नबनियुक्त अर्थमन्त्री डा. खतिवडा ६ महिनाभित्र सांसद बन्नुपर्ने




काठमाडौं । नवनियुक्त अर्थमन्त्री डा. युवराज खतिवडा ६ महिनाभित्र संघीय संसदको सदस्य (सांसद) बन्नुपर्ने भएको छ । नेपालको संविधान २०७२ ले संघीय संसदको रुपमा प्रतिनिधिसभा र राष्ट्रियसभालाई लिएको छ ।

डा. खतिवडा राष्ट्रपतिले राष्ट्रियसभामा नियुक्त गर्ने ३ जना सदस्यमा नियुक्त भएपनि सर्बाेच्च अदालतले तत्कालको लागि संसद पदको सपथ नगराउन अन्तरिम आदेश दिएको छ । सर्बाेच्चले यो बिषयमा थप छलफल गर्न भन्दै फागुन २० गते दुबै पक्षलाई बोलाएको छ ।

नेपालको संबिधानको धारा ७८ मा संघीय संसदको सदस्य नभएको ब्यक्ति पनि मन्त्रीमा नियुक्त हुने सक्ने ब्यवस्था छ । तर, यस्तो ब्यक्ति मन्त्री बनेको ६ महिनाभित्र संघीय संसदको सदस्य बनिसक्नुपर्नेछ ।

यसरी सो ६ महिनाभित्र संघीय संसदको सदस्य बन्न नसकेको ब्यक्ति सो संसद कायम रहेसम्म अर्थात संसदको अर्काे निर्वाचन भएर नयाँ ब्यवस्थापिका गठन नभएसम्म पुनः मन्त्री बन्न पाउने छैन ।

नेकपा एमालेले २०५१ सालमा अल्पमतको सरकार बनाउँदा यसैगरी संसद नभएका ब्यक्ति पोखराका हरि पाण्डेलाई मन्त्री बनाएको थियो । सो बेला नेपालको संबिधान २०४७ कार्यान्वयनमा थियो । सो संबिधानमा पनि संसद सदस्य नभएको ब्यक्ति बढीमा ६ महिना मात्रै मन्त्री बन्न पाउँथ्यो । सो समयमा पनि तत्कालिन मन्त्री पाण्डे ६ महिनाभित्र सांसद बन्न नसकेपछि मन्त्रीबाट हटेका थिए ।

तर, डा. खतिवडाको विषय भने अदालतमा बिचाराधिन छ । उनलाई सर्बाेच्चको अन्तिम आदेश आउँदा सांसद बन्ने बाटो खुलेमा उनी सांसद हुनेछन् र मन्त्री बन्ने हद म्याद हुने छैन । सर्बाेच्चले अन्तरिम आदेशलाई नै निरन्तरता दिने गरी अन्तिम फैसला गरेमा संबिधानको अहिलेको ब्यवस्था अनुसार उनी ६ महिना मात्रै अर्थमन्त्री बन्न पाउने छन् । सर्बाेच्चले उनलाई अहिले सांसद बन्न रोक्यो भने पनि उनी अर्काे विकल्पबाट ६ महिनाभित्र सांसद बने भने पनि उनलाई मन्त्री बनिरहन संबैधानिक बाटो खुल्ला हुनेछ ।


क्लिकमान्डु