एसइई परीक्षाका लागि सामग्री जिल्ला पठाउन शुरु
भक्तपुर । आउदो चैत ८ गतेबाट शुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) का लागि आवश्यक उत्तरपुस्तिका जिल्ला जिल्लामा पठाउन शुरु गरेको छ ।
परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले परीक्षाका लागि आवश्यकपर्ने उत्तरपुस्तिका एवं अन्य सामग्री जिल्ला जिल्लामा पठाउन थालिएको परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले जानकारी दिए ।
परीक्षाको तयारी तीव्र पारिएको बताउँदै उनले प्रश्न पत्र छपाइको तयारी भइरहेको र केन्द्र निर्धारण गर्ने कार्य अन्तिमचरणमा पुगेको जानकारी दिए।
‘केन्द्रले यसवर्ष करिब दुई हजार परीक्षा केन्द्र निर्धारण गर्ने तयारी गरेको बताउँदै परीक्षा नियन्त्रक रेग्मीले यसवर्ष परीक्षामा करिब ६ लाख विद्यार्थी सहभागी हुने अनुमानका साथ तयारी गरिएको छ,’ उनले भने ।
माध्यमिक शिक्षा परीक्षा अर्थात एसइई परीक्षाका लागि परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले नमूना प्रश्नपत्र सार्वजनिक गरेको छ । परीक्षार्थीलाई परीक्षाको अभ्यास गर्न सजिलो होस् भनेर विषयगत नमूना प्रश्नपत्र बनाएर कार्यालयको वेभसाइटमा राखिएको परीक्षा नियन्त्रक रेग्मीले जानकारी दिए ।
‘विद्यार्थीले कार्यालयको वेभसाइडमा गएर प्रश्नपत्रको नमूना हेर्न सकिन्छ,’ उनले भने, ‘कार्यालयले सबै विषयको नमूना प्रश्नपत्र बनाएको छ ।’
एसइई परीक्षा साधारणधारको १७ चैतमा र प्राविधिक धारको २० चैतमा सम्पन्न हुने कार्यतालिकका छ ।