सिन्डिकेट गर्न नपाएपछि देशभर गाडी ठप्प पार्ने यातायात व्यवसायीको तयारी



काठमाडौं । सिन्डिकेट गर्न नपाएपछि यातायात व्यवसायीले बैशाख २० गते देशभर गाडी नचलाउने निर्णय गरेका छन् ।

नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघले सरकारले कार्यान्वयनमा ल्याएको यातायात वयवस्थापन कार्यविधि निर्देशिका खारेजी गर्न माग गर्दै गाडी नचलाउने निर्णय गरेका हुन् ।

२० गते सबै सार्वजनिक गाडी नचलाउने र त्यसपछि माग पुरा नभएमा २६ गतेदेखि पूर्णरुपमा सवारी ठप्प पार्ने निर्णय गरेका छन् ।

कार्यसमितिले गरेको निर्णयको बारेमा केही दिनमा पत्रकार सम्मेलन गरेर जानकारी दिइने महासंघका एक सदस्यले जानकारी दिए ।

बनेपाबाट चल्ने मयुर यातायातको गाडीलाई भक्तपुर रुटमा चल्ने गाडीले अवरोध गरेपछि सरकार सिन्डिकेट विरुद्ध कडा भएर प्रस्तुत भएको थियो ।

सरकारले सिन्डिकेट गर्नेलाई रुट परमिट खारेज गर्नेसम्मको चेतावनी दिएपछि यातायात व्यवसायीले सिन्डिकेट कायम गर्न आन्दोलनको घोषणा गरेका हुन् ।

सार्वजनिक बसको कारण सुरु भएको आन्दोलनमा ढुवानी व्यवसायी ट्रक र ट्यांङकरले पनि साथ दिएका छन् ।


क्लिकमान्डु