पेमेन्ट गेटवे कम्पनी इसेवा नवौँ वर्षमा प्रवेश



काठमाडौं। नेपालको पहिलो पेमेन्ट गेटवे कम्पनी ‘इसेवा फोन पे प्रा.लि.’ नवौँ वर्षमा प्रवेश गरेको छ । २००९ को अन्त्यमा बेटा भर्जन सार्वजनिक गरी २०१० जनवरी २५ बाट बिधिवत रूपमा सेवासुरु गरेको इसेवा नवौँ वर्षमा प्रवेश गरेको हो ।

नौ वर्षको अवधिमा इसेवाबाट प्रत्यक्ष, अप्रत्यक्ष रुपमा ६० लाख बढिले सेवा लिइरहेका छन् । हाल इसेवाका देशभर ३० हजार भन्दा बढि एजेन्ट (इसेवा जोन तथा पोइन्ट) रहेका कम्पनीले जानकारी दिएको छ ।

इसेवाको मोबाईल एप्स् प्रयोग गर्नेको संख्या ४ लाख ३० हजार नाघेको छ भने इसेवा खाता खोलेर कारोबार गर्नेको संख्या ७ लाख भन्दा बढि रहेको छ । यस्तै देशैभर रहेका जोन, पोइन्ट तथा मोबाईल बैंकिङ मार्फत ६० लाख बढिले इसेवाका सेवा लिइरहेका छन् ।

इसेवाबाट मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका दुई सय भन्दा बढि सेवाहरूमा शुल्क भुक्तानी गर्न सकिन्छ । इसेवामा हाल ४४ वटा बैंक सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिने कम्पनीको भनाई छ ।

‘विश्वमा क्यासलेस ट्रान्जेक्सन बढिरहेका बेला नेपालमा पनि हामीले सेवा प्रदान गरिरहेका छौँ । मोबाईल वित्तिय सेवालाई नेपालका दुर्गम क्षेत्रसम्म पुर्याउने कार्यमा हाम्रो कम्पनी पायोनियर बन्न सकेकोमा हामी गौरवान्वित बनेका छौँ,’ कम्पनीका प्रेसिडेन्ट अस्गर अलीले भने ।


क्लिकमान्डु