विकासका लागि अध्ययन तथा अनुसन्धान केन्द्र चाहिने विज्ञहरुको भनाई



काठमाडौं । नेपालको आर्थिक तथा सामाजिक विकासका लागि अध्ययन तथा अनुसन्धान केन्द्रको खाँचो रहेको विज्ञहरुले बताएका छन् ।
इन्टिच्यूट फर इन्टिग्रेटेड डेभलपमेन्ट स्टडिजले आयोजना गरेको ह्वाई थिंक ट्यांक म्याटरः मेकिङ्ग पिपुल सेन्टर्ड पब्लिक पोलिसी विषयक अन्तरक्रिया कार्यक्रममा वक्ताहरुले नेपालको विकासमा अध्ययन तथा अनुसन्धान केन्द्रहरुको आवश्यकता रहेको बताए ।

कार्यक्रममा बोल्दै राष्ट्रिय योजना आयोजका पूर्व उपाध्यक्ष डा. युवराज खतिवडाले सार्वजनिक नीतिलाई अबको समयमा विश्व मानचित्रको आधारमा हेर्नुपर्ने बताए । उनले आफैं अध्ययनशिल हुनुपर्ने भन्दै नेपालका राजनीतिज्ञहरुलाई विज्ञहरुले विषयगतरुपमा जानकारी र सचेत गराउनुपर्ने बताए ।

‘हामी आफैं अध्ययनशिल छैनौ कसले पोलिटिसियनलाई ब्रिफ गर्ने, उनले भने ।

डा खतिवडाले गैरसरकारी र अन्तराष्ट्रिय गैरसरकारी संस्थाहरु तथा थिंक ट्याकहरुलाई फरक व्यवहार गरिनुपर्ने बताए । थिंक ट्यांकको लागि सरकारले नै आधार तयार गर्नुपर्ने उनको भनाई थियो ।

कार्यक्रममा पूर्व मन्त्री डा गणेश शाहले अनुसन्धान संस्कृतिको विकासगर्न आवश्यक रहेको भन्दै त्यसको लागि विभिन्न क्षेत्रमा काम गरेका व्यक्ति तथा विज्ञहरुको सहभागीतामा थिंक ट्यांक बनाउनुपर्ने बताए ।

एशियन इन्टिच्यूट अफ टेक्नोलोजीका प्रोफेसर एमिरेट्स डा राम मनोहर श्रेष्ठले नीति निर्माताहरुले सँधै पुराना तथ्य र तथ्यांकमा आधारित भएको कामगर्ने गरेको गुनासो गरे । उनले विभिन्न तोकिएका विषय क्षेत्रहरुमा लगनशिल भएर अध्ययन तथा अनुसन्धान गर्ने किसिमको केन्द्र बनाउनुपर्ने बताए ।


क्लिकमान्डु