सवारी प्रतिबन्धले घटेन असनको व्यापार




काठमाडौ । काठमाडौका भित्री शहरमा सरकारले चार पाङ्ग्रे सवारी साधनलाई रोक लगाउनुलाई व्यापारीहरुले सहज रुपमा लिएका छन् । व्यापारीहरुले सामान ढुवानी गर्न केहि असज भएपनि ब्यापारमा नकारात्मक प्रभाव नपरेको प्रक्रिया दिएका छन् ।

सरकारले गत माघ २ गतेदेखि काठमाडौंका भित्री शहरी क्षेत्रमा चारपाङ्ग्रे सवारी साधनमाथि बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म प्रवेश निषेध गर्दै आएको छ । काठमाडौं महानगरपालिकाको १७, १८, १९, २२, २४, २५ र २७ नम्बर वडा क्षेत्रका भित्री शहरी सडकमा चारपाङ्ग्रे सवारी निषेध गरिएको हो ।

भोटाहिटीबाट असन चोकसम्म चारपाङग्रे सवारी साधनलाई एकतर्फी निषेधित क्षेत्र बनाएको छ । यस्तै, नरदेविबाट भेडासिङ्ग हुँदै इन्द्रचोकसम्म तथा टेंङ्गलबाट बांङ्गेमुढा हँदै भेडासिङ्ग, इन्द्रचोकसम्म र क्षेत्रपाटीबाट ठहिटीहँदै नघःल बांङ्गेमुढा भेडासिङ्गहँदै इन्द्रचोकसम्म एकतर्फि जान पाउने व्यवस्था मिलाइएको छ ।

साथै, इन्द्रचोकबाट असन, इन्द्रचोकबाट भेडासिंङ्ग, ज्याठाबाट त्यौड, ठहिटीबाट असन, कमलाक्षीबाट असन, महाबौद्धबाट असन, इन्द्रचोकबाट वंटुसम्म चारपाङग्रे सवारी साधनलाई पूर्ण रुपमा निषेध गरिएको छ ।

असनमा आरति टेलर्स संचालन गर्दै आएका प्रकाश थापा सवारी निषेध भएदेखि दिउँसोको समयमा सामान ढुवानीमा समस्या हुने गरेको बताउँछन् ।
‘पहिला बालकुमारी मन्दिरसम्म गाडीबाट समान ल्याउन पाइन्थ्यो, अहिले भने भरिया नै प्रयोग गर्नु पर्छ,’ थापाले भने ।

ढुवानीमा केहि असहज महसुस भएपनि व्यापारमा कुनै नकारात्मक प्रभाव नपरेको उनको भनाई छ ।

यस्तै इन्द्र चोकमा मंगल मंडला ह्याण्डी क्राफ्ट संचालन गर्दै आएकी अनु प्रधान चारपाङ्ग्रे सवारी साधनका साथै मोटरसाइकल पनि निषेध गर्नु पर्ने बताउँछन् ।
सवारी आवतजावतमा रोक लगाउँदा ग्राहकहरु निस्फिक्री रुपमा पसल घुम्ने वातावरण सिर्जना भएको छ । जसले गर्दा व्यापार केहि वृद्धि हुने आश गर्न सकिने उनी बताउँछिन् । तर मोटरसाइकललाई निषेध नगरिएकोमा भने उनको चित्त बुझेको छैन ।

‘चारपाङग्रे सवारी नचल्दा मोटरसाइकल चालकहरु छाडा भएका छन्, मोटरसाइलक तीब्र गतिमा चलाउँदा ग्राहकहरुमा असुरक्षा बढेको छ,’ उनले भनिन् ।
असनमा शंख पसल संचालन गर्दै आएका उमेश जैशवाल ढिलै भएपनि सरकारले राम्रो कामको थालनी गरेको बताउँछन् ।

अन्नपुर्ण धुप स्टोर संचालन गर्दै आएका श्याम प्रजापती सवारी साधन निषेधको सकारात्मक र नकारात्मक दुवै पक्ष भएको बताउँछन् ।

‘हामीलाई सामान ढुवानी गर्न समस्या समस्या छ, ग्राहकहरुले शान्तिपूर्ण वातावरणमा सामान खरिद गर्न सक्ने भएका छन्,’ प्रजापतिले भने ।
यस्तै सरकारले गत कात्तिक ५ गतेदेखि ठमेल क्षेत्रमा अत्यावश्यक सवारी साधन बाहेक अन्यमाथि प्रवेश निषेध गरेको छ ।

ठमेलमा थान्कालगायतका सामाग्री राखेर आनन्द स्टोर संचालन गर्दै आएका आनन्द कुमारले पार्किङको सुविधा नहुँदा भने झन्झट व्यहोर्नु परेको बताउँछन् ।
कुमारले आपतकालिन अवस्थामा खाली ट्याक्सी नपाउनुलाई सवारी निषेधको नकारात्मक पक्ष भएको बताउँछन ।

‘ठमेल पर्यटकीय क्षेत्र हो । सवारी निषेध भएदेखि पर्यटकले स्वतन्त्र रुपमा घुमेर सामान खरिद गर्ने वातावरण निर्माण भएको छ, जसले गर्दा अहिले व्यापारमा सकारात्मक प्रभाव परेको छ,’ उनले भने ।

आफूसँग सवारी साधन नभएका एवम् व्यापारमा समेत सवारीको न्युन प्रयोग गर्ने व्यापारीले भने सवारी रोक्दा व्यापार वृद्धि हुन सक्ने बताएका छन् । साथै, उनीहरुले सडकमा सवारी नगुड्दा वातावरण प्रदुषण पनि कम हुने तर्क दिएका छन् ।


क्लिकमान्डु