कम्युनिष्ट सरकारका करोडपति मन्त्री ! एमाले धनी, माओवादी गरिब



काठमाडौं । प्रधानमन्त्रीमा निर्वाचित भएको साढे ३ महिनापछि केपी ओली र उनका मन्त्रीहरुले सम्पत्ति विवरण सार्वजानिक गरेका छन् ।
सार्वजानिक भएको सम्पत्ति विवरण अनुसार भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबीर महासेठ सबैभन्दा धनी देखिएका छन् । महासेठसँग अर्बौंको सम्पत्ति छ ।

एमाले र माओवादी एकीकरण भएपछि एककीकृत पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी रहेको छ । सरकारमा एमाले पृष्ठभूमिका मन्त्रीको सम्पत्ति माओवादी पृष्ठभूमिका मन्त्रीहरुको भन्दा बढी देखिएको छ ।

धेरै मन्त्रीहरुभन्दा प्रधानमन्त्री ओली गरिब देखिएका छन् । तर, प्रधानमन्त्री ओलीसँग पनि करोडभन्दा बढीको सम्पत्ति छ । ओलीको आफ्नै नाममा भने घरजग्गा छैन । उनकी श्रीमति राधिका शाक्यको नाममा भक्तपुरको सुर्यबिनायक नगरपालिकास्थित बाल्कोटमा डेढ रोपनी जग्गामा बनेका ३ तले २ वटा घर छन् । त्यसैगरी, शाक्यकै नामा झापाको पृथ्वीनगरमा श्रीमति राधिका शाक्यको नाममा १० कठ्ठा जग्गा छ ।

शाक्यसँग १७.८ तोला सुन छ भने २५ लाख रुपैयाँको बचतपत्र र माछापुच्छ्रे र प्रभु बैंकमा १० लाख रुपैयाँ छ । प्रधानमन्त्री ओलीसँग भने एभरेष्ट बैंकमा ४२ लाख रुपैयाँ नगद छ ।

ओली सरकारका सबैभन्दा धनी मन्त्री रघुबीर महासेठसँग भने अर्बौंको सम्पत्ति छ । महासेठसँग ललितपुर र धनुषमा पक्की घर छ । महासेठ श्रीमति जुली कुमारी महतोको नाममा धनुषामा १० विगाहाभन्दा बढी र आफ्नो नाममा १४ बिगाहाभन्दा बढी जमिन रहेको छ । त्यस्तै काठमाडौं र ललितपुरमा करिब ४ रोपनी जग्गा छ ।

महासेठसँग नगद नै ७२ लाख रुपैयाँ छ भने २७ तोला सुन, डेढ किलो चाँदी र ७ सेट जवाहरात छ ।

महासेठसँग त्यतिमात्रै सम्पत्ति छैन । उनकी श्रीमतिको नाममा विभिन्न बैंकहरुमा करोडौंको सेयर छ । एनभिपिएल प्रालिमा ३७ करोडमा सेयर, कर्पोरेट डेभलपमेन्ट बैंकमा २ करोड ५० लाख, लक्ष्मी बैंकमा १ लाख ५० हजार, गुडविल फाइनान्समा ७० हजार र महिला अधिकार तथा विकास केन्द्रमा ५० लाख रुपैयाँ बराबरको सेयर लगानी छ । महासेठको परिवारको संयुक्त नाममा सयौं विगाहा जग्गा छ ।

सामान्य प्रसाशन मन्त्री लालबाबु पण्डितसँग पनि करोड बढीको सम्पत्ति छ । पण्डितसँग बिराटनगरमा १ कठ्ठा जग्गामा बनेको ५ कोठे घर छ । त्यस्तै, सर्लाहीमा ४ विगाहा जमिन छ । उनकी श्रीमति बिमला पण्डितको नाममा काठमाडौंको भैंसेपाटीमा ४ आना जग्गा छ । बिमलासँग १० तोला सुन र १५ तोला चाँदी पनि छ । श्रीमन/श्रीमति दुबैको नाममा गरेर ५५ लाख रुपैयाँ बैंक ब्यालेञ्च छ ।
लालबाबुसँग गाडी छैन । उनीसँग पुरानो १ थान साइकल मात्रै भएको समपत्ति विवरण सार्वजानिक गरेका छन् ।

गृहमन्त्री रामबहादुर थापा बादलसँग श्रीमति नैनकला थापाको नाममा चितवनमा १ कठ्ठा ३ धुर जग्गा, चितवनमै श्रीमतिको पेवा जमिन, ६ तोला सुन र ३ लाख रुपैयाँ नगद छ भने ४ लाख रुपैयाँ बैंक ब्यालेञ्च छ । श्रीमति नैनकलाको नाममा माथिल्लो तामाकोशीको १४ हजार ६ सय रुपैयाँ बराबरको सेयर छ । पार्टीले दिएको गाडी छ । त्यस्तै, २ वटा कुकुर छन् ।

उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलसँग काठमाडौंको टोखामा २३ आना जग्गामा बनेको ३ तले घर छ भने झापाको चन्द्रगढीमा १२ कठ्ठा जमिन छ । श्रीमति मिरा पोखरेलको नाममा भक्तपुरको नगरकोटमा १ रोपनी र धादिङको खानीखोलामा ४ रोपनी जग्गा छ ।

पोखरेलसँग ८/९ तोला सुन र २२/२५ तोला चाँदी छ । पोखरेल दम्पत्तिको नाममा विभिन् बैंकमा साढे १२ लाख रुपैयाँ बैंक ब्यालेञ्च छ । व्यक्तिगत सवारी साधन नभएको सम्पत्ति विवरणमा उल्लेख छ ।

परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीको श्रीमतिको नाममा रहेको काठमाडौंमा ४ आना जग्गामा बनेको २ तले घर छ । त्यस्तै, जम्मा २ तला मात्रै सुन छ भने २ लाख ५९ हजार रुपैयाँ मात्रै बैंक ब्यालेञ्च छ । त्यस्तै, उनीसँग १४ लाख रुपैयाँ ऋण छ ।

उर्जामन्त्री वर्षमान पुनसँग रोल्पामा ३५ वर्ष पुरानो २ वटा घर छ । काठमाडौंमा भने पुनसँग घरजग्गा छैन । त्यस्तै, उनीसँग १५ तोला सुन, डेढ किलो चाँदी र ७ लाख रुपैयाँ बैंक ब्यालेञ्च मात्रै भएको सम्पत्ति विवरणमा उल्लेख छ ।

शिक्षामन्त्री गिरिराजमणि पोखरेलसँग खोटाङमा २२ रोपनी जग्गा र घर छ भने ३ लाख ८० हजार बैंक ब्यालेञ्च मात्रै भएको सम्पत्ति विवरणमा उल्लेख छ । उनीसँग रुपाकोट सामुदायिक रेडियोमा ५ हजार रुपैयाँ बराबरको सेयर पनि छ ।

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादबसँग सिराहामा श्रीमति प्रमिलादेवी यादवको नाममा अढाइ धुरमा बनेको घर छ । त्यस्तै ललितपुरको चापागाउँमा यादवकी श्रीमति प्रमिलाको नाममा साढे ३ रोपनी जग्गा छ । जुन १ करोड ५ लाख रुपैयाँमा किनिएको हो । त्यस्तै धनुष र सिराहामा डेढ कठ्ठाभन्दा बढी जग्गा छ । १६ तोला सुन छ भने विभिन्न बैंकमा साढे ५ लाख रुपैयाँ नगद छ । श्रीमतिकै नाममा एउटा गाडी पनि छ ।

श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्टसँग काठमाडौं र गुल्मीमा घर छ । गुल्मीमै कपिरब ४० रोपनी जग्गा पैतृक सम्पत्ति छ भने करिब ५ तोला सुन छ । श्रीमान श्रीमतिको नाममा गरी विभिन्न बैंकहरुमा साढे ३ लाख रुपैयाँ नगद छ भने ७३ लाख रुपैयाँ ऋण छ । त्यस्तै, २ गोरु, १ भैंसी, २ गाई र ४ वटा बाख्रा पनि रहेको मन्त्री विष्टले सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।

बनमन्त्री शक्तिबहादुर बस्नेतसँग जाजरकोटमा एउटा घर छ भने जाजरकोटमै छोरीका नाममा जग्गा छ । त्यस्तै, पार्टीले दिएको स्कारपियो गाडी र १५ लाख नगद, ५ तोला सुन र १० किलो चाँदी छ । एभरेष्ट बैंकमा पारिश्रमिक बापतको २ लाख रुपैयाँ छ । २ वटा सहकारी संस्थामा ३ लाख १३ हजार रुपैयाँ बराबरको सेयर छ ।

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममायाँ थापासँग म्याग्दीको बेनीमा आमाले दाइजो दिएको जग्गा छ भने १ तोला मात्रै सुन छ । त्यस्तै विभिन्न बैंकमा ५१ हजार रुपैयाँ नगद छ ।

पर्यटनमन्त्री रविन्द्र अधिकारीसँग पोखराको लेखनाथमा १०० रोपनी जग्गा छ भने काठमाडौंको बुढानिलकण्डमा ५ आना र पोखराको लेखनाथमै साढे ४ आना जग्गा छ । त्यस्तै मन्त्री अधिकारीले पैतृक सम्पत्तिको रुपमा ६० तोला सुन र ३० किलो चाँदी रहेको उल्लेख गरेका छन् । त्यसैगरी गण्डकी विकास बैंकमा १५ लाख र एभरेष्ट बैंकमा साढे ९ लाख रुपैयाँ बैंक ब्यालेञ्च छ ।

पानीखोला हाइड्रोपावरमा ३० लाख रुपैयाँ बराबरको सेयर छ । त्यस्तै, उनीसँग २० लाख पर्ने कार, १ लाख १५ हजार पर्ने मोवाइल र ८० हजार पर्ने ल्यापटप पनि छ ।

कानून मन्त्री शेरबहादुर तामाङकी श्रीमतिसँग काठमाडौंको गोकर्णेश्वरमा साढे ३ आना जग्गामा बनेको साढे २ तले घर छ । तामाङको नाममा सिन्धुपाल्चोकमा १६ रोपनीभन्दा बढी जग्गा र काठमाडौंमा ६ अ ाना जग्गा छ भने उनकी श्रीमति उषकला राईको नाममा १० कठ्ठाभन्दा बढी र खोटाङमा १ सय ५ रोपनी जग्गा छ ।

तामा«सँग एभरेष्ट बैंकमा १ लाख २८ हजार रुपैयाँ नगद छ भने विभिन्न कम्पनीमा १५ लाख रुपैयाँ बराबरको सेयर छ । विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ७० लाख रुपैयाँ ऋण छ ।

श्रीमतिको नाममा कार र आफ्नो नाममा मोटरसाइकल रहेको सम्पत्ति विवरणमा उल्लेख छ ।

प्रचण्डकी बुहारीसमेत रहेकी खानेपानी मन्त्री मगरसँग घरजग्गा छैन । स्वर्गीय पति प्रकाश दाहालको नाममा चितवनमा २ कठ्ठा जमिन, सासू सीता दाहालको नाममा १ कठ्ठा जमिन रहेको समपत्ति विवरणमा उल्लेख छ ।

त्यस्तै, मगरसँग ५ तोला सुन र १६ तोला चाँदी छ । उनीसँग एभरेष्ट बैंकमा खाता रहेको तर कति पनि रकम छैन ।

अर्थमन्त्री युवराज खतिवडाले पेश गरेको सम्पत्ति विवरणमा सावल सहकारी संस्थामा ५ लाख रुपैयाँको संस्थापक सेयर उनकी श्रीमती कमला खतिवडाको नाममा दुर्गा भवानी बचत तथा ऋण सहकारी संस्थामा ५ हजार रुपैयाँको संस्थापक सेयर छ ।

उनले सहकारी संस्थामा ४१ लाख ५४ हजार रुपैयाँ राखेका छन् । उनले आफू संस्थापक सावल सहकारीमा २४ लाख ५४ हजार र नवदुर्गामा १७ लाख रुपैयाँ श्रीमती कमलाको नाममा छ ।

उनीसँग अमेरिकी डलरमा बैंक मौज्दात पनि छ । सयुक्त राष्ट्रसंघमा काम गर्दाको तलब सुविधा बापतबाट सो रकम कमाएको अर्थमन्त्री खतिवडाले खुलाएका छन् ।

उनीको नबिल बैंकमा रहेको खातामा १० हजार ७ सय ३ अमेरिकी डलर र सानिमा बैंकमा ५२ हजार अमेरिकी डलर गरेर जम्मा ६२ हजार ७ सय ३ अमेरिकी डलर छ ।

खतिवडासँग काठमाडौंमा २ वटा घर रहेको छ । एउटा ५ आनामा बनेको घर अर्थमन्त्री खतिवडाको नाममा र १४ आनामा बनेको श्रीमती कमलाको नाममा रहेको छ ।


पुष्प दुलाल