त्रिदेशीय कार ¥यालीमा नेपाललाई शिल्ड




काठमाडौं । नेपाल, भारत र भुटानबीचको छैटौँ हिमालय ट्राइनेशन त्रिदेशीय ‘कार ¥याली’ मा नेपाली सहभागीले पहिलो पटक उत्कृष्ट शिल्ड हात पारेका छन् ।

भारतको दार्जिलिङस्थित भानुपार्कमा बुधबार सम्पन्न प्रतियोगितामा चितवनको टाटा कारका लागि आधिकारिक विक्रेता आरवी मोटर्सका सञ्चालकद्वय विमल पौडेल र राजेन्द्र गैरले १३ सय सिसी कम क्षमताको प्रतिस्पर्धामा उत्कृष्ट भई शिल्ड र ट्रफी जितेका हुन् ।

प्रतियोगिताको उपाधि भने भारतका एसके अगजर अलि र मोहमद उस्ताफको जोडीले हात पारेका थिए ।

निर्धारित साढे १६ सय किलोमिटर दूरी समय, दूरी र गतिको आधारमा सबैभन्दा सुरक्षित यात्रा गर्दै भारत बंगालको तर्फबाट सहभागी अलि र उस्ताफ विजयी भएका हुन् ।

भारतकै सिलगुडीबाट छ दिन अगाडि शुरु भएको ¥याली सिलगुडी हुँदै नेपालको बिर्तामोड, दमक, इटहरी, लहान, बर्दिवास, सौराहाबाट पुनः भारतको मूर्तीय हुँदै भुटानको फुन्सुलिङ र दार्जिलिङमा पुगेर समापन गरिएको थियो ।

विजेतालाई दार्जिलिङ स्टेट प्रहरी प्रमुख अखिलेस चतुर्वेदीले एक लाख रुपैयाँ भारुसहित शिल्ड र ट्रफी प्रदान गरेका थिए ।

टोलीमा नेपालको तर्फबाट चितवनका लागि स्कोडा कारको आधिकारिक विक्रेता युरो अटोका प्रबन्ध निर्देशक रवीनकुमार श्रेष्ठ र अमित सिलवालको जोडी, टिभिएस बाइकको चितवनको आधिकारिक विक्रेता मालाश्री मार्टसका सञ्चालक भीमसेनकुमार श्रेष्ठ र अमित श्रेष्ठको जोडी प्रतिष्पर्धामा सहभागी भएको चितवनस्थित कार्यक्रम संयोजक राजनकुमार पियाले जानकारी दिए ।

टोलीमा नेपाल अटोमोबाइल्स एशोसिएसन प्रदेश नं १ का संयोजक कविन श्रेष्ठ, उद्योग वाणिज्य संघ चितवनका प्रथम उपाध्यक्ष सुमनकुमार श्रेष्ठ, पूर्वी चितवन पत्रकार संघका उपाध्यक्ष राजेन्द्र आचार्य, कार्यसमिति सदस्यहरु राजेन्द्र ओली र सिद्धार्थलाल चुके, प्रशान्तकुमार पिया, धीरज कार्की, सरोज अर्यालसहितको टोली सहभागी थियो ।


क्लिकमान्डु