कच्चा तेलको पेचिलो राजनीति, कस्तो असर पार्ला ओली सरकारलाई ?




काठमाडौं । केपी शर्मा ओली प्रधानमन्त्री बनेपछि नेपाली बजारमा पेट्रोलियम पदार्थको मूल्य चार पटक बढिसक्यो ।

पछिल्लो पटक बढेको मूल्य अनुसार उपभोक्ताले प्रतिलिटर पेट्रोलमा ११० र डिजेल र मट्टितेलको मूल्य ९२ रुपैयाँ तिर्नुपर्छ ।

२०७० फागुनमा प्रतिलिटर १४० रुपैयाँसम्म पुगेको पेट्रोलको मूल्य अन्तराष्ट्रिय बजारमा घट्दै गएपछि २०७३ साउन मा प्रतिलिटर ९७ रुपैयाँसम्म घटेको थियो ।

नेपालमा उत्पादन नहुने पेट्रोलियम पदार्थको मुल्यबृद्धिमा ठूलो राजनीति हुने गरेको छ । विगत चार वर्षमा पेट्रोलियम पदार्थको मूल्य घट्दा उपभोक्ताको पैसा समेत बचत भयो । कति रुपैयाँ बचत भयो, यसको यकिन तथ्यांक नभएपनि नेपाललाई पेट्रोलियम पदार्थको घट्दो मूल्यले ठूलो राहत थियो । आयल निगम घाटामा नाफामा गयो ।

खरिद गर्ने बस्तुको मूल्य घट्दा स्वभाविक रुपमा उपभोक्ता फाइदा हुन्छ । पछिल्लो चार वर्षमा उदयमान चीन र भारतको आर्थिक बृद्धिदर बढाउन तेलको घट्दो मूल्यले ठूलो योगदान गर्यो । बिक्री गर्ने वस्तुको मुल्य घटेपछि अर्थतन्त्र त्यसबाट चलाएको भेनेजुएला अर्थतन्त्र तहसनहस भयो । रुसमा पनि ठूलो संकट नै आयो भने यसको असर खाडी राष्ट्रमा त ठूलो मात्रामा पर्यो ।

सन् २०१४ देखि निरन्तर घटिरहेको कच्चा तेलको मूल्य अहिले निरन्तर बढिरहेको छ ।

मंगलबार कच्चा तेलको मूल्य प्रतिब्यारेल ८० अमेरिकी डलरको नजिक पुगेको छ । गत महिना ७५ डलर हाराहारी रहेको कच्चा तेलको मूल्यमा एक महिनामै ५ डलरले बृद्धि भएको छ । गत बर्ष न्युनतम ४२ डलरसम्म पुगेको कच्चा तेलको मूल्य यो बर्षको ५ महिना नपुग्दै आकाशिएको छ ।

आयल निगमले अन्तराष्ट्रिय बजारमा बढ्दा बढ्ने र घट्दा घटाउने नियम लगाएको हुँदा यसको असर भान्छामा नै पर्छ ।

२०१८ को पाँच महिना नबित्दै गत बर्षको तुलनामा ४२ प्रतिशतले कच्चा तेलको मूल्यमा बृद्धि भएको हो । बर्षको सुरुवातमा ६० डलरबाट सुरु भएको तेलेको मूल्य ५ महिनामै २० प्रतिशतले बृद्धि भएको छ । अन्तराष्ट्रिय संचार माध्यमहरुका अनुसार कच्चा तेलको मूल्यमा एक सातामा मात्रै करिब २ प्रतिशतले बृद्धि भएको छ ।

सन् २०१४ को सुरुवातमा प्रतिब्यारेल ९३.६६ डलर रहेको कच्चा तेलको मूल्य सन् २०१६ मा २६ डलरसम्म पुगेको थियो । ५२ डलर प्रतिव्यारेलबाट सुरु भएको २०१७ को मूल्य न्युनतम ४२ डलरसम्म पुगेको थियो । २०१७ को अन्तसँगै तेलको मूल्यमा निरन्तर बृद्धि भईरह्यो । २०१८ को फेब्रुअरीमा ५२ डरलसम्म पुगेको तेलको मूल्य त्यसपछि निरन्तर बढिरह्यो ।

कच्चा तेलको मूल्यमा बृद्धि हुँदा कच्चा तेल निर्यातकर्ता र आयात गर्ने देशलाई नाफा हुन्छ । किनभने मूल्य बढेको बेला कच्चा तेल निर्यातक देशले बढी रकम लिन पाउँछन् भने प्रशोधित तेल निर्यात गर्ने देशले पनि सोही अनुपातमा नाफा गर्छन् ।

तर यस्तो बृद्धिले नेपाल, भारत वा चीन जस्तो तेल उपभोक्ता देशलाई भने त्यसले असर पार्छ ।

अर्थशास्त्री केशव आचार्य कच्चा तेलको मूल्यबृद्धिले अर्थतन्त्रमा बहुआयामिक असर पार्ने बताउँछन् ।

‘तेलको मूल्यमा बृद्धिसँगै मालसामान ढुवानी पनि महंगो पर्न जान्छ, जसको प्रत्यक्ष असर दैनिक उपभोग्य सामाग्रीको मूल्य बृद्धिमा देखापर्छ, अर्कोतर्फ तेलको मूल्य बृद्धिले सबैतर्फको मूल्य बढाएको हुन्छ तर आम्दानी भने बढेको हुँदैन् ।’ आचार्यले क्लिकमाण्डूसँग भने ।

तेलको मूल्य बृद्धिले सर्वसाधारणको वास्तविक आम्दानी घटाउने उनको भनाइ छ । सामान्य मान्छेले आर्जन गरेको धेरै रकम दैनिक उपभोग्य सामाग्रीमा खर्च गर्नुपर्ने भएकोले बचत गरेको रकम पनि दैनिक उपभोगमै खर्च हुँदा उसको वास्तविक आम्दानी घट्ने आचार्यले बताए । यस्तो अबस्थामा अन्य कुराका लागि छुट्याईएको रकम दैनिकीमा खर्च गर्नुपर्ने अबस्था हुन्छ ।

अन्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बृद्धिको प्रभाव नेपालमा सबैभन्दा बढी सरकारलाई पर्ने देखिन्छ । पेट्रोलियम पदार्थको मूल्य बृद्धिले दैनिक उपभोग्य वस्तुको मूल्य बढाउने गर्छ । यस्तो मूल्य बृद्धि राजनीतिक मुद्दा बन्न सक्छ ।

पेट्रोलियम पदार्थको मूल्य बृद्धि सरकारले सबै जनताको थाप्लोमा हालिदिएको अबस्थामा सर्बसाधारण महंगीबाट आक्रान्त हुन सक्छन् । यसमा सरकारले हस्तक्षेप गरेको अबस्थामा पेट्रोलियम पदार्थको आयातमा एकाधिकार पाएको सरकारी निकाय नेपाल आयाल निगम टाट पल्टन सक्छ । सरकारले आयल निगमलाई अनुदान दिएमा विकास निर्माणमा खर्च गर्नुपर्ने रकम अनुदानमा दिनुपर्छ । मुल्य बढाएमा यसबाट हुने राजनीतिले सरकारलाई नै असजिलो पार्न सक्छ ।

तेलको मूल्य बृद्धि भएपछि सरकारले चालु खर्च अन्र्तगत छुट्याएको इन्धन खर्चले नपुग्ने हुन्छ । उसले इन्धन खर्च थप गर्नुपर्ने हुन्छ । यसका अलवा सरकारी तथा निजी क्षेत्रले लगानी गरिरहेका ठूला परियोजनामा डिजेल र अलकत्रा प्रयोग भईरहेको हुन्छ । तेलको मूल्य बृद्धिले त्यस्ता आयोजनाहरु समयमै निर्माण गर्न नसकिने वा आयोजनाको लागत बढ्ने गर्छ । स्वभावतः यसको असर राष्ट्रिय अर्थतन्त्रमा पर्ने गर्छ ।

तर तेलको मूल्य बृद्धि भएपछि सरकारले राजस्व बृद्धि नगरिकनै नियमित भन्दा केही बढि आम्दानी गर्न सक्छ । प्रतिलिटर इन्धनको मूल्यको आधारमा तोकिएको राजस्व, अन्त शुल्क, मूल्य अभिवृद्धि कर तेलको मूल्य बृद्धि हुँदासाथ स्वतः बृद्धि हुन्छ । तेलको मूल्य बृद्धि हुँदा सरकारले पाउने फाइदा यत्ति नै हो । तेलको मूल्य बृद्धि हुँदा अहिले भारतले इन्धनमा लाग्ने कर घटाउने निर्णय गरेको छ । नेपालले यो गर्छ या गर्दैन भन्न सकिदैन ।

तेलको मूल्यमा कमी आउँदा भारत जस्ता देशलाई भने फाइदा हुन्छ । भारतमा अहिले पनि गरिब जनताले अनुदानको रुपमा इन्धन पाउँछन् । तेलको मूल्य सस्तो हुँदा अनुदान वितरण सजिलो हुन्छ ।

भारत वा चीनजस्तो देशमा ठूला परियोजना पनि निकै सञ्चालन गरिएका हुन्छन् । तेलको मूल्य घट्दा त्यस्ता परियोजनाको लागत पनि कम हुन्छ । पछिल्लो समय भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा आर्थिक विकास गरे भनिन्छ । यसको प्रत्यक्ष कारण उनी प्रधानमन्त्री हुँदा तेलको मूल्यमा आएको गिरावट पनि प्रमुख कारण हो ।

तेलको मूल्यमा बृद्धि हुँदा हामीले ठूलो घाटा व्योहोर्छौ । तर मूल्य कम हुँदा भारत वा चीनको जस्तो धेरै नाफा नेपाललाई हुदैन ।


क्लिकमान्डु