आजबाट नारायणगढ–मुग्लिन सडकमा बिहान १० बजेदखि ४ बजेसम्म यातायात चल्दैन
चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा रातमा सवारी रोकेर गरिएको काम प्रभावकारी हुन नसकेपछि आजदेखि अपराह्न सवारी ।साधन रोकेर काम सुरु भएको छ ।
रातिभन्दा दिउँसोमा कामको प्रगति हुनसक्ने जनाउँदै स्थानीय प्रशासन, नारायणगढ–मुग्लिन सडक आयोजना, परामर्शदाता र ठेकेदार कम्पनीले यस्तो निर्णय गरेका हुन् ।
बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म एक महिना सवारी साधन रोकेर काम गरिने प्रजिअ नारायणप्रसाद भट्टले जानकारी दिए ।
यसअघि सडक विस्तारको कामलाई तीव्रता दिन राति १० बजेदेखि बिहान ४ बजेसम्म गाडी रोकेर काम गरिँदै आएको थियो ।
गत वर्ष बिहान १० बजेदेखि ४ बजेसम्म गाडी रोकेर काम गरिएको थियो । त्यतिबेलाको काम प्रभावकारी भएकाले स्थानीय प्रशासनसँग दिउँसो नै सडक रोकेर काम गर्न माग गरिँदै आएको थियो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले अपराह्न सवारी साधन रोक्ने ठाउँ तय गरेको छ । कार्यालयका प्रमुख सन्तोष पन्तका अनुसार नारायणगढबाट मुग्लिनतर्फ जाने ट्रकलाई भतेरी र रामनगरमा तथा बस र साना सवारी साधनलाई जुगेडी र दासढुंगामा रोकिने छ ।
काठमाडौँबाट नारायणगढतर्फ आउने बस र साना सवारीलाई मुग्लिनमा र ट्रकलाई लेबाटारमा रोकिने छ ।
पोखरातर्फबाट आउने बस र साना सवारी साधनलाई बेनीटार र ट्रकलाई आँबुखैरनीमा रोकिने उनले बताए ।