४ महिनामा पौने ४ लाख पर्यटक भित्रिए, भारतीय भन्दा चिनियाँ धेरै



काठमाडौं । सन् २०१८ को पहिलो ४ महिनामै पर्यटकम आगमन झन्डै १२ प्रतिशतले बढ्को छ । अध्यागमन विभागका अनुसार सन् २०१८ को जनवरीदेखि अप्रिलसम्म नेपाल भ्रमणमा आउने पर्यटकको संख्या ३ लाख ८७ हजार ५ सय ६८ पुगेको छ ।

यो संख्या सन २०१७ को पहिलो ४ महिनामा नेपाल भ्रमणमा आउने पर्यटकको संख्या भन्दा ४५ हजार ९ सय ९३ ले बढी हो । सन् २०१७ को जनवरीदेखि अप्रिलसम्म नेपाल भ्रमणमा आउने बाह्य पर्यटकको संख्या ३ लाख ४१ हजार ५ सय ७५ मात्रै थियो । नेपाल भ्रमणमा आउने पर्यटकको संख्या बढेसँगै तारे होटलमा लगानी पनि बढ्दो छ ।

अध्यागमन विभागका अनुसार सन् २०१८को जनवरीमा ७३ हजार ५ सय १५, फेब्रअरीमा ९० हजार २ सय ८७, मार्चमा १ लाख २५ हजार १ सय १६ र अप्रिलमा ९८ हजार ६ सय ५० पर्यटक नेपाल भ्रमणमा आइसकेका छन् ।

यो संख्या सन् २०१७ को जनवरीमा ६२ हजार ६ सय ३२, फेब्रअरीमा ८४ हजार ६१, मार्चमा १ लाख ६ हजार २ सय ९१ र अप्रिलमा ८८ हजार ५ सय ९१ मात्रै थियो।

नेपाल भ्रमणमा आउने पर्यटकमध्ये सबैभन्दा बढी चिनियाँ पर्यटक छन् । सन् २०१८ को पहिलो चार महिनामा ५३ हजार ५ सय २८ चिनियाँ नेपाल भ्रमणमा आएका छन् ।

यसैगरी दोस्रो बढी पर्यटक आउनेमा भारत रहेको छ । यसै अवधिमा सन् २०१८ को पहिलो चार महिनामा ५० हजार सात सय ४५ भारतीय नेपाल भ्रमणमा आएका छन् ।


पुष्प दुलाल