पाँच महिनामा आठ यातायात संस्था मात्रै कम्पनीमा



काठमाडौँ । व्यवस्थापिका–संसद्ले कम्पनीमा दर्ता गरेर सार्वजनिक यातायात सञ्चालन गर्न निर्देशन दिएको पाँच महिनामा आठ कम्पनी मात्र दर्ता भएका छन् ।

कम्पनी दर्ता हुनुअघि यातायात व्यवस्था विभागमा पञ्जीकरण हुनुपर्ने प्रावधान सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ मा गरिएको छ ।

सो व्यवस्थानुसार गत भदौ ५ गतेपछि ती कम्पनी  दर्ता भएको विभागका महानिर्देशक रुपनारायण भट्टराईले जानकारी दिए ।

ह्याप्पी नेपाल प्रालि, रेसुंगा यातायात प्रालि, बूढानीलकण्ठ यातायात प्रालि, प्रदेश यातायात सेवा प्रालि, शुभ साप्ताहिक यातायात प्रालि, मयूर यातायात प्रालि, शारदा यातायात प्रालि र जयमालिका यातायात प्रालि विभागमा पञ्जीकरण भई कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएको छ ।

भदौ ५ गते तत्कालीन व्यवस्थापिका–संसद्, विकास समितिले यातायात समितिहरुलाई संघसंस्था ऐन, २०३४ अनुसार नवीकरण नगर्न गृह मन्त्रालयलाई निर्देशन दिएको थियो ।

भदौ ५ गतेअघि १०० कम्पनी विभागमा पञ्जीकरण भएको प्रवक्ता वीरबहादुर स्वाँरले जानकारी दिए ।

हाल नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र नेपाल यातायात व्यवसायी राष्ट्रिय सर्वोच्च महासङ्घसँग आबद्ध यातायात संस्था जिल्ला प्रशासन कार्यालयमा सामाजिक संस्थाका रुपमा दर्ता भई काम गरिरहेका छन् । कम्पनीमा दर्ता भएपछि राजश्व पनि बढ्ने समितिको ठहर थियो ।


क्लिकमान्डु