कच्चा तेलको मूल्य बृद्धि, भारतमा मोदीलाई कर हटाउन दवाव



नयाँ दिल्ली । भारतमा इन्धनको मूल्य अहिले पाँच वर्ष यताकै उच्च बिन्दुमा पुगेको छ ।

पाँच वर्ष अगाडी प्रतिलिटर पेट्रोलको भारतीय रुपैयाँ ७६ पुगेको थियो । अहिले फेरी भारतमा पेट्रोल ७६ रुपैयाँ लिटर पुगेको छ ।

भारतीय मूल्यको तुलनामा नेपाल र पाकिस्तानमा इन्धनको मूल्य कम छ । त्यसो त नेपालमा पनि इन्धनको मूल्य बृद्धि भएको छ । अहिले भारतमा इन्धनमा लगाईएको कर कम गर्नुपर्ने माग उठेको छ । इन्धनमा लगाईने कर कम भएमा इन्धन सस्तो हुने बताईएको छ

सन् २०१४ मा नरेन्द्र मोदी भारतीय प्रधानमन्त्री निर्वाचित भएको समयमा विश्व बजारमा इन्धनको मूल्यमा निकै गिरावट आएको थियो ।

यही कारणले उनले आफु भारतका लागि भाग्यमानि भएको बताएका थिए । उनी प्रधानमन्त्री बनेको एक वर्ष भन्दा पनि कम समयमा कच्चा तेलको मूल्य ११३ अमेरिकी डलरबाट घटेर ५३ अमेरीकी डलर प्रति ब्यारेल पुगेको थियो ।

विश्वबजारमा इन्धनको मूल्य कम हुनु भारतका लगि ठूलै चिट्ठा परेजस्तो भएको थियो । इन्धनको मूल्यमा निरन्तर गिरावट भएर सन् २०१६ मा प्रति व्यारेल २९ अमेरिकी डलरसम्म पुगेको थियो ।

तर, अहिले विश्व बजारमा इन्धनको मूल्य प्रति व्यारेल ८० अमेरीकी डलर हाराहारी पुगेको छ । विश्व बजारमा इन्धनको मूल्यमा बृद्धि भएपछि मोदी सरकारले भारतमा पनि इन्धनको मूल्य बृद्धि गरेको छ । अहिले भारतीय नागरिक इन्धनमा बृद्धि गरिएको मूल्य फिर्तालिनुपर्ने भन्दै आन्दोलन गरिरहेका छन् ।

विश्वभर कच्चा इन्धनको मूल्य १०० डलर प्रति ब्यारेल पुग्छ की भने चिन्ता समेत व्यक्त गर्न थालिएको छ । भारतमा इन्धनको मूल्य घटाउनको लागि इन्धनमा लगाईने कर कम गरिनेतर्फ भारतीय मोदी सरकारले संकेत गरेको छ ।

इन्धनको कर कम गर्न चौतर्फी दबाव आउँदा पनि भारतीय सरकारले कर कम गर्ने निर्णय भने अझै गरेको छैन् । मोदी सरकारलाई आर्थिक विकासको गतिमा अगाडी बढाउन अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य कम हुनु र सरकारले इन्धनको करबाट मनग्गे आम्दानी गर्नुले सघाएको पनि बताईन्छ ।

भारत सरकारले सन् २०१४ देखी २०१६ सम्म मात्रै ९ पटक कर बढाएको छ । यसको विपरित भारत सरकारले २०१७ मा एक पटक मात्रै कर घटाएको छ । ऐजेन्सी


क्लिकमान्डु