सिण्डीकेट गर्ने व्यवसायीको पक्षमा सत्तापक्षकै सांसद, भन्छन्- बैंक खाता बन्द गरेर दुख दिइयो



काठमाडौं । केन्द्रमा सरकारले सिण्डिकेट हटाउन अनेक प्रयास गरेपनि प्रदेशस्तरमा भने सिण्डिकेट कायम राख्न सत्तापक्षकै सांसदहरुले तीब्र लविङ गरिरहेका छन् । सत्तापक्षका सांसदसँगै प्रतिपक्षका सांसदसमेत सिण्डिकेटको कायम राख्नुपर्ने व्यवसायीको भाषा बोल्न थालेका छन् ।

यातायात व्यवसायीलाई जोगाउने गरी सत्तापक्षकै सांसहरुले समेत सरकारको नीति तथा कार्यक्रम विपरित गएर यातायात व्यवसायीलाई छुट दिनुपर्ने माग राखेको भन्दै आलोचना भएको छ ।

प्रदेश नं ३ को प्रदेशसभाको बैठकमा सांसदहरुले यातायात व्यवसायीको रोक्का गरिएको बैंक खाता फुकुवाको माग मात्रै गरेनन्, उनीहरुलाई सहज रुपमा सेवा सञ्चालन गर्न दिन पाउनुपर्ने भन्दै सिण्डिकेटको पक्षमा उभिए पनि ।

प्रदेशसभामा नेकपाका सदस्य केशवराज पाण्डेले यातायात व्यवसायलई मारमा पार्न नहुने भन्दै एकाधिकार कायम गर्न दिनुपर्ने माग राखेका थिए । उनले भूकम्प पीडितले छिटो घर निर्माण गर्न र आवास निर्माणका लागि सरकारले तोकेको रकम उपलब्ध गराउन पनि जोड दिएका थिए ।

पूर्वगृहराज्यमन्त्री एवम् नेपाली काँग्रेसका प्रदेशसभा सदस्य इन्द्रबहादुर बानियाँले यातायात क्षेत्रमा सिण्डिकेट भएको भन्दै व्यवसायीलाई दुःख दिइएको भन्दै सरकारको चर्को आलोचना गरे ।

उनले सरकारले मेडिकल र शिक्षामा भएको कार्टेलिङ र वेथितिबारे मौन रहेको भन्दै यातायात व्यवसायीलाई दुःख दिइएकोमा गुनासो गरेका थिए ।

यातायात र निर्माण व्यवसायीलाई सरकारले अपराधीको व्यवहार गरेको भन्दै प्रदेश सरकारदेखि संघीय सरकारसम्म निजी क्षेत्रलाई निरन्तर प्रहार गरी धरासायी बनाउन लागिपरेको उनले जिकिर गरे ।

सरकारले यातायात व्यवसायीको बैंक खाता रोक्का गर्दा यातायात मजदुरले दुर्घटना हुँदासमेत उपचार नपाएको भन्दै यातायात व्यवसायीको पक्षमा बोलेका थिए ।

प्रदेशसभा सदस्य प्रदीपकुमार कटुवाल केसीले विपी राजमार्गमा यातायात व्यवस्था विभागले यातायात सञ्चालन गर्न अवरोध गरेको भन्दै बेलैमा प्रदेश सरकारले ध्यान दिनुपर्नेमा जोड दिएका थिए ।

प्रदेशसभा सदस्य शान्तिप्रसाद पौडेलले विपी राजमार्गमा यातायात व्यवस्था विभागले लगाउन खोजेको सिण्डिकेट खारेज हुनुपर्ने बताए ।

संघीय संसदको बैठकमा समेत केही सांसदहरुले यातायात व्यवसायीलाई दुख दिइएको भन्दै सिण्डिकेटको पक्षमा मत जाहेर गरेका थिए । मकवानपुरबाट राष्ट्रियसभाका सदस्य रहेका रामनारायण बिडारीले व्यवसायीले बैंकमा जम्मा गरेको रकम रोक्का गरेकोमा तीब्र आक्रोश व्यक्त गरेका थिए ।


पुष्प दुलाल