शनिबारबाट दिउँसो मुग्लिन-नाराणगढ सडक बन्द हुने



चितवन । रातको समयमा सवारी रोकेर काम गरिएको भए पनि नारायणगढ–मुग्लिन सडकखण्डको कामको प्रगति हुन नसकेपछि भोलि शनिबारदेखि दिउँसो सवारी रोकेर काम गरिने भएको छ ।

रातको समयमा भन्दा दिउँसोमा कामको प्रगति हुनसक्ने भन्दै स्थानीय प्रशासन, नारायणगढ–मुग्लिन सडक आयोजना, परामर्शदाता र ठेकेदार कम्पनीले यस्तो निर्णय गरेका हुन् । बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म एक महिना सवारी रोकेर काम गरिने प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले बताए ।

गत पुस १८ गतेदेखि सडक विस्तारको कामलाई तीव्रता दिन राति १० बजेदेखि बिहान ४ बजेसम्म यातायात रोकेर काम गरिँदै आएको थियो । आज राति भने सडक नरोकिने आयोजनाका इञ्जिनियर शिव खनालले जानकारी दिए।

गत वर्ष दिउँसो १० बजेदेखि ४ बजेसम्म सवारी रोकेर काम गरिएको थियो । त्यतिबेलाको काम प्रभावकारी भएको भन्दै ठेकेदार कम्पनी, नारायणगढ–मुग्लिन सडक आयोजना र परामर्शदाता कम्पनीले स्थानीय प्रशासनलाई दिउँसो नै सडक रोकेर काम गर्न माग गर्दै आएका थिए । यसअघि परीक्षणको रुपमा रातिमा सवारी रोकेर काम गर्न स्थानीय प्रशासनले दबाब दिएको थियो ।

रातिको समयमा सवारी रोकिँदा त्यसको असर दिउँसो पर्ने हुँदा उक्त सडक खण्ड पार गर्न घण्टौँ लाग्ने गरेको छ जसका कारण दिनको काम पनि प्रभावित भएको छ ।

आयोजनाका प्रमुख चन्द्रनारायण यादवले राति सवारी रोक्दा राति र दिउँसो दुवै समयमा काम हुन नसकेको बताए । उनले भने , ‘रातमा सवारी रोक्दा दिउँसोको पनि काम प्रभावित भयो जसले गर्दा प्रगतिमा चार गुणा कमी आयो ।’ त्यसैले शनिबारबाट गत वर्षझैँ दिउँसो सवारी रोकेर काम गर्ने बताए ।

सो सडकको घुमाउने, १६ किलो र चेपाङ डाँडामा भित्तो काट्ने काम बाँकी रहेको छ । घुमाउनेमा २०० मिटर, चेपाङ डाँडा र १६ किलोमा ३०० मिटर भित्तो काट्ने काम बाँकी रहेको छ ।

हालसम्म उक्त सडकखण्डको ७२ प्रतिशत काम सम्पन्न र १४ दशमलव ७ किलोमिटर सडक कालोपत्रे भएको आयोजनाले जनाएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले दिउँसो सवारी रोक्ने ठाउँ तय गरेको छ ।

कार्यालयका प्रमुख सन्तोष पन्तका अनुसार नारायणगढबाट मुग्लिनतर्फ जाने ट्रकलाई भतेरी र रामनगरमा रोकिनेछ भने बस र साना सवारीलाई जुगेडी र दाशढुंगामा रोकिने छ ।

काठमाडौँबाट नारायणगढतर्फ आउने बस र साना सवारीलाई मुग्लिनमा र ट्रकलाई लेवाटारमा रोकिने छ । पोखरातर्फबाट आउने बस र साना सवारीलाई बेनिटार र ट्रकलाई आँबुखैरनीमा रोकिने उनले बताए । रासस


क्लिकमान्डु