चुडामणी शर्मा विरुद्ध विशेष अदालतमा मुद्दा दायर, चार करोड २९ लाखको बिगो दाबी



काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चार करोड २९ लाख ५४ हजार १२४ रुपैयाँ बराबरको सम्पत्तिको स्रोत नखुलेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक चुडामणी शर्माको सम्पत्तिको छानबिन गर्दा अस्वभाविक देखिएको भन्दै आयोगले आज बिगो असुल उपर गरी कारबाहीको माग गर्दै मुद्दा दायर गरेको हो ।

सार्वजनिक सेवामा प्रवेश गरेपश्चात् विसं २०७३ मंसिर मसान्तसम्म तीन करोड ६३ लाख ७२ हजार ९६१ रुपैयाँ आर्जन गरेको देखिएको छ ।

आयोगका अनुसार सोही अवधिमा चल अचल सम्पत्ति एवं शेयर लगानीलगायतमा अध्ययन गर्दा सात करोड ९३ लाख २७ हजार ८५ रुपैयाँ खर्च गरेको देखिन आएको छ ।

आयोगका प्रवक्ता पदमप्रसाद पाण्डेयका अनुसार विगोबमोजिम जरिवाना र कैद सजायको मागका साथै शर्माले स्रोत पुष्टि गर्न नसकेको रकम जफथ गर्ने मागदाबीसहित मुद्दा दायर गरिएको हो ।


क्लिकमान्डु