२०१८ को सुरुवातमै भारतमा सवारी बिक्री उच्च, कुन ब्रान्डका कति बिके ?



एजेन्सी । भारतको सवारी बिक्रीले सन् २०१८ को सुरुवातमै उचाइ लिएको छ । भारतीय सवारी उत्पादक कम्पनी मारुती सुजुकी, महिन्द्रा एन्ड महिन्द्रा र टाटा मोटर्सको बिक्री दोहोरो अंकले बढेको छ ।

२०१८ को फेब्रुअरीमा तिनै कम्पनीको आन्तरिक बजारमा बिक्री वृद्धि दोहोरो अंकको रहेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । त्यस्तै दुईपांग्रेतर्फ पनि बजाज अटो, टिभीएस र हिरो मोटोकर्पको बिक्री उत्साहजनक नै देखिएको छ ।

गत फेब्रुअरीमा मारुती सुजुकीको आन्तरिक बजारमा सवारी बिक्री १४.२ प्रतिशतले बढेर १ लाख ३७ हजार ९ सय पुग्दा महिन्द्रा एन्ड महिन्द्राको बिक्री २० प्रतिशतले बढेर ४८ हजार ४ सय ७३ पुगेको छ ।

गत वर्षको फेब्रअरीमा महिन्द्रा एन्ड महिन्द्राले ४० हजार ५ सय २६ वटा सवारी भारतीय बजारमा बिक्री गरेको थियो । त्यस्तै टाटा मोटर्स गत वर्षको फेब्रुअरीको तुलनामा यो वर्ष सवारी बिक्री ३८ प्रतिशतले बढाउन सफल भएको छ ।

फेब्रुअरीमा टाटाले ५८ हजार ९ सय ९३ वटा सवारी बेचेको छ । टाटाको सवारी बिक्री बढ्नुमा कमर्सियल तथा प्यासेन्जर दुवै सेगमेन्टको बिक्री उत्साहजनक देखिनुलाई मानिएको छ ।

टाटाले फेब्रुअरीमा प्यासेन्जर कारतर्फ ४५ प्रतिशतको वृद्धि हासिल गरेको छ जुन हालसम्मकै धेरै हो । यो तहको बिक्री बढ्नुमा टाटा मोटर्सले ल्याएको नयाँ जेनेरेसनको टियागो, टिगोर, नेक्सन र हेक्जा भएको टाटा मोटर्सको प्यासेन्जर भेहिकल बिजनेस युनिटका प्रमुख मायांक पारीकले बताए ।

गत वर्षको फेब्रुअरीमा टाटाले १२ हजार २ सय ७२ वटा प्यासेन्जर सवारी बिक्री गरेकोमा यो वर्षको सोही अवधिमा १७ हजार ७ सय ७१ वटा बिक्री गर्न सफल भएको छ ।

अर्कोतर्फ फोर्ड इन्डियाको कुल बिक्री सामान्य अंकले गिरावट आई फेब्रुअरीमा २३ हजार ९ सय ६५ मा सीमित भएको छ । तथापि भारतको आन्तरिक बजारमा फोर्डको बिक्री भने ८.४३ प्रतिशतले बढेर ९ हजार ४१ पुगेको छ ।

गत वर्षको सोही अवधिमा फोर्डले भारतीय बजारमा ८ हजार ३ सय ३८ वटा प्यासेन्जर कार बिक्री गरेको थियो । भारतको सबैभन्दा ठूलो कार उत्पादक कम्पनी मारुती सुजुकी इन्डियाको २०१८ फेब्रअरीको समग्र बिक्री अहिलेसम्मकै धेरै १५ प्रतिशतले बढेको छ ।

गत वर्षको फेब्रुअरीमा १ लाख ३० हजार २ सय ८० कार बिक्री गरेको मारुती सुजुकीले यो वर्षको सोही अवधिमा १ लाख ४९ हजार ८ सय २४ कार बिक्री गरेको छ ।

मारुती सुजुकीको बिक्री बढ्नुमा स्विफ्ट, स्टिलो, डिजायर र बलेनोले पाएको लोकप्रियतालाई कारक मानिएको छ । त्यस्तै मारुती सुजुकीको युटिलिटी सवारीको बिक्री पनि १३ प्रतिशतले बढेर २० हजार ३ सय २४ पुगेको छ । कम्पनीको युटिलिटी सवारीमा जिप्सी, ग्रान्ड भिटारा, इर्टिगा, एस–क्रस र कम्प्याक्ट एसयुभी भिटारा ब्रजा रहेका छन् ।

कमर्सियल सवारीतर्फ हिन्दुजा ग्रुप अन्तर्गतको अशोक लेल्यान्डको २०१८ को फेब्रअरीमा समग्र बिक्री हालसम्मकै धेरै २९ प्रतिशत भएको छ । फेब्रुअरीमा अशोक लेल्यान्डले १८ हजार १ सय ८१ वटा सवारी बिक्री गरेको छ । त्यस्तै महिन्द्राको कमर्सियल सवारी बिक्री सोही महिनामा २८ प्रतिशतले बढेर २० हजार ९ सय ४६ पुगेको छ ।

टाटा मोटर्सको भारतीय बजारको बिक्री २०१८ को फेब्रुअरीमा ३६ प्रतिशतले बढेर ४१ हजार २ सय २२ भएको छ । जब कि गत वर्षको सोही अवधिमा टाटाले ३० हजार ४ सय ७ वटा सवारी बिक्री गरेको थियो । कमर्सियल सवारीको बिक्री बढ्नुमा पूर्वाधारको विकास, कोइलाको ट्रान्सपोर्ट बढ्नु र पेट्रोलियम क्षेत्रमा गाडीको मागलाई आधार मानिएको छ ।

दुईपांग्रेतर्फ पनि उत्साहजनक बृद्धि

दुईपांग्रे सवारीतर्फ बजाज अटोको समग्र बिक्री यो फेब्रुअरीमा ३१ प्रतिशतले बढेर ३ लाख ५७ हजार ८ सय ८३ पुगेको छ । गत वर्षको सोही अवधिमा बजाजले २ लाख ७३ हजार ५ सय १३ वटा दुईपांग्रे सवारी बिक्री गरेको थियो ।

बजाज अटोको भारतीयको आन्तरिक बजारमा बिक्री ३५ प्रतिशतले बढेको छ । गत वर्ष १ लाख ५९ हजार १ सय ९ वटा दुईपांग्रे सवारी गरेकोमा यो वर्षको फेब्रुअरीमा आन्तरिक बजारमा २ लाख १४ हजार २३ वटा बिक्री गरेको छ ।

टिभीएस मोटरको भारतीय बजार दुईपांग्रेको बिक्री फेब्रुअरीमा ३३.५ प्रतिशतले बढेर २ लाख ३० हजार ३ सय ५३ पुगेको छ । गत वर्षको सोही अवधिमा टिभीएसले १ लाख ७२ हजार ६ सय ११ वटा दुईपांग्रे सवारी बिक्री गरेको थियो ।

त्यस्तै हिरो मोटोकर्पको बिक्री पनि २० प्रतिशतले बढेर ६ लाख २९ हजार ५ सय ९७ वटा पुगेको छ । गत वर्षको फेब्रुअरीमा हिरोले भारतीय बजारमा ५ लाख २४ हजार ७ सय ६६ वटा बिक्री गरेको थियो ।


क्लिकमान्डु