अमेरिकाको राष्ट्रपति बनेपछि यसरी घट्दैछ ट्रम्पको सम्पत्ति



एजेन्सी । अमेरिकामा नामोद रियल स्टेट व्यवसायबाट राजनीतिमा फड्को मारेका वर्तमान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सम्पति निरन्तर घट्दै गएको छ ।

प्रख्यात अमेरिकी म्यागेजिन फोब्र्सले सार्वजनिक गरेको विश्वका अर्बपतिको सूचीमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प २ सय २२ स्थानले तल झरेका छन् । उनको अनुमानित सम्पत्ति ३.५ अर्ब डलरबाट घटेर ३.१ अर्ब डलर कायम भएपछि विश्वका अर्बपतिको सूचीमा उनको स्थान पनि ओरालो लागेको हो ।

मध्य न्यूयोर्कको सम्पत्तिको मूल्यमा आएको कमी र उनको गल्फ कोर्सको आम्दानी पनि ओरालो लागेकाले ट्रम्पको सम्पत्ति घटेको हो । सूचीको शीर्ष स्थानमा अमेजनका प्रमुख तथा संस्थापक जेफ बेजोस रहेका छन् ।

बेजोसको सम्पत्तिमा गत वर्षको ३९.२ अर्ब डलरबाट कहाली लाग्दो वृद्धि भई यो वर्ष ११२ अर्ब डलर कायम भएको छ । बेजोसको सम्पत्तिमा आएकोे सुधारलाई इतिहासकै ठूलो मानिएको छ ।
उनको सम्पत्तिमा भएको यो वृद्धिले माइक्रोसफ्टका संस्थापक बिल गेट्सलाई दोस्रो स्थानमा धकेलेको छ । यो वर्ष गेट्सको सम्पत्ति अनुमानित ९० अर्ब डलर छ ।

दोस्रो स्थानमा धकेलिए बावजुद पनि गेट्सको सम्पत्ति अघिल्लो वर्षको ८६ अर्ब डलरलको दाजोमा बढी भएको छ । विगत २४ वर्षको अवधिमा गेट्स १८ पटक सूचीको पहिलो स्थानमा रहदै आएका थिए ।

म्यागेजिनको ३२ औं वार्षिक वर्गिकरणमा यो वर्ष विश्वभरीका अर्बपतिको संख्या २ हजार २ सय ८ पुगेको छ । अमेरिकी लगानी गुरु वारेन बफेट ८४ अर्ब डलरको सम्पत्ति सहित विश्वका धनीको सूचीमा तेस्रो स्थानमा रहेका छन् । उनको सम्पत्तिमा पनि अघिल्लो वर्षको ७५.६ अर्ब डलरको तुलनामा वृद्धि भएको छ । सूचीको चौथो स्थानमा परेका र युरोपकै धनी बर्नाड आर्नउल्टको सम्पत्ति ७२ अर्ब डलर रहेको छ ।

देशको आधारमा अर्बपतिको संख्यामा अमेरिका रहेको छ । अमेरिकामा यो वर्ष ५८५ अर्बपति रहेका छन् । दोस्रो स्थानमा चीन रहेको छ । क्यालिफोर्नियामा मात्रै १४४ अर्बपति रहेका छन् । अमेरिका र चीन बाहेक अन्य कुनै पनि मुलुकको तुलनामा बढी हो ।

युरोपमा जर्मनीमा सर्वाधिक अर्बपति रहेका छन् । मुलुकमा १२३ अर्बपति रहेका छन् । भारतमा ११९ र रुसमा १०२ अर्बपति रहेका छन् । फोब्र्सका अनुसार बेलायतमा ५३ अर्बपति रहेका छन् । यो गत वर्षको ५४ को तुलनामा कम हो ।

सुपररिच लगातार धनी बन्दै गएको र उनीहरुको सम्पत्तिको अन्तरमा पनि वृद्धि भईरहेको फोब्र्सका लुइसा क्रोल र केरी डोलानले बताएका छन् ।

फोब्र्सले सार्वजनिक गरेका अर्बपतिहरुको सूची २०१८ को फेबु्रअरी सम्म कायम भएको सम्पत्तिको आधारमा तयार पारिएको हो । म्यागेजिनले उक्त दिनको सेयर मूल्य र विनियम दरको आधारमा सूची तयार पारेको हो ।


पुष्प दुलाल