विगतमा कर्मचारीलाई शौचालयमा थुनेका मातृका यादवले मन्त्रीको पदबहालीमा गरे क्रमभंग  



काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले पदबहालीको क्रममा क्रमभंग गरेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रीले पदबहालीको क्रममा एउटा निर्णयमा हस्ताक्षर  गर्नुपर्ने चलन छ ।  उनले ढुवानी पारबहन सम्बन्धी निर्णयमा हस्ताक्षर गर्नुथियो । तर,उनले आफुले पढेर मात्र हस्ताक्षर गर्ने अडान लिए ।

उनले पदबहालीपछि मन्त्रालयको काम कारबाहीलाई जनमुखी र प्रभावकारी तुल्याउन सामूहिक सहकार्य हुनुपर्ने बताए ।

आज सिंहदरबारमा पदभार ग्रहणपछि मन्त्रालयका कर्मचारीलाई निर्देशन दिँदै उनले समन्वयका साथ अधिकार र कर्तव्यबोधलाई ध्यान दिएर देश र जनताका पक्षमा काम गर्नुपर्ने खाँचो औँल्याए ।

‘भाषण गर्ने तर काम नगर्ने प्रवृत्ति पुरानै भएकाले त्यसको अन्त्यगर्दै जति बोलिन्छ त्यति नै काम गर्नेगरी योजनाबद्ध कार्यक्रम ल्याउछु,’ मन्त्री यादबले भने ।

‘अहिले भाषण हैन काम गर्ने बेला हो, मलाई गलत हुनबाट रोक्नुहोला, बेलैमा सजक गराउनुस्, हामी सबै मित्रवत् व्यवहारका साथ मन्त्रालयलाई नमूना बनाउनेतर्फ अघि बढौँ’, मन्त्री यादबले भने ।

मन्त्री यादबले आफू मित्रवत् व्यवहारका साथ मन्त्रालयको काम कारबाही सम्पादन गर्ने उल्लेख गर्दै अनुशासन तोडेर गढबड गर्नेका लागि मात्र आफू खतरा भएको र त्यसका लागि कुनै सम्झौता नगर्ने स्पष्ट पारे ।

संविधानको निर्देशअनुसार समाजवादको आधार तयार गर्नेगरी काम गर्ने पनि उनले बताए ।

कार्यक्रममा यसअघि तीन वटा मन्त्रालय समयोजन गरेर गठन भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव क्रमशः चन्द्रकुमार घिमिरे, यामकुमारी खतिवडा र अनिलकुमार ठाकुरले मन्त्रालयको गतिविधिबारे जानकारी गराउँदै एकीकरणपछि मन्त्रालयलाई छरितो र वैज्ञानिक बनाउन लागिपरेको उल्लेख गरे ।

उनीहरुले अहिलेको मुख्य समस्या मुलुकको व्यापार घाटालाई न्यूनीकरण गर्न योजनाबद्ध कार्यक्रम ल्याउने तयारीमा लागेको बताए ।

को हुन् मातृका यादव 

विसं २०३४ मा नेपाल कम्युनिष्ट पार्टी ९चौथो महाधिवेशन० बाट राजनीतिक यात्रा शुरु गर्नुभएका मातृका यादव विसं २०३६/०३८ सम्म सिरहा क्याम्पसमा दुई पटक अनेरास्ववियुको सभापति बने ।

विसं २०३८ मा विद्यार्थीको सातौँ राष्ट्रिय सम्मेलन आयोजक समितिका सदस्य बन्नुभएको मन्त्री यादब त्यसपछि भूमिगत जीवन बिताए ।

जेल जीवन र लामो संघर्ष भोगेका उनले विसं २०३९ मा जेलबाट छुटेपछि पुनःपार्टीमा सक्रिय भए ।  विसं २०४० मा देव गुरूङको नेतृत्वमा विद्यार्थी संगठनमा केन्द्रीय सदस्य र पार्टीमा क्षेत्रीय ब्यूरो सदस्य बने ।

पार्टी पातलो मसाल, मोटो मसाल हुँदै एकता केन्द्र बन्दासम्म मातृका यादव क्रान्तिकारी धारमै सक्रिय थिए ।  विसं २०५०/५१ मा प्रचण्डको नेतृत्वमा रहेको एकता केन्द्रमा उनी संलग्न भए । । विसं २०५९ मा सरकारसँग दोस्रो वार्तामा वार्ताटोलीको सदस्य बने ।

अन्तरिम व्यवस्थापिका–संसद्मा वनमन्त्री बन्नुभएका उनी तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालसँगको विवादका कारण मन्त्रीबाट राजीनामा दिए ।

विसं २०६४ मा संविधानसभामा समानुपातिकबाट सभासद् बने ।  पार्टीबाट अलग भई सभासद्बाट पनि राजीनामा दिएर उनी २०६५ माघ २९ गते माओवादी पुनःगठन गर्ने भन्दै नेकपा (माओवादी) को संयोजक भएर आन्दोलनमा अघि बढे । यादवले दुई वर्ष अगाडि माओवादी केन्द्रसँग पार्टी एकीकरण गरेपछि मधेशको इञ्चार्ज पनि थिए ।  धनुषा क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित यादव मधेशमा प्रभावकारी नेताका रुपमा चिनिन्छन् ।

मन्त्री यादवले त्रिभूवन विश्वविद्यालयबाट शिक्षा शास्त्रमा प्रविणता प्रमाणपत्र  सम्मको शिक्षा हासिल गरेका छन् । राससको सहयोगमा


क्लिकमान्डु