प्रदेशमा बिजनेशको संभावना खोज्न तात्यो निजी क्षेत्र



काठमाडौं । प्रदेशस्तरमा के कस्तो व्यापार–व्यवसायको संभावना छ भनेर निजी क्षेत्रले खोज्न थालेको छ । नेपाल उद्योग वाणिज्य ७ वटै प्रदेशमा पुगेर धमाधम संभावनाहरुको पहिचान गरिरहेको छ ।

प्रदेश नम्बर ४, ५, ६ र ७ का उद्योगी व्यवसायी, मुख्यमन्त्री, अर्थमन्त्री लगायतसँग भेटेर ती प्रदेशका संभावना र चुनौति के के हुन् भनेर पहिचान गरिसकिएको महासंघका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले जानकारी दिए ।

‘४ वटा प्रदेशका संभावना र चुनौतिको पहिचान भइसकेको छ,’ उपाध्यक्ष गोल्छाले क्लिकमाण्डूसँग भने, ‘बिहीबार (भोलि) छलफलका लागि प्रदेश नम्बर ३ को राजधानी हेटौंडा जाँदैछौं । त्यसपछि केहीदिन भित्रै प्रदेश नम्बर २ को राजधानी जनकपुर र प्रदेश नम्बर १ को राजधानी बिराटनगर जाँदैछौं ।’

गोल्छाका अनुसार महासंघको प्रदेश इकाइले सो प्रदेशभरीका जिल्ला तथा स्थानीय तहका उद्योगी व्यवसायीहरुसँग छलफल गरेर प्रतिवेदन तयार पारिसकेको छ ।

प्रदेश सरकारका मूख्यमन्त्री, सभामुख, अर्थमन्त्री र मन्त्रीहरु र स्थानीय उद्योगी व्यवसायी सम्मिलित अन्तरक्रिया कार्यक्रमको आयोजना गरी उक्त प्रतिवेदन प्रस्तुत गरिन्छ । अन्तरक्रियामा विज्ञको प्रतिवेदन र कमेन्ट पनि समावेस गरिएकोछ ।

यसरी प्रदेश सरकारका प्रतिनिधि र व्यवसायीका प्रतिनिधिबीच छलफल गरी अर्को प्रतिवेदन तयार पारिन्छ । प्रतिवेदनमा प्रदेशका आयश्वकता, संभावना र चुनौतिहरु रहने छन् ।

सबै प्रदेशमा छलफल गरि प्रतिवेदन तयार पारिसकेपछि केन्द्र सरकारका प्रधानमन्त्री, अर्थमन्त्री, अन्य मन्त्रीहरु, उद्योगी व्यवसायीहरु, सबै प्रदेशका मुख्यमन्त्री, प्रदेशका उद्योगी व्यवसायी सम्मिलित वृहद् अन्तरक्रियाको आयोजना गरिने गोल्छाले बताए ।

उक्त कार्यक्रममार्फत् नै महासंघले देशभर छलफल गरेर तयार पारेको प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाउने छ ।

‘यसरी तल्लो तहदेखि नै छलफल र अन्तरक्रिया गरेर तयार पारिएको प्रतिवेदनले कहाँ के कस्ता आवश्यकता छन्, संभावना छन् र चुनौति छन् भनेर हामी सबै प्रष्ट हुन्छौं,’ उनले भने, ‘त्यही अनुसार सरकारलाई नीति बनाउन र कार्यान्वयन गर्न सहयोग पुग्ने छ भने उद्योगी/व्यवसायीहरुलाई पनि कहाँ के लगानी गर्ने भनेर संभावनाको पहिचान हुन्छ ।’


पुष्प दुलाल