दुई अर्ब ४१ करोड बढी राजस्व संकलन



चितवन । आन्तरिक राजस्व कर्यालय भरतपुरले चालू आर्थिक वर्ष २०७४/७५ को छ महिनामा गत वर्षको सोही अवधिमा भन्दा दुई अर्ब ४१ करोड ७९ लाख रुपैयाँ चार हजार बढी राजस्व संकलन गरेको छ ।

कार्यालयका प्रमुख थानप्रसाद पंज्ञेनीका अनुसार पुस मसान्तसम्ममा नौ अर्ब ३२ करोड ७४ लाख ५३ हजार रुपैयाँ राजस्व संकलन भएको छ । यस अवधिमा आठ अर्ब ४५ करोड १२ लाख रुपैयाँ एक हजार लक्ष्य राखिएको थियो ।

‘लक्ष्यभन्दा ११०.३७ प्रतिशत बढी राजस्व संकलन भएको छ,’ उनले भने । कार्यालयले गत आवको पुस मसान्तसम्ममा छ अर्ब ९० करोड ९५ लाख ४९ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो ।

विगत छ महिनामा सबैभन्दा बढी अन्तःशुल्कबाट सात अर्ब ८८ करोड ३४ लाख नौ हजार रुपैयाँ राजस्व संकलन भएको छ । कार्यालयले चितवन र नवलपुर जिल्ला हेर्दै आएको छ । सो क्षेत्रमा मदिराजन्य उद्योग बढी भएकाले सबैभन्दा बढी राजस्व अन्तःशुल्कबाट उठ्ने गरेको पंज्ञेनीले बताए ।

बजार क्षेत्रमा कर प्रशासनको उपस्थिति, करदातामा कर तिर्नुपर्छ भन्ने भावनाको विकासलगायतका कारण पछिल्लो समय कर संकलन लक्ष्यभन्दा बढी  हुँदै गएको उनले बताए। हाल कार्यालयको मातहतमा ७२ हजार करदाता रहेका छन् ।

चालू आवमा कार्यालयले १९ अर्ब ७४ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको छ ।


क्लिकमान्डु