उत्पादन सुरु भएको २५ बर्षपछि उदयपूर सिमेन्ट महोत्सवमा प्रचार गर्दै




उदयपूर । जिल्लाको सदरमुकाम गाईघाटमा मंगलबारबाट सुरु भएको प्रथम प्रदेश महोत्सवमा उदयपुर सिमेन्टको उत्पादन गैडा सिमेन्ट आकर्षणको केन्द्र बनेको छ । आफ्नो २५ बर्षे इतिहासमा उदयपुर सिमेन्टले पहिलो पटक महोत्सवमा स्टल राखेर प्रचार प्रसार गरेको हो ।

सिमेन्ट उद्योगले आफ्नो उत्पादनको प्रचार प्रसार गर्ने विक्री विभागका दुई जना अधिकृतलाई खटाएको विक्री विभाग प्रमुख रामबहादुर जिसीले बताए । विक्री विभाग अन्तरगतका वरिष्ठ अधिकृत कुवेर काफ्ले र अधिकृत प्रकास पोखरेल दिनभर गैडा छाप सिमेन्टको बारेमा जिज्ञासा मेटाउन व्यस्त थिए ।

‘उदयपुरको महोत्सव भएकाले गैडा छाप सिमेन्टको बजार विस्तार गर्न सहयोग पुगोस भनेर हामी मुख्य प्रयोजक बनेका हौं, जिल्लामा पहिलो पटक संचालन हुने महोत्सवमा उदयपुर सिमेन्ट उद्योगले प्रयोजन गर्नुले विशेष महत्व राख्दछ,’ जिसीले भने ।

स्टलमा भेटिएका बरिष्ठ अधिकृत काफ्लेले जानकारी लिन आउने ग्राहकलाई परामर्श सेवा दिने बताए ।

‘धेरै जनाहरु सिमेन्टको खरिद विक्री प्रक्रियाबारे जानकारी लिन आउने गरेका छन्, उदयपुर जिल्ला बाहिरका सर्वसाधरणहरुले उक्त स्थानमा कुन डिलरमार्फत सिमेन्ट पाईन्छ, सिमेन्टको बजार मूल्य कति छ जस्ता जानकारी लिने गरका छन्,’ काफ्लेले भने ।

उदयपुर जिल्लामा गैडाछाप सिमेन्टको ४५ वटा डिलर भएपनि पूर्वको धरान लगाएतका स्थानमा डिलर नभएकोले उक्त स्थानमा सिमेन्ट प्राप्त गर्ने विधि बताईने गरेको अर्का अधिकृत प्रकाश पोखरेलले बताए । विगत बर्षको तुलनमा उत्पादनमा सुधार गरेसगै उदयपुर सिमेन्ट उद्योगले माग अनुसारको सिमेन्ट उपलब्ध गराउन सक्ने दावी अधिकृत पोखरेलको छ । हाल उदयपुर सिमेन्टको उद्योग मूल्य प्रतिबोरा ९०८ रुपैयाँ रहेको छ ।

महोत्सवलाई आकर्षण थप गर्नका लागि दैनिक स्थानीय तथा राष्ट्रिय कलाकारहरुले सांगीतिक प्रस्तुती दिने गरेका छन् । महोत्सवमा वालउद्यान लगात विभिन्न मनोरञ्जनात्मक खेलहरु संचालन गरिएको छ । बुधबार बरिष्ठ गायक यम बराल, गायक दुर्गेश थापा र स्थानीय गायक अशोक शिवाको साङ्गेतिक प्रस्तुती रहेको थियो । त्यसैगरी युनिर्भसल डान्स गु्रप ईटहरीका कलाकारहरुको बेजोड प्रस्तुतीले मेलाको रौनकता बढाएको स्थानीय सुस्मा थापाले बताईन ।

बिहिबार हुने कार्यक्रमको लागि गायक श्रीकृष्ण लुईटेल, डम्बर नेपाली र सिमान्त सन्तोष घिमिरेले प्रस्तुती दिने बाणिज्य संघका सचिव दिनेश श्रेष्ठले जानकारी दिए । अर्ना वियरको प्रायोजनमा विहिवारको साङ्गेतिक प्रस्तुती हुने जनाईएको छ ।

‘आऔ जुटौ गर्न भाषा कला र संस्कृतिको उत्थान, बढाउन उद्योग, व्यापार, व्यवसाय र पर्यटन’ भन्ने नाराका साथ फागुन १५ देखि २५ गतेसम्म प्रदेश महोत्सव संचालन हुने छ । मेलाको आकर्षककोरुपमा कृषि पर्दशनी, उद्योग व्यापार, पर्यटन, लघुउद्यम, सूचना प्रविधिको प्रर्दशनी रहेको छ ।

व्यापारिक एकता, सदभाव, स्थानीय व्यापार, उद्योग कलकारखाना, कृषि क्षेत्रको उत्पादन र व्यवसायिकतालाई मुख्य लक्ष्य राखी मेलाको आयोजना गरिएको हो । व्यापारीहरुको एकताको आधारकोरुपमा लिईएको महोत्सवमा विभिन्न स्थानबाट डेढ सय बढि स्टलहरु राखिएका छन् । महोत्सवमा स्थानीय उत्पादन, कृषि सामग्री, अटो मोवाईलस, खाद्यान्न लत्ता कपडा लगायतको स्टल राखिएको छ ।

१० दिनसम्म संचालन हुने महोत्सव उदयपुर लगायत छिमेकी जिल्लाहरु सिराह, सप्तरी, खोटाङ, भोजपुर, सुनसरी, मोरङ लगायतबाट अवलोकन हुने आशा राखिएको छ । स्थानीय व्यापार प्रवद्र्धनको लागि भन्दै आयोजना गरिएको महोत्सवबाट एक करोड पचास लाख बढिको व्यापार गर्ने उद्देश्य राखिएको छ ।


क्लिकमान्डु