शालिनदी मेलाको मौका छोपेर साँखुका गाडीहरुले मनपरी भाडा असुले



फाइल

काठमाडौँ । साँखु शालीनदी मेला भर्न जाने यात्रुबाट साँखु बस व्यवसायी संघअन्तर्गत चल्ने बसका सहचालकले यातायात व्यवस्था विभागले तोकेभन्दा बढी भाडा लिने गरेका छन् ।

पुस शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म माधवनारायणको मेला लाग्ने शालीनदीमा लाखौँ भक्तजन पुग्ने गर्छन् । मेला भर्न गएका ज्येष्ठ नागरिक, अपाङ्ग र विद्यार्थीलाई यहाँ चल्ने सवारी साधनमा यात्रा गर्दा सहुलियत नदिएको तीर्थयात्री सम्झना श्रेष्ठले बतार्इन् ।

चाबहिलदेखि शालीनदीसम्मको भाडा प्रतिव्यक्ति २७ रुपैयाँ तोकिएको छ । तर  सहचालकले यात्रुबाट ३५ रुपैयाँ उठाउने गरेका छन् । शालीनदीबाट रत्नपार्कसम्मको भाडा ३५ रुपैयाँ रहेकामा ४५ रुपैयाँभन्दा बढी लिने गरेको यात्रु रमिला कायस्थले बतार्इन्।

यातायात क्षेत्रको विकृतिविरुद्ध अभियानमा लागेका भक्तपुरका रामबहादुर थापा विभागले अनुगमन नगरेकै कारण सवारी साधनका सहचालकले काठमाडौँमै मनलागी भाडा असुल्ने बताउँछन् ।

‘सम्बन्धित निकायले जानकारी दिने ‘होर्डिङ बोर्ड’ समेत राखेका छैनन्, यातायात व्यवसायीले सवारी तथा यातायात व्यवस्था ऐन र नियमावलीमा भएको प्रावधानअनुसार दूरी एवं आवतजावत गर्ने स्थल उल्लेख भएको टिकट दिँदैनन्, त्यसैले सहचालकले बढीभन्दा बढी भाडा असुल्ने गरेका छन्,’ उनले भने ।

रत्नपार्क, चाबहिल, साँखु, सातदोबाटोमा कार्यसमितिका एक÷एकजना प्रतिनिधि खटाएर बढी भाडा असुल्नेलाई कारबाही गर्दैआएको संघले जनाएको छ ।

संघका अध्यक्ष गोविन्दबहादुर श्रेष्ठ चाबहिलदेखि शालीनदीसम्मको भाडा १०० रुपैयाँदेखि १५० रुपैयाँसम्म लिने दुईवटा सवारी साधनका चालकलाई कारबाही गर्न ट्राफिक प्रहरीलाई बुझाएको बताउँछन्।

शालीनदीमा एक महिना मेला लाग्ने भए पनि शनिबार र सार्वजनिक बिदाका दिन बढी भीड हुने गर्छ । पुस शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म शालीनदीमा स्नान गरी माधवनारायणको दर्शन गरेमा पाप पखालिई पुण्य कमाइने जनविश्वास छ ।


क्लिकमान्डु