कुन जिल्लामा कति छन् सेयर लगानीकर्ता ? (सूचिसहित)



काठमाडौं । पछिल्ला वर्षहरुमा सेयर बजारप्रति सर्वसाधारणको आकर्षण बढ्दो छ । सेयर बजारसम्बन्धी जनचेतना बढेसँगै लगानीकर्ताको संख्या पनि बढेको हो ।

तर, पश्चिम नेपालमा भन्दा पूर्वी नेपालमा धेरै सेयर लगानीकर्ता भएको तथ्यांकले देखाएको छ । त्यसो त अन्य आर्थिक तथा सामाजिक सूचकांकहरुमा पनि पश्चिमभन्दा पूर्व नै अगाडि छ ।

अन्य सूचकांकजस्तै सेयर बजारमा लगानी गर्ने लगानीकर्ताको संख्यामा पनि पश्चिमभन्दा पूर्व निकै अगाडि देखिनु स्वभाविक भएको पुँजी बजार तथा कमोडिटिज मार्केटका विश्लेषक नीरब पुडासैनी बताउँछन् ।

‘पश्चिममा भन्दा पूर्वमा धेरै आर्थिक कारोबार हुन्छ, जहाँ बढी आर्थिक कारोबार हुन्छ, त्यहाँ सेयर बजारका लगानीकर्ता बढी हुन्छन्,’ पुडासैनीले क्लिकमाण्डूसँग भने, ‘पहिल्यैदेखि पशिचमका भन्दा पूर्वका मान्छेहरु बढी उद्यमशील हुन्छन्, स्पेकुलेटिभ हुन्छन्, क्याल्कुलेटिभ हुन्छन् ।’

आर्थिक क्रियाकलापका हिसाब, जिबनशैली, खर्च गर्नसक्ने क्षमता र उद्यमशीलता सबैमा पश्चिमेली भन्दा पूर्वेली जनता निकै अघि रहेको उनले बताए ।

सीडीएससीका अनुसार डोल्पामा सबैभन्दा कमले डिम्याट खाता खोलेका छन् । त्यसो त डोल्पाको जनसंख्या पनि सबैभन्दा कम नै छ । जम्मा १५६ डोल्पालीले मात्रै डिम्याट खाता खोलेका छन् ।

काठमाडौं जिल्लामा सबैभन्दा बढी डिम्याट खाता खोलिएको छ । काठमाडौंका ४ लाख १० हजार लगानीकर्ताले डिम्याट खाता खोलेका छन् । काठमाडौंपछि ललितपुर र भक्तपुरमा धेरै लगानीकर्ता छन् । ललितपुरका ९६ हजार र भक्तपुरका ६६ हजारले डिम्याट खाता खोलेका छन् ।

काठमाडौंबाट पूर्व लागेपछि भने डिम्याट खाता खोल्नेहरुको संख्या पश्चिमको भन्दा निकै उच्च छ । देशभरमै मोरङ चौथो र झापा पाँचै बढी डिम्याट खाता खोल्ने लगानीकर्ता भएको जिल्लामा परेका छन् । मोरङका ४१ हजार २ सय ३४ र झापाका ३२ हजार ५ सय ३२ जनाले डिम्याट खाता खोलेका छन् । त्यस्तै सुनसरीमा २८ हजार २ सय ७४ जना छन् ।

चितवनमा पनि २८ हजारले डिम्याट खाता खोलेका छन् । कास्कीका ३५ हजार र काभ्रपलाञ्चोकका ३२ हजारले डिम्याट खाता खोलेका छन् ।

पूर्वका पहाडी जिल्लाहरुमा पनि डिम्याट खाता खोल्नेहरुको संख्या उल्लेख्य छ । इलामका १५ हजार, पाँचथरका ५ हजार, भोजपुरका ४ हजार, संखुवासभाका ३४ सय, सोलखुम्बुका २८ सय र ताप्लेजुङका २९ सय जनाले डिम्याट खाता खोलेका छन् ।

कम डिम्याट खाता खोल्नेमा मुगु, मनाङ, मुस्ताङ, हुम्ला, कालिकोट, बाजुरा, जाजरकोट, जुम्ला डोटी, रोल्पा बझाङ, रुकुम, डडेलधुरा, अछाम, सल्यानलगायतका जिल्लाहरु छन् ।

सेयर लगानीकर्ताहरुले डिम्याट खाता खोल्दा नागरिकता अनिवार्यरुपमा पेश गर्नुपर्ने हुन्छ । डिम्याट खाता खोल्दा उल्लेख गरिएको नागरिकताको विवरणका आधारमा जिल्लागतरुपमा डिम्याट खाता खोल्नेहरुको तथ्यांक संकलन गरिएको सीडीएससीका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।


क्लिकमान्डु