सेयर बजारमा पहिरो जादा पनि इन्भेष्टमेन्ट बैंकको मूल्य स्थीर, ब्लूचिप्सको स्थानमा आएकै हो एनआइबिएल ?



काठमाडौं । पछिल्लो समय सेयर बजार ओरालो लागिरहेको छ । सूचिकृत सबै कम्पनीको सेयर मूल्य घटिरहेको छ ।

तर, नेपाल इन्भेष्टमेन्ट बैंकको गति भने अरु कम्पनीको भन्दा केही फरक देखिन्छ । सामान्यतः बुक क्लोजपछि सूचिकृत कम्पनीको सेयर मूल्य घट्ने गर्छ । तर, नेपाल इन्भेष्टमेन्ट बैंक (एनआइबिएल) को सेयर मूल्य बुक क्लोजपछि बढेको देखिन्छ ।

बुकक्लोज अगाडि नेपाल इन्भेष्टमेन्टको सेयर मूल्य प्रतिकित्ता ७६४ रुपैयाँ थियो । त्यसपछि यसको सेयर मूल्य प्रतिकित्ता ६४५ मा खुलेको थियो । यसबीचमा प्रतिकित्ता ६८३ रुपैयाँसम्म पुगेको इन्भेष्टमेन्टको सेयर मूल्य अहिले ६४९ रुपैयाँमा आएको छ ।

अरु कम्पनीको सेयर मूल्य निरन्तर घट्दो क्रममा देखिए पनि इन्भेष्टमेन्ट बैंकको सेयर मूल्य भने कहिले बढ्ने र घटेपनि सामान्य रुपमा मात्रै घट्ने ट्रेण्डमा देखिन्छ । बुक क्लोजपछि सेयर खरिद गरेकाहरु अहिले पनि फाइदामा देखिन्छन् । अरुको जस्तो घट्ने ट्रेण्ड इन्भेष्टमेन्ट बैंकले देखाएको छैन ।

नेपालको वाणिज्य बैंकमा सबैभन्दा बढी चुक्ता पुँजी नेपाल इन्भेष्टमेन्ट बैंकको छ । इन्भेष्टमेन्टको चुक्ता पुँजी १० अर्ब ६२ करोड रुपैयाँ छ ।

बजार पुँजीकरण ६८ अर्ब ९६ करोड रुपैयाँ रहेको छ । नेप्सेको कुल बजार पुँजीकरण १४ खर्ब ४१ अर्ब रुपैयाँ छ । यो आधारले नेपाल इन्भेष्टमेन्ट बैंकको यसमा हिस्सा ४ प्रतिशत रहेको देखिन्छ ।

पुस मसान्तको वित्तीय विवरण अनुसार यसको रिजर्भमा ९ अर्ब ९१ करोड रुपैयाँ छ ।

बैंकको निक्षेप १ खर्ब २९ अर्ब रुपैयाँ छ भने कर्जा लगानी १ खर्ब १३ अर्ब रुपैयाँ रहेको छ ।

गत पुस मसान्तसम्ममा इन्भेष्टमेन्ट बैंकले १ अर्ब ८३ करोड रुपैयाँ नाफा कमाएको छ । विगतमा पनि बैंकले नगद लाभांशसँगै बोनस सेयर पनि दिने हुँदा ऊसँग लगानीकर्ताको आशा बोनस पाउने पनि हुन्छ । बैंकले पुँजीबृद्धिको लागि एफपिओ समेत बिक्री गरेको थियो ।

राष्ट्र बैंकले तोकेको पुँजी पुर्याउनको लागि सबैभन्दा सहज नैं इन्भेष्टमेन्ट बैंकलाई थियो ।


क्लिकमान्डु