अख्तियारले चिठी लेख्दै भन्योः स्थानीय तहमा ब्यापक भ्रष्टाचार छ, राम्ररी हेर्नु




काठमाडौं । स्थानीय तहमा जनताको काम नभएको, जनप्रतिनिधिले भ्रष्टाचार नियन्त्रण गर्न नसकेको, कर्मचारी समेत प्रर्याप्त नभएको भन्ने गुनासो बढीरहेको बेला अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ती निकायमा नै अनुसन्धान केन्द्रित गरेको छ ।

आयोगको अध्ययनअनुसार संस्थागत रुपमा भ्रष्टाचार हुने निकायका रुपमा स्थानीय तह नै अग्रस्थानमा देखिएको छ । शिक्षा र स्वास्थ्य क्षेत्रपछि बढी भ्रष्टाचार हुने निकायमा स्थानीय तह रहेको आर्थिक वर्ष २०७३÷७४ को वार्षिक प्रतिवेदनमा समेत उल्लेख गरिएको छ ।

स्थानीय तहको निर्वाचन पछि पनि स्थानीय तहमा भ्रष्टाचारको मात्रा बढी नै रहेको आयोगको बुझाई छ । स्थानीय तहमा हुने विकास निर्माणमा जनप्रतिनिधिबाट कमजोरी हुने भएकाले उनीहरुको काममा निगरानी राख्न आयोगले मातहतका कर्मचारीलाई निर्देशन दिएको छ ।

प्रदेश सरकार गठन भइरहँदा स्थानीय तहमा हुने विकास आयोजनामा अनियमितता बढेको गुनासो बढेपछि आयोगले जनप्रतिनिधिको काम र उनीहरुको आर्थिक गतिविधिका बारेमा पनि निगरानी राख्न निर्देशन दिएको हो । त्यस्तो निर्देशनबारे बिहिबार मात्रै आयोगका प्रमुख आयुक्त दीप बस्न्यातले बुटवलको एक कार्यक्रममा खुलासा गरेका थिए ।

आयोगको नयाँ भवनको उद्घाटनको क्रममा प्रमुख बस्न्यातले जनप्रतिनिधिका काम कारवाहीमा निगरानी गर्न निर्देशन दिएको र भ्रष्टाचारजन्य गतिविधिमा संलग्न हुने जो कोहीलाई कारवाहीको दायरामा ल्याउने बताएका थिए ।

आयोगले आफ्ना सबै मातहत निकायलाई परिपत्र गर्दै स्थानीय तहका जनप्रतिनिधिको काम कारबाही बारे विशेष निगरानी राख्न निर्देशन दिइएको आयोग स्रोतले जानकारी दिएको छ । प्रमुख आयुक्त बस्न्यातले बुटबलमा यस्तो संकेत गरेको बिषयलाई आयोग स्रोतले लिखित परिपत्र नै गरिएको पुष्टी गरेको हो ।

‘हामीले केही सयम अगाडि परिपत्र नै गरिसकेका थियौं, प्रमुख आयुक्तज्यूले बुटबलमा सांकेतिक रुपमा त्यही कुरा बोल्नु भएको हो, कर्मचारीले चलाउदा स्थानीय तहमा भ्रष्टाचार भयो भनिए पनि जनप्रतिनिधि आएपछि अझ बढेको उजुरी र गुनासा प्राप्त भएकोले यस्तो परिपत्र जारी गरिएको हो,’ आयोग स्रोतले भन्यो ।


क्लिकमान्डु