अब बुद्ध एयरको भैरहवा-पोखरा रुटमा दैनिक २ उडान



काठमाडौं । निजी वायुसेवा कम्पनी बुद्ध एयरले भैरहवा–पोखरा हवाई रुटमा उडान संख्या बढाएको छ । उक्त रुटमा दैनिक एक उडान गर्दै आएकोमा अब देखि दैनिक २ उडान सुरु गरेको हो ।

हवाई मार्गमार्फत बुद्ध जन्मस्थल लुम्बिनी र पर्यटकीय सहर पोखरालाई जोड्ने उद्देश्यसहित भदौ ३० गतेबाट सिद्धार्थनगर र पोखराबीच सीधा उडान सुरु गरेको थियो ।

बुद्ध एयरले चितवन–पोखरा सेक्टरमा समेत दैनिक २ उडान गर्दै आएको छ । भैरहवा चितवन दुवै सेक्टरमा भदौ ३० बाट एकै साथ उडान सुरु भएको थियो । सेक्टरमा दैनिक एक उडान नियमित भइरहेको थियो ।

उडानपछि यस क्षेत्रका सर्वसाधारण पोखरा, मुक्तिनाथ जान चाहने नेपाली भारतीय र विदेशी पर्यटकलाई अझ सहज हुने छ । पोखरा घुम्न आएका विदेशी तथा स्वदेशी पर्यटकहरूलाई बुद्ध जन्मस्थल लुम्बिनी तथा भैरहवासम्म जान आउनको चाप बढेपछि उडान संख्या थपेको बुद्ध एयरले जनाएको छ ।

विश्व शान्तिका अग्रदूत भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीको प्रवेशद्वारका रूपमा भैरहवाको गौतमबुद्ध विमानस्थल रहेको छ । नेपाल प्रवेश गर्ने सबैभन्दा ठूलो स्थलमार्ग बेलहीया हुँदै नेपालमा सबैभन्दा बढी तेस्रो मुलुकका पर्यटकसमेत प्रवेश गर्ने भएकाले भविष्यमा अझै उडान थप्ने बुद्धको भनाई छ ।

पछिल्लो समय नारायणगढ हुदै सडक मार्गबाट पोखरा पुग्न र पाल्पाको बाटो हुँदै जान पनि अप्ठेरो भएकाले सजिलो बिकल्प हवाई मार्ग बन्दै गएको छ ।

भैरहवा–पोखरा १५ मिनेटको हवाई दूरी हो । नेपाली यात्रीका लागि ४३ सय र विदेशीका लागि ९८ अमेरिकी डलर हवाई भाडा छ । १८ सिट क्षमताकाबीच एएरक्राफ्टमार्फत बुद्ध एयरले उडान भर्दै छ ।


पुष्प दुलाल