भिसा कार्डमार्फत भुक्तानी गर्दा १० प्रतिशतसम्म क्यास व्याक पाईने



काठमाडौं । भिसा कार्डले आफ्ना ग्राहकहरुको लागि क्यास ब्याक अफर सार्वजनिक गरेको छ । कार्ड लोयल्टी प्रोग्रामको रुपमा नेपाल इन्भेष्टमेण्ट बैंक तथा यस बैंकका भिसा कार्ड संजालसँग आवद्ध रहेका बैंकहरुले संयुक्त रुपमा अन्तर्राष्ट्रिय कार्ड प्रदायक कम्पनी भिसासँग सहकार्य गरी आफ्नो भिसा कार्डका ग्राहकहरुले हरेक सामान/सुविधा खरिद गर्दा भिसा डेविट वा क्रेडिट कार्डमार्फत भुक्तानी गर्दा आफ्नो खातामा क्यास (नगद) फिर्ता हुने योजना ल्याएका हुन् ।

सो संजालमा आबद्ध बैंकहरुले आइतवार पत्रकार सम्मेलन गर्दै भिसा कार्डमार्फत भुक्तानी गर्दा १० प्रतिशतसम्मको क्यास ब्याक प्राप्त गर्न सकिने जानकारी दिएका छन् ।

कुनै पनि बस्तु तथा सेवाको उपभोग वा खरिदको बदलामा नगदको सट्टामा कार्ड मार्फत भुक्तानी गर्न प्रोत्साहित गर्ने उद्धेश्यले बैंकहरुको पहलमा नेपालमा यस प्रकारको योजना थालिएको जानकारी दिईयो ।

कार्डबाहक जसले बस्तु तथा सेवा खरिदमा भिसा डेबिट वा क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दछन् उनीहरुले आफ्नो खातामा सिधै नगद फिर्ता प्राप्त गर्ने छन् । यस योजनामा सहभागी हुन न्यूनतम ५ सय रुपैयाँको कारोवार ग्राहकहरुले गर्नु पर्ने छ ।

क्यास ब्याक अफरअनुसार १देखि ३ पटकसम्मको कारोबारमा २ प्रतिशत वा अधितम १ सय रुपैयाँ नगद फिर्ता हुने छ भने ४ देखि १५ पटकसम्मको कारोबारमा अधिकतम ५ प्रतिशत वा २ सय रुपैयाँ नगल फिर्ता हुनेछ ।

त्यस्तै १६ देखि ३० पटकसम्मको कारोबारमा ७ प्रतिशत वा अधिकतम ५ सय रुपैयाँ तथा ३१ देखि ५० प्रतिशतसम्मको कारोबारमा १० प्रतिशत वा १ हजार रुपैयाँसम्म नगद फिर्ता हुने बताईयो ।

सो योजना सेन्चुरी बंैक, ग्लोबल आइएमई बैंक, कुमारी बैंक, महालक्ष्मी विकास बैंक, मेगा बैंक नेपाल, मुक्तिनाथ विकास बैंक, एनसिसि बैंक, नेपाल इन्भेष्टमेण्ट बैंक, राष्ट्रिय वाणिज्य बैंक, सानिमा बैंक र टुरिजम डेभलपमेन्ट बैंकका भिसा कार्ड प्रयोगकर्ताहरुका लागि ल्याईएको हो ।

नेपालमा भिसा कार्ड प्रयोग गर्ने ग्राहकहरु करिब १६ लाख रहेका छन भने करिब ४५०० पोइन्ट अफ सेल्स मेसिनहरु प्रयोगमा रहेका छन् ।


क्लिकमान्डु