इन्टरनेट सुविधा नहुँदा बैंकिङ कारोबार गर्न समस्या



बैतडी ।

बैतडीको पुर्चौंडी नगरपालिका हाटमा बैंकिङ सेवा दिने उद्देश्यका साथ गत महिनादेखि सञ्चालनमा आएको ग्लोबल आइएमई बैंकको शाखामा इन्टरनेटको सुविधा नहुँदा सेवाग्राहीले प्रभावकारी सेवा पाउन सकेका छैनन् ।

इन्टरनेटको असुविधाका कारण बंैकिङ सेवा प्रदान गर्न अप्ठ्यारो भइरहेको शाखा प्रबन्धक शिवराज बिष्टले बताउनुभयो । ‘नेपाल टेलिकमको भिसेटमार्फत इन्टरनेट जडान गरेको भए पनि इन्टरनेटले काम नगर्दा समस्या भएको हो,’ उनले भने ।

पुस १८ गते स्थापना भएको शाखाले कारोबार सञ्चालन गरेको भए पनि सेवा निकै ढिलो भएको सेवाग्राहीले गुनासो गरेका छन् । खाता सञ्चालन गर्नमै एक हप्ताभन्दा बढी लागेको पुर्चौंडी–४ का सुरेन्द्र धानुकले बताए । उनले भने, ’इन्टरनेटको असुविधाका कारण समयमै सेवा पाउन सकेका छैनौँ ।’ घर नजिकै बैंक आएकाले खुशी भएका नागरिक बैंकिंग सेवा प्रभावकारी नहुँदा निराश हुन थालेका छन् ।

नेपाल टेलिकमको दहतालमा रहेको टावरले घाम लागेको बेला मात्रै काम गर्ने गरेको छ । नेपाल टेलिकम बैतडीका प्रशासन सहायक तीर्थ चौधरीले उक्त समस्या समाधानका लागि पहल गर्ने बताए । पुर्चौंडी क्षेत्रका साबिकका करिब एक दर्जन गाविसका नागरिकले उक्त बैंकबाट सेवा लिँदै आएका छन् ।
रासस


क्लिकमान्डु