साझाले सुरु गर्यो अपाङ्गमैत्री ‘सेमी-लो फ्लोर’ बस सेवा



काठमाडौं । साझा यातायातले अपाङ्ग-मैत्री ‘सेमी–लो फ्लोर’ बस सञ्चालनमा ल्याएको छ । ललितपुर पुल्चोकस्थित साझा यातायातको कार्यालयमा बुधबार काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र ललितपुर महानगरपालिकाका चिरीबाबु महर्जनले सेमी–लो फ्लोर बस सेवाको संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

मेयर शाक्यले साझा यातायातले सार्वजनिक यातायातमा अपाङ्ग-मैत्री बस भित्र्याएर नयाँ आयमको सुरुवात गरेको बताए ।

‘सार्वजनिक यातायात अपाङ्ग, अशक्त, जेष्ठ नागरिक, बालबालिका र बिरामी मैत्री हुन सकिरहेका छैनन्, सेमी-लो फ्लोर बसमा सबै मानिसले सहज रुपमा यातायात सेवा लिन सक्छन्,’ शाक्यले भने ।

ललितपुरका मेयर महर्जनले यात्रुमैत्री ठूला बस सञ्चालनका लागि ललितपुर सहयोग गर्न उदार रहेको बताए ।

विद्यार्थी जीवनमा कयौं पटक साझा बसमा यात्रा गरिसकेको ललितपुरका मेयर चिरीबाबु महर्जनले आफ्नो बाल्यकाल सम्झँदै आफु साझा बसको पारखी भएको बताए ।

‘सानो छँदा पैसा हुँदा भाडा तिरेर वा नहुँदा भाडै नतिरी पनि बस चढ्थे, अब साझासँग थप सहकार्य गरेर अगाडि बढ्छौं,’ महर्जनले भने ।

काठमाडौं महानगरले १० करोड रुपैयाँ र ललितुपर महानगरले १ करोड रुपैयाँ बराबरको साझा यातायातको सेयर खरिद गरेका छन् ।

साझा यातायातका अध्यक्ष कनकमणी दीक्षितले सार्वजनिक यातायातमा साझाले ऐतिहासिक कालखण्ड पार गरेर यस स्थानसम्म आइपुगेको बताए ।

विकसित मुलुकका सहरमा सञ्चालन हुने युरो ४ मापदण्डको ‘सेमी लो फ्लोर’ नेपालमा पहिलो पटक साझा यातायातले सञ्चालनमा ल्याएको दीक्षितको भनाइ छ ।

७० वर्ष पुगेका जेष्ठ नागरिक परिचयपत्र बाहक र ५ वर्ष मुनिका बालबालिकाले निःशुल्क यात्रा गर्नसक्ने यस बसमा ८० जना यात्रु अटाउनसक्ने साझा यातायातका कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेयले बताए ।

नविकरणीय ऊर्जा र वातावरणीय स्वच्छतालाई अभिवृद्धि गर्दै विद्युतबाट चल्ने सहित थप २० वटा बस सञ्चालको तयारी पनि अन्तिम चरणमा पुगेको पाण्डेयले जानकारी दिए ।

यस्तो छ साझाको रुट

साझा यातायातले अपाङ्ग,अशक्त र विरामीहरुका लागि विशेष सेवा दिन यो बस सञ्चालनमा ल्याएको हो। पाटन अस्पतालबाट त्रिपुरेश्वपर–रत्नपार्क–टिचिङ– नारायणगोपाल चोक हुँदै बाँसबारी रुटमा बस गुड्ने छ ।

साझाले पाटन अस्पताल,त्रिपुरेश्वर आखाँ अस्पताल,वीर अस्पताल,कान्ति वाल स्पताल,शिक्षण अस्ताल तथा बासबारी गंगालाल र न्युरो अस्पताल जाने यात्रुलाई लक्षित गरेर बस सेवा संचालन गरेको हो ।

 


क्लिकमान्डु