सम्पत्ति जफत हुने डरमा जग्गा बेच्न मालपोत कार्यालय धाउँदै यातायात समिति



काठमाडौं । सरकारले संस्था ऐन २०३४ अनुसार दर्ता भएका यातायात व्यवस्था समितिको नाममा रहेको सम्पतिको निगरानी गर्न थालेसँगै व्यवसायीलाई छट्पट्टी सुरु भएको छ ।

कतिपय यातायात समितिले खातामा रहेको पैसा झिक्न थालेको छन भने कतिपय व्यवसायीले भौतिक सम्पति बिक्री गर्ने प्रक्रिया थालनी गर्न थालेका छन् । काठमाडौंका सार्वजनिक यातायात सेवा दिँदै आएका कतिपय यातायात समिति आफ्नाृ नाममा रहेको सम्पत्ति अन्यको नाममा सार्ने मालपोत कार्यालय जान थालेका छन् ।

उपत्यकामा सार्वजनिक बस सञ्चालन गर्दै आएको बूढानिलकण्ठ मिनीबस व्यवस्था समिति जग्गा बिक्री गर्न मालपोत कार्यालय चाबाहिल आएका कार्यालयका प्रमुख बद्रीबहादुर कार्कीले जानकारी दिए। बूढानिलकण्ठ मिनीबस व्यवस्था समितिका नाममा रहेको जग्गा शिवपुरी बूढानिलकण्ठ यातायात प्रालिलाई बिक्री गर्न कार्यालयका आएका कार्की बताउँछन् ।

समितिका कर्मचारीलाई संस्था ऐन २०३४ अनुसार दर्ता भएका समितिका नाममा रहेको जग्गा तत्कालको अवस्थामा बिक्री नहुने जानकारी गराएको कार्कीले जानकारी दिए ।

साविकको विष्णु गाविस वडा नम्बर ३ को कित्ता नम्बर १०३० को पाँच आना दुई पैसा जग्गा बिक्रीका लागि समितिका कर्मचारी कार्यालय आएका थिए ।

यातायात समिति संस्था ऐन २०३४ अनुसार गैरनाफामूलक र गैरराजनीतिक संस्थाका नाममा दर्ता छन । संस्था ऐन २०३४ अनुसार दर्ता भएका यातायात व्यवस्था समिति आगामी असार मसान्तदेखि नवीकरण नगर्ने सरकारले निर्णय गरिसकेको छ ।

सरकारी निर्णयअनुसार संस्था नवीकरण नभएको अवस्थामा संस्थाका नाममा रहेको सम्पत्ति सरकारको हुन्छ । यसका कारण व्यवसायीले संस्थाको नाममा रहेको सम्पत्ति आफ्नो नाममा सार्न खोजेका छन् ।

यातायात समिति संस्था ऐन २०३४ अनुसार गैरनाफामूलक र गैरराजनीतिक संस्थाका नाममा दर्ता छन् । तर, विभिन्न यातायात समितिका नाममा अर्बौंको सम्पत्ति रहेको सरकारी अनुमान छ ।


क्लिकमान्डु