अब सरकारी कर्मचारीलाई पेन्सन दिन नसक्ने अवस्था आयोः अर्थमन्त्री



काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारी कर्मचारीलाई पेन्सन दिन नसक्ने अवस्था आएको बताएका छन् ।

यो वर्ष पेन्सनबापत ६२ अर्ब ४० करोड रुपैयाँ खर्च भएको र आगामी १० वर्षमा यसरी नै बढ्ने हो भने ३ खर्ब रुपैयाँले पेन्सन नाघ्ने भन्दै खतिवडाले अब देशले पेन्सन धान्न नसक्ने बताए ।

‘विगत ५ वर्षको अवधिमा सेवा निवृत्त सुविधा खर्चमा १५६ प्रतिशतले वृद्धि भएको छ, यो प्रवृत्ति कायम रहने हो भने १० वर्षमा यस्तो खर्च ३ खर्ब नाघ्ने देखिन्छ,’ खतिवडाले शुक्रबार श्वेतपत्र जारी गर्दै भनेका छन् ।

योगदानमा आधारित निवृत्तिभरका लागि कुनै कोषको व्यवस्था नगरिएको र कर्मचारीको अवकास उमेर पुनरावलोकन नगरिएकाले कम उमेरमै कर्मचारीहरु अवकास पाउने हुँदा पेन्सनको दायित्व बढ्दै गएको श्वेतपत्रमा उल्लेख छ ।

कर्मचारीलाई स्वेच्छिक अवकास दिनसक्ने अवस्था छैन

त्यस्तै मन्त्री खतिवडाले निजामति कर्मचारीलाई स्वेच्छिक अवकास दिनसक्ने अवस्था नभएको बताएका छन् । कर्मचारी समायोजन ऐनमा रहेको स्वेच्छिक अवकास योजना अन्तर्गत १० हजार कर्मचारीले अवकासमा जान निवेदन दिइसकेका छन् ।

यस्तो अवस्थामा अर्थमन्त्रीले स्वेच्छिक अवकास दिन नसकिने बताएका हुन् ।

७ वर्षको पेन्सन र अन्य सुविधा भुक्तानी दिनका लागि ३० अर्ब रुपैयाँभन्दा बढी खर्च हुने सरकारी अनुमान छ ।

‘स्वेच्छिक अवकासको सिद्धान्त र अभ्यासको विपरित समायोजन ऐनमा स्वेच्छिक अवकाससम्बन्धी व्यवस्था भएको देखिन्छ,’ श्वेतपत्रमा उल्लेख छ, ‘अहिले प्रदेश र स्थानीय तहमा कर्मचारीको अभाव छ र केन्द्रबाट कर्मचारी खटाउनुपर्ने आवश्यकता छ । ती तहमा अनुभवी कर्मचारी खटाउनुको साटो स्वेच्छिक अवकास योजना ल्याएर ठूलो आर्थिक दायित्व सिर्जना गरिएको छ । कर्मचारी समायोजन ऐनमा व्यवस्था गरी सार्वजानिक सूचनाबाट अवकासमा जाने कर्मचारीको निवेदन लिइसकेको सन्दर्भमा यसको व्यवस्थापन जटिल बनेको छ ।’


पुष्प दुलाल