के गर्दैछन् अर्थमन्त्री डा. खतिवडा ? पूरक बजेट आउला ? मध्याबधी समीक्षा कहिले ?




काठमाडौं । डा. युवराज खतिवडा अर्थमन्त्रीमा नियुक्त भएको ५ दिन भएको छ । उनी फागुन १४ गने अर्थमन्त्री बनेका थिए ।

समयका हिसाबले यो ज्यादै थोरै हो । तर, डा. खतिवडाले प्रयोग गर्ने गरेको शब्द सापटी लिएर भन्ने हो भने उनीसँग गर्दै गरौंला भनेर भाका राख्ने समय छैन । अर्थात काम गरेर देखाइहाल्नु पर्नेछ ।

संबिधानले जेठ १५ गते बजेट ल्याउनै पर्ने बाध्कारी ब्यवस्था गरेको छ । त्यसकारण आगामी आर्थिक बर्षको बजेट ल्याउन अब उनीसँग ३ महिना मात्रै समय बाँकी छ । अबको ३ महिनाभित्रमा उनले संघीय सरकार (केन्द्र सरकार) को बजेट ल्याइसक्नु पर्नेछ ।

बाम गठबन्धनले चुनाबी घोषणापत्र मार्फत आर्थिक सम्बृद्धि र विकासको सपना बाढेको छ । गठबन्धनको बहुमत आएको पनि छ । त्यसकारण अब सरकारले आफ्नो चुनाबी घोषणापत्र अनुसारको बजेट कार्यक्रम ल्याउनु पर्छ । यस्तो कार्यक्रम केन्द्र सरकार सहित प्रदेश सरकार र स्थानीय तहले पनि ल्याउनु पर्छ । किनभने केन्द्र, प्रदेश र स्थानीय तहमा बाम गठबन्धनको बहुमत छ ।

चालु आर्थिक बर्षको बजेट आएको ८ महिना बित्न लागेको छ । सरकारले चालु आर्थिक बर्षको ६ महिना सकिएपछि गर्ने गरेको बजेटको मध्याबधी समीक्षा गरिएको छैन । २०६६ साल चैत ६ गने गभर्नरमा नियुक्त हुँदा डा. खतिवडा सो आर्थिक बर्षको मौद्रिक नीतिको मध्याबधी समीक्षामा सहभागी भएका थिएनन् । यो बर्षको पनि आफूले नल्याएको र आफूले अहिलेसम्म कार्यान्वयन गर्न नपाएको बजेटको मध्याबधी समीक्षामा उनले भाग लिन्छन् कि लिदैनन् भन्ने अर्काे प्रश्न पनि उब्जिएको छ ।

मध्याबधी समीक्षा कहिले ?
मध्याबधी समीक्षाको तयारी अन्तिम अबस्थामा पुगको अर्थमन्त्रालयका प्रवक्ता अर्जुन प्रसाद पोखरेल बताउँछन् । अर्थमन्त्री डा. खतिवडाले बजेटको मध्याबधी समीक्षाको काम तत्काल सिध्याउन निर्देशन दिएका प्रवक्ता पोखरेलको भनाइ छ ।

‘अर्थमन्त्रीज्यूले सबैभन्दा पहिला बजेटको मध्याबधी समीक्षाको काम सिध्याउनुस् भन्नुभएको छ, हामीले तयारी अन्तिम अबस्थामा पुर्याएका छौं, सम्भबतः आगामी साता मध्याबधी समीक्षा हुन्छ,’ पोखरेलले क्लिकमाण्डूसँग भने ।

के गर्दैछन् अर्थमन्त्री ?
हुन त डा. खतिवडा अर्थमन्त्री बनेको लामो समय भएको छैन । तर, पनि योबीचमा उनले के गरे भन्ने प्रश्न भने चासोपूर्ण भएको छ ।

प्रवक्ता पोखरेल अर्थमन्त्री डा. खतिवडाले महाशाखागत रुपमा ब्रिफिङ सुनिरहेको बताउँछन् ।

‘यसबीचमा उहाँले महाशाखागत रुपमा ब्रिफिङ सुनिरहनु भएको छ, यो काम करिब सकिएको छ, त्यसलगत्तै बजेको मध्याबधी समीक्षा गर्नुपर्नेछ, त्यो सकिएपछि आगामी आर्थिक बर्षको बजेट बनाउन लाग्नुपर्ने भएकोले उहाँको ब्यस्तता यस्तै कार्यमा बढी छ,’ पोखरेल भन्छन् ।

आउँला त पूरक बजेट ?
यो बजेट एमाले नेता बिष्णु पौडेल अर्थमन्त्री हुँदा ल्याइएको बजेटको निरन्तरता हो । पौडेलपछि कृष्णबहादुर महरा अर्थमन्त्री बनेका भएपनि निर्वाचन आचार संहिता लागेका कारण नयाँ कार्यक्रम नराखी बजेट ल्याएका थिए । बाम गठबन्धनकै अर्काे प्रमुख घटक माओबादी केन्द्र नेतृत्वको सरकारले बजेट ल्याएको भएपनि एमाले प्रतिपक्षमा थियो । अहिले बनेको एमाले नेतृत्वको सरकार र एमालेको तर्फबाट अर्थमन्त्री बनेका डा. खतिवडाले पूरक बजेट ल्याउँछन् वा अबको केही महिनाको लागि यही बजेटलाई निरन्तरता दिन्छन् भन्ने अर्काे प्रश्न खडा भएको छ ।

पूरक बजेटको संकेत आफूले नपाएको प्रवक्ता पोखरेल बताउँछन् । अहिले अर्थमन्त्री डा. खतिवडा अर्थमन्त्रालय अन्तरगतका महाशाखागत ब्रिफिङ सुनिरहेको र आफूहरुलाई मध्याबधी समीक्षाको तयारी गर्न भनिएकोले त्यसपछिका कामबारे यसै बताउन नसकिने पोखरेलको भनाइ छ ।

‘उहाँ अहिले महाशाखागत ब्रिफिङमा ब्यस्त हुनुहुन्छ, हामीलाई बजेटको मध्याबधी समीक्षाको काम छिटो सक्न भन्नुभएको छ, त्यसपछि पूरक बजेट ल्याउने वा नल्याउने भन्ने बिषयमा केही नभन्नुभएकोले यस्तै हुन्छ भनेर मैले भन्न सक्दिँन,’ पोखरेल भन्छन् ।


क्लिकमान्डु