तपाइको खातामा लाभांश जम्मा भयो ? किन सबैको खातामा जम्मा भएन ?

क्लिकमान्डु २०७४ माघ २२ गते १४:३१ मा प्रकाशित


काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले आफ्नो वेबसाइटमा डिभिडेन्ट रिजेक्ट लिष्ट २०७४ भनेर एउटा विवरण राखेको छ । सो विवरणमा बैंकका झण्डै ५ हजार सेयरधनीको खातामा लाभांश जम्मा नभएको उल्लेख गरिएको छ ।

बैंकले ४ हजार ९ सय ६८ जना सेयरधनीको खातामा लाभांश जम्मा नभएको उल्लेख गरेको छ । यति धेरै सेयरधनीको खातामा लाभांश किन जम्मा भएन ?

बैंकले यसको कारण खुलाएको छ । केही सेयरधनीले गलत खाता नम्बर दिएको, केहीले बन्द भएको खाता नम्बर दिएको, केहीले हुँदै नभएको खाता नम्बर उल्लेख गरेको, केहीले निष्क्रिय खाता नम्बर दिएको, केहीले दिएको खाता नम्बर नै हराएको, केहीले खातावालाको नाम नै गलत दिएको, केहीले आफ्नो सदस्य नभएको बैंक तथा वित्तीय संस्थाको खाता नम्बर दिएको जस्ता कारण उल्लेख गरिएको छ ।

नेपाल इन्भेष्टमेन्ट बैंकका सेयरधनीको मात्रै बिषय होइन । अन्य कम्पनीले प्रदान गरेको लाभांश पनि सबै सेयरधनीको खातामा जम्मा भएको छैन । अहिले कम्पनीहरुले प्रदान गर्ने नगद लाभांश तथा बोनस सेयर सेयरधनीको खातामा जम्मा हुने ब्यवस्था छ । गत आर्थिक बर्षको नाफाबाट अधिकांश बैंक वित्तीय संस्थाले बोनस सेयर दिएको भएपनि इन्भेष्टमेन्ट बैंकसँगै ग्लोबल आइएमइ बैंक लगायतका केही संस्थाले नगद लाभांश पनि दिएका थिए ।

कारण जे दिइए पनि सबै सेयरधनीको खातामा लाभांश जम्मा भएको छैन । यसमा विशेष गरेर सेयरधनी आफ्नै र सम्बन्धित कम्पनीको कमजोरी देखिएको छ । र, नियामक निकायको कमजोरी त छदैछ ।

लगानीकर्ताको कमजोरीः लाभांश सम्बन्धित सेयरधनीको बैंक खातामा जम्मा नहुनुमा पहिलो कमजोरी लगानीकर्ताकै देखिएको छ । आफ्नो डिम्याट खाता अध्यावधिक नगर्ने र आफ्नो विवरण सही रुपमा कम्पनीलाई नदिनु नै लगानीकर्ताको प्रमुख कमजोरी हो । आफ्नो सबै विवरण सही रुपमा कम्पनीलाई दिएमा कम्पनीहरुले प्रदान गर्ने बोनस सेयर र नगद लाभांश सम्बन्धित सेयरधनीको खातामा जम्मा हुन्छ ।

कम्पनीको कमजोरीः आफ्ना सेयरधनीको खातामा डिभिडेन्ट जम्मा नुहनु सम्बन्धित कम्पनीको कमजोरी हुदै हो । कुनै पनि कम्पनीका सेयरधनी भनेको सो कम्पनीका मालिक हुन् । आफ्नै मालिकको सम्पूर्ण विवरण नलिनु र नगद लाभांश तथा बोनस सेयर सम्बन्धित सेयरधनीकै खातामा जम्मा पार्ने प्रयास नगर्नु कम्पनीहरुको कमजोरी देखिन्छ ।

सबै कम्पनीसँग आफ्ना सेयरधनीको टेलिफोन नम्बरदेखि इमेल ठेगानासम्म हुन्छ । कम्पनीले आफ्ना सेयरधनीसँग सम्पर्क गरेर विवरण अध्यावधिक गर्नुपर्छ ।

नियामकको कमजोरीः राज्य संयन्त्र अर्थात नियामक निकाय यस्तै कामका लागि बसेका हुन् । उनीहरुले आफूले बनाएको नियमले लक्षितबर्गलाई के कस्तो फाइदा पुग्यो भनेर हेर्नै पर्नेहुन्छ । सरोकारवाला वा आफ्नो नियमन क्षेत्रभित्रका कम्पनी वा निकायसँग विवरण मागेर कहाँनेर के कस्तो कमजोरी भयो, अब कसरी सुधार गर्ने भन्ने जस्ता विषयमा नियामक निकायले विशेष ध्यान दिन जरुरी छ ।

नियामक निकायको कुरा गर्दा यसमा धितोपत्र बोर्डको कमजोरी देखिन्छ । बोर्डले सबै सरोकारवालासँग समन्वय गरेर सेयरधनीकै खातामा नगद लाभांश तथा बोनस सेयर जम्मा हुने ब्यवस्था मिलाउन थप पहल गर्नुपर्ने देखिन्छ ।

सीडीएसको कमजोरीः यसमा सीडीएस एण्ड क्लियरिङ लिमिटेडको पनि कमजोरी देखिन्छ । कुनै लगानीकर्ताको खाता अपेडट भएको छैन भने किन भएन भनेर सीडीएसले खोजी गर्नुपर्छ । उचित कारण भेटिएपछि समस्या समाधानमा सीडीएसले पनि भूमिका निर्वाह गर्नुपर्ने हुन्छ ।

मर्चेन्ट बैंकरको कमजोरीः कम्पनीको सेयर ब्यवस्थापकको जिम्मेवारी मर्चेन्ट बैंकरहरुले गर्दै आएका छन् । त्यही कामको लागि संचालन भएका कम्पनीहरुले सेयरधनीको विवरण अध्यावधिक गर्नुपर्छ ।

समस्या वा कमजोरी पुँजी बजारका सरोकारवालाकै देखिन्छ । सबैभन्दा पहिला सम्बन्धित लगानीकर्ताले आफ्नो सही विवरण दिन आवश्यक हुन्छ भन्छन् नेपाल इन्भेष्टर्स फोरमका महासचिब राजन लम्साल ।

‘कमजोरी देखाउँदै हिड्ने हो भने जोप्रति पनि औला देखाउन सकिएला, समाधान खोज्ने हो भने लगानीकर्ता, नियामक र कम्पनी तथा सीडीएसले सुधारको पहल गरेर केही चनाखो हुने वित्तिकै समस्या सामाधान हुन्छ,’ लम्सालले क्लिकमाण्डूसँग भने ।

ट्वीटरमा हामीलाई फलो गर्नुहोस्

तपाईको प्रतिक्रिया

हाम्रो सिफारिस