जमिन होइन, माटोबिनै तरकारी खेती गर्दैछन् विदेशी एमबिए होल्डर ३ युवा



काठमाडौं । एमबिए सक्ने युवायुवतीको चाहना के हुन्छ होला ? स्वभाविक जवाफ हुन्छ कि पढाइपछि बैंक, बीमा तथा कर्पोरेट क्षेत्रमा जागिर खाने ।

अझ त्यसमाथि पनि अमेरिका र युरोपमा नै पढ्न गएपछि फर्कनेहरु त कमै हुन्छन् ।

तर, एमबिए पास तीन युवाले भने विदेशको बसाई र कर्पोरेट लाइफस्टाइल त्यागेर व्यवसायिक कृषिमा लागेका छन् ।

तीन युवा केशर राना, बिप्लव सिंह तथा प्रकाश दाहालले नेपालमा कृषिमा नौलो प्रयोग गरिरहेका छन् । त्यो नौलो प्रयोग माटोबिना तरकारी फलाउने भन्ने हो ।

प्राविधिक भाषामा एरोफोनिक्स तरकारी खेती र यो प्रविधिलाई फैलाउने सपना तीन जनाको छ ।

सन् २००१ मा काठमाडौं पोस्ट्बाट पत्रकारिता गरेका केशर राना पछिल्लो समय बिजनेश ३६० म्यागेजिनमा समाचार सम्पादक थिए । बिप्लव सिंह पेशाले बैंकर हुन् । एनआईसी एशिया बैंकमा रहेका उनको मनपनि बैंकको जागिरमा थामिएन ।

अध्यापन पेशामा रहेका प्रकाश दाहाल पनि केही नयाँ गर्ने सोचमा नै थिए ।

नयाँ काम गर्ने सोच लिएपनि सोचले आकार भने लिएको थिएन । तीनै जनाको भेट भने व्यवस्थापनमा राम्रो मानिएको किङ्स कलेजमा भयो । किङ्समा पढाउन जादा भेट भयो । कृषिमा नयाँ काम गर्ने आइडिया पनि त्यही जन्मियो ।

तरकारी खेती गर्नको लागि जग्गा नै चाहिन्छ भन्ने धेरैको बुझाई छ । तर, संसारमा तरकारी खेतीको लागि जमिन नचाइने प्रविधिको विकास भइसकेको छ ।

अमेरिकामा नासाका वैज्ञानिकले अन्तरिक्षमा माटोबिना तरकारी फलाउन सकिन्छ कि सकिदैन भनेर अनुसन्धान गरिरहेका थिए । सन् २००० मा नासाका वैज्ञानिकले माटोबिना तरकारी फलाउन सकिने भनेर घोषणा गरे ।

नयाँ काम गर्ने सोच र शैलीले तीन जना युवाले माटोबिना तरकारी खेती गर्ने प्रविधि बुझे । त्यसपछि जन्मियो माटोबिना तरकारी खेती गर्ने एरोरुट्स ।

‘हाइड्रोफोनिक्स प्रविधिमा काम गर्न नसक्ने देखिए पनि एरोफोनिक्स प्रविधिमा काम गर्न सक्ने देखियो, जमिन कम भएपनि उत्पादन बढाउनको लागि एरोफोनिक्स उपयोगी हुने भएपछि हामीले त्यसमा काम गर्यौं,’ केशर पुरान दिन सम्झदै भन्छन् ।

नयाँ बानेश्वरमा रहेको बिप्लव सिंहको घरमा अहिले एरोरुट्सको कार्यालय छ । जहाँ खानेपानीको ड्रम्ममा तरकारी खेती गर्ने कामको तयारी भइरहेको छ ।

केशरको घर कलंकीमा भने यसको खेतीको सुरुवात भइसकेको छ । २०७४ साल बैशाखदेखि यस्तो खेती सुरु भएको हो ।

एमबिए सकाएको व्यक्तिले कृषिमा काम गर्छुभन्दा नेपाल जस्तो परिवेशमा परिवारले सुरुमा सहयोग गर्ने कुरा नै भएन । फरक सोच भएका यी युवालाई पनि त्यस्तै अप्ठेरोले नपिरोलेको भने होइन । तर जहाँ इच्छा त्यहाँ उपाय भन्ने सिद्धान्त उनीहरुमा लागू भयो ।

‘परिवारको असहमति हुँदापनि हामी कृषिमा लाग्यौं, प्रयोगका लागि मेरो घरबाट तरकारी खेती सुरु भयो, अहिले घरमा तरकारी किन्नु पर्दैन र हामी व्यवसायिक रुपले जान सक्छौ भन्ने प्रमाणित भयो,’ केशर भन्छन् ।

कलंकीमा रहेको केशरको घरको छतमा तरकारी खेती हुन्छ । खानेपानीका ड्रमका विभिन्न आकारमा तरकारी खेती गरिएको छ । जसमा माटोको प्रयोग हुँदैन । घरमा चाहिने तरकारीको आवश्यकता पूरा भएको छ ।

घरमा गरिएको प्रयोग सफल भएपछि तीनै जनाले यसको व्यवसायिक सम्भावना बुझे । र, यसमा पूर्ण रुपमा नै होमिने निर्णय गरे ।

अव्यवस्थित सहरीकरणले काठमाडौं तथा उपत्यकाका बाहिरका सहरहरुमा खेतीयोग्य जमिन मासिन थालेको छ । जसले गर्दा खेती गर्नु नै महंगो छ । उपभोक्ता पनि महंगो मुल्यमा बिषादी प्रयोग गरेको तरकारी खान बाध्य छन् ।

अहिलेसम्म यसका लागि ४० लाख रुपैयाँ लगानी भएको छ ।

केशर केही समयभित्रमा गोदावरीमा यही प्रविधि प्रयोग गरेर व्यवसायिक खेती सुरु गर्ने तयारी भएको बताउँछन् । ड्रममा खेती गर्न चाहनेको लागि ड्रम पनि बिक्रीको काम सुरु भइसकेको छ । एउटा व्यक्तिले यसरी घरमै खेती गर्ने हो भने ७५ हजार लगानीमा नै आफ्नो परिवारलाई पुग्ने तरकारी खेती गर्न सक्ने राना सुनाउँछन् ।

‘काठमाडौंमा जग्गा नहुँनेले पनि सजिलै ड्रममा तरकारी खेती गरेर आफुलाई चाहिने तरकारी फलाउन सक्छन्, एक पटक ७५ हजार लगानी गर्ने हो भने एक वर्षको लागि पुग्ने तरकारी त्यसपछि उत्पादन गर्न सकिन्छ,’ उनी भन्छन् ।

रबरको ट्यांकी वरिपरी प्वाल पारेर पाइप जोडी त्यसमा फम राखेर हरेक पाइपका प्वालमा फरक फरक तरकारी रोप्न सकिन्छ । यसरी रोपेका तरकारीहरु सजिलै छोटो समयमा धेरै उत्पादन हुने गरेको रानाको अनुभव छ ।

सो ड्रमलाई घाममा नराखिकन घरभित्रै कृतिम लाइट बनायर पनि राख्न सकिन्छ । तर, त्यो प्रविधि भने महंगो हुन्छ । कम्तीमा ४ घण्टासम्म घाम लाग्ने स्थानमा ड्रमबाट तरकारी खेती गर्न सकिन्छ ।

तरकारी खेती गर्नको लागि पानी पनि धेरै चाहिदैन । हप्तामा २० लिटर पानी भए पुग्छ । अर्थात १ जार पानी किनेर पनि तरकारी खेती सहजै गर्न सकिन्छ ।

‘माटोमा रोप्दा ३ महिनामा उत्पादन हुने गोलभेडा यो प्रविधिबाट १ महिनामा फल्छ, यस्तै साग समेत १ महिनामै खान योग्य हुने गरेको छ,’ राना भन्छन् ।

एरोफोनिक्स प्रविधिमा जरा झुन्डिने भएका कारण जरामा सजिलै अक्सिजन पुग्ने हुँदा त्यसमा चाडो उत्पादन हुन्छ ।

यसरी गर्ने खेतीमा श्रम थोरै लाग्ने र धेरै उत्पादन हुने भएकाले यसमा मानिसहरुको रुची बढ्दै गएको छ ।

काठमाडौंमा जमिन नभएको र तरकारी घरमा सजिलै उत्पादन गर्न सकिने भएको हुँदा ड्रमको माग बढ्दैछ । आफूहरुले तरकारी रोप्नलाई चाहिने ड्रम र तरकारीको बिउ दिने गरेको राना बताउँछन् । जसको कुल लागत ७५ हजार पर्छ ।

व्यवसायिक रुपमा सुरु गरेको छोटो समयमा २० वटासम्म ड्रमको अर्डर आइसकेको छ ।

आफूहरुले गोदावरीमा १० आना जग्गामा यही प्रविधिबाट १० रोपनी जग्गामा उत्पादन हुनेगरी गोलभेडा खेती गर्न लागेको राना सुनाउँछन् ।

यसरी तरकारी खेती गर्न थालियो भने बाहिरबाट आउने तरकारी भन्दा यसरी उत्पादन भएको तरकारी कम मूल्य पर्न जाने उनले दाबी गरे ।

यसरी उत्पादन हुने तरकारीको लागि पानीमा न्यूट्रेसन हाल्नु पर्ने र त्यो अन्य देशहरुबाट ल्याउनको लागि भने समस्या भोगेको अनुभव रानाले सुनाए ।

इजरायलमा तरकारी खेती फस्टायनको कारण प्रविधि नै हो । मरुभूमिको देशले युरोपलाई पुग्ने तरकारीको निर्यात गर्छ । नेपालमा पनि यस्तै नयाँ सोच सहितको प्रविधि भित्रिएको छ । यसले नेपालको तरकारी उत्पादनको शैली नै बदलिदिन सक्छ । तर, त्यसको लागि केही समय भने कुनुपर्नेछ ।


क्लिकमान्डु