खोक्रा नारा लगाएर सत्तामा पुगेको बाम गठबन्धनले देशको विकास गर्दैनः पूर्वअर्थमन्त्री डा.महत



काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्व अर्थमन्त्री डा रामशरण महतले बाम गठवन्धनसँग आर्थिक एजेण्डालाई अघि बढाएर मुलुकलाई समृद्ध बनाउने एजेण्डा नभएको र उनीहरुबाट धेरै अपेक्षा गर्न नहुने बताएका छन् ।

‘मुलुकलाई समृद्ध बनाउनका लागि राजनीतिक नेतृत्वमा सुस्पष्ट सोच र दृष्टिकोण आवश्यक पर्छ । त्यसलाई कार्यान्वयन गर्न कहिलेकाँही कठोर र अलोकप्रिय निर्णय पनि गर्नुपर्ने हुन्छ ।’ धादिङबेसीमा शुरु भएको महोत्सवको उद्घाटन गर्दै नेता महतले भने- ‘तर सँधै अस्थिर र सस्ता प्रियतावादी खोक्रा नारा दिएर सत्तामा पुगेको बाम गठबन्धनसँग त्यो साहस र आँट नै छैन ।’

राजनीतिक संक्रमणकाल वा अन्य कुनै बाहनाबाजी गर्ने छुट नयाँ सरकारलाई नभएको उनले बताए । क्षमता र सोच भए गरेर देखाउने अवसर प्राप्त भएको उनको भनाइ थियो ।

विगतमा कांग्रेस नेतृत्वको सरकारले साहसिक र कठोर निर्णय गरेर अर्थतन्त्रलाई आधुनिकतातर्फ अघि बढाएकोले हिंसात्मक द्वन्द्व र राजनीतिक संक्रमणकालका बीच पनि गौरव गर्न लायकका उपलब्धिहरु हासिल भएको दाबी गर्दै महतले आर्थिक समृद्धिका लागि काम गर्ने संस्कृतिको विकास गर्नुपर्नेमा जोड दिए ।

महतका अनुसार राज्यले धान्न नसक्ने वितरणमूखी सस्ता प्रियतावादी काम भन्दा अर्थतन्त्रको दीर्घकालिन विकास हुने ठोस काम गर्नेतर्फ ध्यान दिनुपर्छ । रोजगारी सिर्जना हुने, लगानी बढ्ने, आर्थिक गतिविधिहरुको विस्तार हुने ठोस काममा सबैको ध्यान जानुपर्छ ।

युवाहरुलाई सरकारसँग धेरै आशा नगरी स्वदेशमै र आफ्नो गाउँमै हुनसक्ने व्यवसाय गर्न उनले आग्रह गरे ।

‘कृषि, पशुपालन र तरकारी खेती गरेर कतिपय युवाहरुले विदेशमा आर्जन गर्नेभन्दा धेरै आम्दानी गरिरहेका छन । त्यसैले स्वदेशमै मेहनत गरौं, स्वदेशमै नङग्रा खियाउन थालौं, पाखुरा बजार्न थालौं । कठोर मेहनत नगरी कुनैपनि मुलुक समृद्ध बनेको छैन ।’ उनले भने ।

युवा स्वरोजगारीको लागि एक घर एक व्यवसायको सोचले काम गर्नु उपयुक्त हुने विचार पनि उनले व्यक्त गरे ।

साना तथा मझौला व्यवसायी महासंघ धादिङको आयोजनामा शुरु भएको उक्त महोत्सवमा महासंघका संस्थापक अध्यक्ष जंगबहादुर श्रेष्ठ, निलकण्ठ नगरका मेयर भीम ढुंगाना, कांग्रेस पार्टीका जिल्ला सभापति रमेश धमला, पूर्वमन्त्री कल्पना धमला तथा विभिन्न पार्टीका स्थानीय नेता तथा कार्यकर्ताहरुले पनि बोलेका थिए ।

काठमाडौंको तरकारी आपूर्तिको झण्डै २० प्रतिशत हिस्सा ओगट्ने धादिङ जिल्लामा युवाहरुलाई आधुनिक कृषितर्फ आकर्षित गर्ने मात्र होइन, स्थानीय तहको चौतर्फी विकास गर्ने सोचले महोत्सव आयोजना गरिएको आयोजकले जानकारी दिएका छन् । महोत्सव ११ दिनसम्म चल्ने जनाइएको छ ।


क्लिकमान्डु