सिमेन्टमा एमजिओ मात्रालाई लिएर विभाग र उद्योगीबीच बिवाद, यस्तो छ अन्तर्राष्ट्रिय मापदण्ड



 

काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल विभागले ओपिसी सिमेन्ट उत्पादनमा ५ प्रतिशतभन्दा बढी म्याग्नेसीयम राखेको भन्दै केही दिन अगाडी एउटा सिमेन्ट उद्योगलाई कारबाही गरेको थियो ।

नेपालमा उत्पादन भएको सिमेन्टमा कुनै ग्रेडिङ छुट्याउने गरिएको छैन । ग्रेडिङ सिस्टम सुरुगर्ने बिषयमा सिमेन्ट उद्योग र विभागका बीच केही दिनयता वार्ता चलिरहेको छ ।

गे्रडिङको बिषयलाई लिएर सुरुभएको वार्तामा ओपीसी सिमेन्टको मापदण्ड परिमार्जन गर्नुपर्ने माग सरोकारवाला निकायले जोडदार रुपमा उठाएका छन् । त्यसमा पनि म्याग्नेसियमको मात्राको बिषय अहिले निकै चर्चामा रहेको छ ।

संसारले ६ प्रतिशतलाई मान्यता दिएर अगाडी बढेको म्याग्नेसियमको मात्रा नेपालमा भने ५ प्रतिशत हुनुलाई उद्योगीहरु गुणस्तर बिभागले अनुचित सौदाको लागि ‘लुपहोल’ बनाएर राखेको आरोप लगाउन थालेका छन् ।

कस्तो छ अन्तर्राष्ट्रिय मापदण्ड ?
विश्वमा चीनले ५० प्रतिशतभन्दा बढी सिमेन्ट उत्पादन गर्ने गर्छ । यस्तै भारतले विश्वको २५ प्रतिशत र बाँकी २५ प्रतिशत यूरोप, अमेरिकालगायत देशले उत्पादन गर्ने गरेका छन् ।

म्याग्नेसियम (एमजीओ)को सन्दर्भमा चिनियाँ मापदण्ड ‘जीबी’ १७५ (२००७), भारतीय मापदण्ड ‘आईएस’ २६९ (२०१५) र अमेरिकाको मापदण्ड ‘एएसटिएम सि’ १५० मा यसको मापदण्ड ६ प्रतिशतसम्म भएमा त्यो गुणस्तरीय मानिने तोकिएको छ ।

सार्क मुलुकमध्ये पाकिस्तान र भारतमा ६ प्रतिशत र श्रीलंका, बंगलादेश तथा यूरोपीयन राष्ट्रमा एमजीओको कुनै सिमा तोकिएको छैन ।

यस्तै चीनमा एक्सपेन्सन टेस्टमा पास भए ६ प्रतिशत एमजीओ हुन सक्ने व्यस्था रहेको छ । यूरोप र इण्डोनेसिया लगायतका मुलुकमा यसको मापदण्ड अटोक्लभ तथा ले च्याटेलीयर एक्सपेन्सन टेस्ट भन्ने प्रविधिबाट गरिने व्यवस्था रहेको छ । एक्सपेन्सन टेस्टको व्यवस्था नेपालमासमेत रहेको छ । यसबाट एमजीओको कारण हुने एक्सपेन्सनको परिक्षण सोझै हुने भएकोले एमजीओको मापदण्ड राख्नु-नराख्नुको कुनै मतलव नहुने बिज्ञहरुको भनाई रहेको छ ।

व्यवसायीको माग
नेपालमा बनेको गुणस्तर मापदण्ड अहिलेसम्म भारतको गुणस्तरको आधारमा बनेकोले अब संशोधन गर्ने परिपेक्ष्यमा नेपाल गुणस्तर ४९ मा गर्न लागिएको संशोधन भारतको ‘आई एस’ २६९ः (२०१५) अनुसार हुनु पर्ने माग व्यवसायीहरुले गरेका छन् ।

लाइमस्टोनमै हुन्छ एमजीओ
नेपालको पाल्पा, गुल्मी, स्याङजा, अर्घाखाँची र दाङलगायतका जिल्लाहरुमा रहेका लाइमस्टोनमा प्राकृतिक रुपमा नै ४ प्रतिशत म्याग्नेसीयम पाइने गरेको छ । त्यस क्षेत्रको मात्रै लाइमस्टोनले क्लिङकर बनाउँदा करिब ६ प्रतिशत पुग्ने अबस्था रहेको छ । जुन अहिलेको गुणस्तर मापदण्ड अनुसार पर्दैन ।

१ टन क्लिङकर निर्माण गर्न १.५ टन लाइमस्टोन आवस्यक पर्छ । यसरी हेर्दा एक टन क्लिङकरमा ६ प्रतिशतको हाराहारीमा पुग्छ । म्याग्नेसीयमलाई जलाएर वा पगालेर हटाउन सकिदैन । यो प्राकृतिक रुपमै आउने गर्छ । यसलाई घटाउने उपाए नै कम म्याग्नेसीयम भएको क्लिङकर किनेर मिसाउने हो । जुन नेपालको पूर्विभागमा पाइन्छ ।

यसले उद्योगको लागत खर्च निकै बढाउँछ । अहिलेको प्रतिस्पर्धी बजारमा त्यस्तो उद्योगले प्रतिस्पर्धानै गर्न सक्दैन ।


क्लिकमान्डु