‘एक पटकमा २० हजारभन्दा बढी रेमिट्यान्स झिक्न नदिनू’



काठमाडौं । वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघल विदेशबाट नेपाल भित्रिएको रेमिट्यान्स झिक्न पाउने सीमा तोक्न माग गरेको छ ।

आर्थिक वर्ष २०७५/७६ को बजेटमा एक पटकमा २० हजार रुपैयाँभन्दा बढी नगद रेमिट्यान्स झिक्न नदिने व्यवस्था गर्न संघले अर्थमन्त्री डा। युवराज खतिवडालाई सुझा दिएको हो ।

‘अति आवश्यक अवस्थामा आन्तरिक विप्रेषणको २० हजार सीमा पर्याप्त छ, आउँदो आर्थिक बर्षबाट सबै गाउँपालिकामा बैंक तथा वित्तीय संस्थाको पहुँच पुगिसक्ने भएकाले अधिक नगदको आवश्यकता पर्दैन। कारोबारको सीमा कायम हुँदा हुन्डी कारोबार निरुत्साहित हुन्छ,’ संघले अर्थमन्त्रीलाई नयाँ बजेटमा व्यवस्था गर्न दिएको सुझाबमा भनिएको छ ।

रेमिट्यान्सलाई श्रम स्वीकृतिसँग जोडेर हेर्ने व्यवस्था मिलाउने हो भने हुण्डीको कारोमार निरुत्साहित हुने संघको तर्क छ ।

‘विदेश गएका नेपाली श्रमिक फर्किसकेपछि पुनः विदेशको लागि श्रम स्वीकृति लिन त्यो ब्यक्तिले अघिल्लो पटक विदेशमा आर्जन गरेको रकममध्ये कम्तिमा ६० प्रतिशत परिवत्र्य विदेशी मुद्राको विप्रेषण नेपालमा आएको प्रमाण पेश गर्नु पर्ने ब्यवस्था मिलाउनु पर्छ,’ संघले भनेको छ ।

यस्तो व्यवस्था गरेको खण्डमा वैदेशिक विप्रेषण रकम औपचारिक रुपमा बैंकिङ च्यानलमा ल्याउन वाध्यात्मक अवस्था सृजना भइ पूँजी परिचालनसमेत बृद्धि हुने संघले जनाएको छ ।

‘अनौपचारिक अर्थतन्त्रलाई हतोत्साहित पार्न सहायक सिद्ध हुन्छ, शोधनान्तर स्थिति मजबुत गर्न सहायक हुन्छ,’ संघले सुझाएको छ ।


पुष्प दुलाल