चिनियाँ पर्यटकका लागि लक्षित गर्दै चिनियाँ भाषामा वेबसाइट



काठमाडौं । नेपालमा चिनियाँ पर्यटक बढाउन नेपाल पर्यटन बोर्ड (एनटीबी) ले चिनियाँ भाषामा वेबसाइट बनाएर प्रचार गर्ने भएको छ ।

नेपालमा चिनिया पर्यटकको आगामन पछिल्ला दिनमा बढेको र भाषाको समस्या देखिएको भन्दै बोर्डले चिनियाँ भाषामै वेबसाइट बनाएर प्रचार सुरु गर्न लागेको हो । सन् २०१८ को महिलो चार महिनामा अप्रिलसम्ममा नेपाल भ्रमणमा आउने विदेशीहरुमा सबैभन्दा बढी चिनियाँ नागरिक छन् । अध्यागमन विभागका अनुसार चार महिनामै ५३ हजार चिनियाँ पर्यटक नेपाल भ्रमणमा आइसकेका छन् ।

बोर्डले जेठ ७ गते अर्थात आज सोमबारदेखि औपचारिक रुपमा चिनियाँ भाषाको वेबसाइट संचालन गर्न लागेको छ । यसको उद्घाटन संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रबीन्द्र अधिकारीले गर्ने भएका हुन् ।

बोर्डले वेलकमनेपालडटसीएन नामक वेबसाइट बनाइसकेको छ । सो वेबसाइटमा नेपाल सम्बन्धी जानकारी, भ्रमणस्थलको बारेमा जानकारी तथा नेपाल भ्रमणमा आउँदा अपनाउनु पर्ने प्रक्रिया जस्ता विषय राखिएको बोर्डले जानकारी दिएको छ ।

पछिल्लो समय चीनबाट नेपाल भ्रमणमा आउनेहरुको संख्या अत्याधिक बृद्धि भएको छ । सन् २००३ मा करिब ७ हजार चिनियाँ पर्यटक नेपाल आएकोमा सन् २०१७ मा यो संख्या बढेर करिब १ लाख पुगेको थियो ।

यसरी चिनिया पर्यटकको संख्या बृद्धि भएपछि बोर्डले चिनियाँ भाषामै वेबसाइट बनाएर नेपालमा चिनिया पर्यटनको प्रबद्र्धन गर्न लागेको हो । पछिल्लो समय नेपालमा चिनियाँ लगानी पनि बढ्दो क्रममा छ ।


क्लिकमान्डु