सार्बजनिक यातायातमा छलाङ, व्हील चेयरसहित चढ्न मिल्ने




काठमाडौं । एशियाली विकास बैंकको अनुदान र सहुलियत ब्याजदरको कर्जामा काठमाडौं उपत्यकामा अत्याधुनिक सुविधा सम्पन्न ठूला बस चल्ने भएका छन् ।

सरकारले निजी क्षेत्रलाई पाइलट प्रोजेक्टको रुपमा एशियाली विकास बैंक (एडिबी) को अनुदान र सहुलियत ब्याजदरको कर्जा दिएर यस्ता बस संचालनको तयारी गरेको हो ।

काठमाडौं उपत्यकाभित्रका साना सार्बजनिक सवारी साधन (माइक्रो बस) विस्थापित गरी ठूला, नयाँ र सुविधा सम्पन्न गाडी ल्याउन लागिएको यातायात ब्यवस्था विभागका इन्जिनियर शरद आचार्यले जानकारी दिए ।

एडिबीको अनुदानमा पहिलो चरणमा १७ वटा बस ल्याउन लागिएको छ । यी बस काठमाडौंको नयाँ बसपार्कदेखि एयरपोर्टसम्मको रुटमा चल्नेछन् ।

‘पहिलो चरणमा १७ वटा बस ल्याउन लागिएको छ, यसको प्रतिक्रिया हेरेर अन्य रुटमा पनि यस्तै सुविधा सम्पन्न ठूला बस ल्याउने गृहकार्य गरेका छौं,’ विभागको सडक सुरक्षा शाखामा कार्यरत इन्जिनियर आचार्यले क्लिकमाण्डूसँग भने ।

नयाँ बसपार्कदेखि एरपोर्टसम्मका लागि ल्याइन लागिएको गाडी नयाँबानेश्वर, गंगबु, ठमेल, बागबजार, पुतली सडक, डिल्ली बजार, पुरानो बानेश्वर, सिनामंगल र एयरपोर्ट हुँदै गुड्ने छन् ।

सो रुटहरुमा अहिले संचालनमा रहेका माइक्रो बस विस्थापित गर्न एडिबीको अनुदान र सहुलियत ब्याजदरको कर्जा उपलब्ध गराइएको हो । यस्ता गाडीमा कूल लगानीको १५ प्रतिशत अनुदान एडिबीले दिने र ५ प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराइने ब्यवस्था मिलाइएको इन्जिनियर आचार्यले जानकारी दिए ।

ठूला बस आएपछि अहिले सो रुटमा संचालित माइक्रो बसहरुलाई अन्य भित्री सडकमा रुट परमिट दिने सोच विभागको छ ।

नयाँ बस अपांगमैत्री हुनेछन् । व्हील चेयरमा हिड्ने यात्रुको लागि बसमा चढ्न र ओर्लन सहज होस भनेर र्याम्प पनि राखिएको छ । गाडी भित्र पनि २ वटा व्हील चेयर हुनेछन् । यस्ता सिटमा सम्बन्धित यात्रु नचढेको अबस्थामा फोल्ड गरेर राख्न मिल्ने ब्यवस्था रहेको इन्जिनियर आचार्यले जानकारी दिए ।

बसमा एक पटकमा ५० जना यात्रु आवत जावत गर्न सक्ने छन् । बसमा २५ वटा सिट राखिएको छ । बसको उचाई ३ मिटर र लम्बाइ ८.४ मिटर रहने छ । गाडीको ढोकामा ड्राइभरको सिटमा र सिलिङमा गरी ३ स्थानमा जिपीएस जडान गरिनेछ । यस्तो जिपीएसले यात्रुलाई आफू कुन स्थानमा आइपुगेको छु भन्ने जानकारी दिनेछ ।

यस्तो बसको ब्यवस्था नगर विकास कोष अन्तरगतको काठमाडौं दिगो सहरी यातायात आयोजनाले गरेको हो । निजी क्षेत्रका ब्यवसायीले नगर विकास कोष मार्फत एडिबीको अनुदान पाउने छन् भने आयोजनाले सहुलियत ब्याजदरमा कर्जाको ब्यवस्था मिलाइ दिनेछ ।

आयोजनाकै समन्वयमा अहिले दिगो यातायात प्रालि दर्ता भएको छ । सो प्रालिले जेठको पहिलो सातादेखि नयाँबसपार्कदेखि एयरपोर्टसम्म बस सेवा संचालन गर्न लागेको हो । सो प्रालिले पहिलो चरणमा ल्याउन लागेको १७ वटा बसको लागत करिब ७ लाख रुपैयाँ छ ।

यस्ता गाडी तयार भएको र बाहिरी आवरण बनाउन मात्रै बाँकी रहेको बताइएको छ ।


क्लिकमान्डु