यातायात व्यवसायीको बन्दले बिरामी आमा भेट्न नपाएपछि…



काठमाडौं । आमा विरामी भएको खबर सुनेर आमालाई भेट्न सिन्धुपाल्चोकको गाडी चड्न काठमाडौंको पुरानो बसपार्कमा आएका उमेश आचार्यले बस पाएनन् । बस नपाएपछि आचार्य बिरामी आमालाई भेट्न नपाउँदा चिन्तित थिए ।

संगीत प्रशिक्षकको रुपमा कार्यरत आचार्य विरामी आमालाई भेट्न सिन्धुपाल्चोक जान सकिरहेका छैनन् ।

त्यसैगरी, काँडाघारी बस्ने निशा कार्की कक्षा १२ को परीक्षा दिनका लागि ट्याक्सी चढेरै भएपनि बागबजारमा रहेको परीक्षा केन्द्र केएमसी आइन ।

‘गाडी नचल्दा हामी जस्ता विद्यार्थी मर्कामा परेका छौं, ट्याक्सीमा महँगो भाडा तिरेर भए पनि परीक्षा त दिनै पर्यो,’ कार्कीले क्लिकमाण्डूसँग दुखेसो पोखिन् ।

पुरानो बसपार्कमा ५४ बर्षिय अम्बिका दाहाल अनामनगरदेखि हिँडेरै न्युरोड जाँदै गरेको अवस्थामा भेटिइन् ।

अन्य दिन उनी टेम्पोमा चढेर न्युरोडमा रहेको आफ्नो कपडा पसल जाने गरेको बताइन् ।

‘बुढ्यौलीले छोइसक्यो, गाडी बन्द हुँदा हामी जस्ता वृद्ध वृद्धालाई पैदल हिड्दा गन्तब्यमा पुग्न सास्ती भएको छ,’ उनले भनिन् ।

उनीहरु त प्रतिनिधि पात्रमा हुन् । उनीहरु जस्ता हजारौं यात्रुहरु यातायात समितिको बन्दका कारण मारमा परेका छन् ।

यातायात व्यवसायीहरुले सरकारको सिण्डिकेट अन्त्य गर्ने निर्णय विरुद्ध शुक्रबारदेखि यातायात समितिको मातहतमा रहेका गाडी चल्न रोक लगाएका छन् ।

सार्वजनिक यातायातमा केही सिमित व्यक्तिहरुको एकाधिकार तोड्न लागेको सरकारमाथि उल्टै गाडी बन्द गरेर यातायात व्यवसायीहरुले धावा बोलेका छन् ।

बर्षैदेखि यातायात व्यवसायीहरुले विभिन्न समितिका नाममा सार्वजनिक यातायातमा लाद्दै आएको सिण्डिकेट अन्त्य गर्नका लागि सरकारले गत चैत १८ गते यातायात व्यवस्थापन कार्यनिर्देशिका २०६० को संशोधन गरेको थियो ।

सो संशोधित कार्यनिर्देशिकामा कम्पनी वा फर्म मार्फत पञ्जिकृत भएर आएका सवारीलाई मात्रै रुट इजाजत दिने निर्णय गरेको थियो ।

सोही निर्यणलाई बढुवा दिँदै वैशाखको ४ गते मन्त्रिपरिषद्को बैठकले संस्था ऐन २०३४ अनुसार जिल्ला प्रसाशन कार्यालयमा दर्ता भएका देशभरका विभिन्न नामको यातायात व्यवस्था समितिको नविकरण र दर्ता बन्द गराउने निर्णय गरेको थियो ।

यातायात व्यवसायीहरुले नियमित चल्ने सवारी साधन नचलाउँदा सर्वसाधारण यात्रु मारमा परेका छन् । सकारी र केही प्रइभेट कम्पनीका गाडीहरु फाटफुट चले पनि यात्रुलाई पायक पर्ने प्रकारले गाडी गुडेका छैनन् ।

केही संख्यामा गुडेका गाडीहरुमा यात्रुहरु जोखिमपूर्ण यात्रा गरिरहेका छन् भने केही सर्वसाधारण पैदलमार्फत गन्त्वयमा पुग्न बाध्य छन् । पशिक्षार्थी


पुष्प दुलाल