यातायात ब्यवसायीसँग मिलेर पेट्रोल बेच्ने र ओसार्नेले आन्दोलन गरे सम्झौता खारेज




काठमाडौं । नेपाल आयल निगमले यातायात व्यवसायी महासंघको आन्दोलनलाई समर्थन गर्दै अत्यावश्यक बस्तु इन्धन बोक्ने ट्यांकर र पेट्रोलियम पदार्थ विक्री गर्ने पेट्रोल पम्मले हड्ताल गरे सम्झौता नै खारेज गर्ने चेतावनी दिएको छ ।

यातायात ब्यवसायीको आन्दोलनमा ऐक्यवद्धा जनाउदै नेपाल पेट्रोलियम ढुवानी ब्यवसायी महासंघ र नेपाल पेट्रोलियम डिलर राष्ट्रिय एसोसिएसन पनि आन्दोलित हुने भनिएपछि निगमको यस्तो धारणा आएको हो ।

अत्यावश्यक बस्तु पेट्रोलियम पदार्थको विक्री र ढुवानीमा संलग्न ब्यवसायी हड्तालमा उत्रिए निगमले बाध्य भएर उनीहरुसँग गरिएको सम्झौता खारेजसम्म गर्नुपर्ने अबस्था आउने निगम प्रवक्ता विरेन्दे गोइतले बताए ।

‘पेट्रोलियम पदार्थको ढुवानी र विक्रीमा संलग्न ब्यवसायी पनि हड्तालमा उत्रने खबर आएपछि हामीले उहाँहरुसँग सम्पर्क गरेका थियौं, उहाँहरुले हामी हड्तालमा उत्रन्नौं भन्नुभएको छ, उहाँहरु हड्तालमै उत्रनु भयो भने निगमले कानुन अनुसार गर्ने हो, कानुनमा सम्झौता खारेजसम्मको ब्यवस्था भएकोले मैले थप ब्याख्या गरिरहनु परेन,’ प्रवक्ता गोइतले क्लिकमाण्डूसँग भने ।

यातायात व्यवसायीको २१ गते गाडी ग्यारेजमा थन्क्याउने र २७ गतेबाट सवारी नै नचलाउने गरी गरेको आन्दोलनमा नेपाल पेट्रोलियम ढुवानी ब्यवसायी महासंघ र नेपाल पेट्रोलियम डिलर राष्ट्रिय एसोसिएसनले पनि समर्थन जनाएको छ ।

पेट्रोलियम पदार्थको ढुवानी र विक्रीमा संलग्न ब्यवसायीले हड्ताल गर्न नपाउने गोइतको भनाइ छ । निगमका ट्यांकर ब्यवसायीले भाडामा लिएर सम्झौता अनुसार संचालन गरेको र पेट्रोलियम पदार्थको विक्री गर्ने ब्यवसायीले निगमबाट कमिसन लिएर विक्री गर्ने गरेकोले हड्ताल गर्न नमिल्ने उनले बताए । यस्तै अत्यावश्यक सेवा आफूर्ति ठप्प गर्ने गरी हड्ताल तथा बन्द गर्न नपाइने भएकोले ब्यवसायीले त्यसो नगर्ने अपेक्षा रहेको उनको भनाइ छ ।


क्लिकमान्डु