आगामी आर्थिक बर्षको बजेट भोलि (जेठ १५ गते सोमबार) ल्याउदै छ । गत निर्वाचनमा बृद्धभत्ता ५ हजार रुपैयाँ पुर्याउने घोषणापत्रमै उल्लेख गरेको पार्टीले सुविधाजनक बहुमत ल्याएर सरकार बनाएकोले यो बिषय अहिले चर्चामा छ ।


क्लिकमान्डु