गाडीमा धेरै नाफा लिएको भन्ने बिषयमा नाडाले भन्यो: हामीले कहाँ गल्ति गर्यौ ?



काठमाडौं । पछिल्ला दिनमा सवारी साधन बिक्री गर्ने व्यवसायीक फर्ममा भइरहेको अनुगमन र कारवाहीको बिषयमा नाडा अटोमोवाइल एसोसिएसन अफ नेपालले सरकारी टोलीलाई सहयोग गर्ने र मिडियालाई सत्यतथ्य बाहिर नआई समाजमा भ्रम सृजना नगर्न भनेको छ ।

आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागबाट अनुगमन हुँदा कालोबजारी ऐन,२०३२ बमोजिम बढी मुनाफा भयो भन्ने सम्बन्धमा अनुसन्धान गरिरहेको छ । भने केही मिडियाले अनुसन्धानको क्रममा रहेको बिषयलाई प्रभाब पार्नेगरी समाचार बनाएर समाजमा भ्रम उत्पन्न गराएको भन्दै यसो नगर्न अनुरोध गरेको छ ।

नाडाले बिज्ञप्तीमा भनेको छ, ‘नेपाली नागरिकले स्वतन्त्र रुपमा व्यापार व्यवसाय गर्न पाउने संवैधानिक हकको संरक्षण होस् र सर्वसाधारणमा कुनै पनि किसिमको भ्रम उत्पन्न नहोस् भन्ने हाम्रो आशय हो ।’

नेपालमा आयात हुने सवारी साधनमा लाग्ने भन्सार, अन्तः शुल्क, मूल्य अभिवृद्धि करलगायतका राजश्व तिरी कारोवार हुदै आएको छ । त्यसमा लाग्ने प्रत्यक्ष लागत खर्च, बैंकको ब्याज, प्रशासनिक खर्च, बजारीकरण खर्चलगायतका नियमित खर्च जोडि लागत गणना गर्ने प्रचलित सर्वमान्य लेखाको पद्धति बमोजिम गणना गरी सामान्य मुनाफा जोडि बिक्री मूल्य कायम गर्ने गरिएको बिज्ञप्तीमा उल्लेख छ ।

आर्थिक ऐन बमोजिम यसरी गणना गरिएको बिक्री मूल्य प्रत्येक चार/चार महिनामा प्रकाशित गरी सरोकारवाला सबैलाई सुसुचित गराउँदै आएको नाडाले दाबी गरेको छ ।

यसरी कारोवार गर्दै आएका हाम्रा केही सदस्य प्रतिष्ठानहरुको अनुसन्धान हुँदैगर्दा २०३२ सालमा बनेको कालोबजार तथा केही सामाजिक अपराध ऐनको हवाला दिंदै मुलुकी ऐनको ठगीको महलको कसुरमा सजायगर्न प्रहरीलाई लेखी पठाएको भन्ने सम्बन्धमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । बिज्ञप्तीमा भनिएको छ ।


क्लिकमान्डु